साहित्य

कथा : डेरिडाको अँगालो

अमेरिका जाने मौका जोकोहिलाई कहाँ मिल्छ र ! प्रमाणित कागजपत्रका चाङ लगाएर दूतावासमा दसऔंले नमस्कारका साथ इन्टरभ्यु दिँदा पनि अविश्वास गरेर भिसा रिजेक्ट गर्दिन्छ । बिचरा हामी नेपालीले नगद नाश गरेर घुम्न जान’नि नपाउनु ?

म र मेरो साथी माधवलाई भने अमेरिकी दूतावासले पहिलो पटकमै खिर पस्किए जसरी सरप्राइज चिठ्ठिमा भिसा पस्किदियो ।

विज्ञापन

हामी अमेरिका जान पर्नाको मुख्य कारण थियो– ज्याक्स डेरिडा । युनिभर्सिटी अफ क्यालिफोर्नियाको आयोजनामा हुन लागेको यी दार्शनिकको लेक्चर प्रोग्राम सुन्न हामीलाई अमेरिका नगई भएको थिएन ।

संसारलाई चकित पार्ने खालका विचार दिने व्यक्तिमध्ये एक डेरिडा हुन् । फर्डिनान्ड डि ससुरले व्याख्या गरेका संरचनावादका सर्वमान्य सिद्धान्तलाई विनिर्माण गर्ने हिम्मत डेरिडामा कहाँबाट आयो होला, दैव जानुन् ।

ससुरको सिद्धान्त पढ्नेहरुले यो ‘सिग्निफाइड’ छ या छैन भनेर सोध्नेसम्म हिम्मत गरेनन्, तर डेरिडाले सीधै माहिली औंलो ठडाइदिए । पाश्चात्य जगतका कमी–कमजोरी निडर भएर उदाङ्गो पारिदिने डेरिडा नै भए ।

उनले पश्चिमी जगतलाई व्याख्या गर्दा ‘बाइनरी अपोजिसन’ले छुट्याउन सकिन्छ भनिदिए । गोरा र कालामा किन गोराले नै राज गर्छ भनेर उनैले प्रश्न उठाए ।

उत्तरआधुनिकतावाद निर्माणमा ठूलो योगदान डेरिडाको पनि छ । यस्तै–यस्तै चाखलाग्दा कुराले गर्दा हामी दुई उनको लेक्चर प्रत्यक्ष सुन्न लालायीत थियौं ।

लस एन्जलस विमानस्थलमा ओर्लिदा हामीले अमेरिकाबारे जे सोंचेका थियौं, त्योभन्दा धेरै फरक महसुस गर्यौं । विमानमा समेत हामी ‘खैरेहरुको सागर’ नजिकिन लागेको भन्दै गफिएका थियौं, तर एलएमा त सबै रंगका मान्छेको भिड देख्यौं ।

डेरिडाले अफ ग्रामाटोलोजी मा चिनियाँहरुबारे पश्चिमाले पूर्वाग्रह राख्छन् भनेका थिए । ठ्याक्कै त्यस्तै हामी नेपालीले अमेरिका गोराहरुको मात्र ठाउँ हो भन्ने पूर्वाग्रह राख्यौं कि जस्तो लाग्यो !

माधवले हाँसो गर्यो, ‘धत्, डेरिडाको विद्यार्थी भएर पनि हामी यस्तो सोच्ने ?’

मजाकमा भने पनि त्यो प्रश्न गम्भीर थियो । मान्छे कसरी पूर्वाग्रही बन्छ भन्ने उजागर गर्न त्यो प्रश्न एउटा उदाहरण थियो । यस्तो विचार त्याग्ने सोचसँगै हामीले युनिभर्सिटी अफ क्यालिफोर्निया रहेको अर्भाइन भन्ने ठाउँ जाने बसको टिकट काट्यौं ।

ट्रेन महँगो भएकाले हामीले बस रोजेका थियौं । करिब ८० किलोमिटर यात्राको ५० डलरमा दुईटा सिटको बन्दोबस्त गरियो । केही छिनमा नै बस पनि आइहाल्यो । तर, सिटको विषयमा हामी दुईको विवाद पर्यो ।

प्लेनमा म झ्यालपट्टिको सिटमा बसेको थिएँ, बसमा त्यही चाहन्थेँ । तर, माधव मलाई त्यसमा कब्जा जमाउन नदिने अठोटमा देखियो । अकस्मात् मेरो मगजमा आयो– यो झ्यालको सिट पनि बाइनरी अपोजिसनमा ‘प्रीभिलिज्ड’ र भित्रपट्टिको चाहिँ ‘डोमिनेटेड’ सिट हो ?

अन्त्यमा मैले झ्यालपट्टिको सिट माधवलाई छाडिदिएँ ।

सडकको दाँयावाँया, यता हेरे पनि, उता हेरे पनि घरैघर मात्र थिए । अमेरिका सहर मात्र हो भन्थे, हो जस्तो लाग्यो । सान्टिएगो केनियन र अर्भाइन पार्कको डाँडाकाँडा देखेपछि अमेरिकामा गाउँ पनि रहेछ भन्ने भयो ।

त्यसैबीच माधव ‘बस रोक्न भन्’ भन्न थाल्यो ।

‘किन रोक्नुपर्यो बस ?’

‘पाँच मिनेट जान । ’

‘यो अमेरिका हो बेवकुफ्, यहाँको बसभित्रै ट्वाइलेट हुन्छ ।’

ऊ हतारिदै शौचालय पस्यो, म झ्याल बाहिर नियाल्न थालेँ ।

बसले अर्भाइनमा ओरालेपछि हामी युनिभर्सिटीले बन्दोबस्त गरेको फ्री होस्टेलतर्फ लाग्यौं । लेक्चरको समय बाँकी रहेकाले खानपिन गरेर आराम कक्षमा गयौं । यो सब प्रवन्ध देखेर हामीले लेक्चरका लागि युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको तयारीको प्रशंसा गर्यौं ।

आयोजकले कार्यक्रम सुरु हुन लागेको माइकमा जनाउ दिएपछि हामी हलतिर लाग्यौं । आयोजकले डेरिडालाई डायसमा निम्ताउँदा कुनै सेलिब्रिटी आएजस्तो महसुस भएन, कोहि चिच्याएनन् । सबै ध्यानपूर्वक उनको चालढाल नियाल्दै बसिरहे । सबै उनको लेक्चर सुन्न उत्सुक थिए ।

बढी फ्रेन्च नै बोल्ने उनी यसपालि अंग्रेजीमा बोल्न थाले, अफ ग्रामाटोलोजीबारे । उनी भाषा–शैलीमा कसरी ‘लोगोसेन्ट्रिजम्’ हावी छ, कथ्य र लेख्य शैली किन भाषाका महत्वपूर्ण स्तम्भ हुन् भनेर बताउन थाले ।

पहिले लेख्यभन्दा कथ्यलाई भाषाका प्राथमिक अवयव मानिन्थ्यो र त्यो चिन्तन हटाउन आफूले धेरै पापड बेलेको उनी सुनाउदै थिए ।

उनले फ्रेन्चमा बोलेको भए हामीलाई गाह्रो हुने थियो । हामी अंग्रेजीमा निमग्न भएर उनलाई सुनिरहेका थियौ । उनले एक्कासी एउटा सजिलो प्रश्न गरे—

‘ल भन्नुहोस्, अफ ग्रामाटोलोजीको प्रस्तावनाको दोश्रो भागमा केको व्याख्या छ ?’

उत्तर दिन धेरैले हात उठाए, म र माधवले पनि उठायौं । डेरिडाले मलाई नै औंल्याउँदै भने, ‘ल, तपाई बताउनुहोस् ।’

आहा, क्या मौका ! मैले विनित स्वरमा प्mयाट्ट उत्तर दिए, ‘थ्यांक यु सर । प्रस्तावनाको दोश्रो भागमा रुसो युगदेखि अहिलेसम्मको लेखन शैली–संरचनाको व्याख्या छ ।’

‘एब्सुल्युटली करेक्ट ! तपाई यहाँ स्टेजमा आउनुहोस्, प्लिज ।’

म त चकित ! माधव मभन्दा झन् चकित । उसलाई सिटमै चकित परिरहन छाडेर म फटाफट स्टेजतर्फ लागे । बुढाले हात मिलाएर मलाई स्वागत गरे ।

‘यहाँ बोलाएर मलाई सम्मानित गर्नुुभयो, धेरै–धेरै धन्यवाद सर ।’

नियमअनुसार कार्यक्रम आयोजकले फोटो सेसनको तयारी गरे । डेरिडाले मलाई देब्रेतिर राखेर बडा प्रेमपूर्वक अँगालो मारे ।

जीवनमा पहिलो पटक, त्यो पनि कहिल्यै नसोचेको परिस्थितिमा मेरा आँखा क्यामेराहरुका फ्ल्यासले तिर्मिराए । भव्य हलमा पररर ताली बजिरहेका थिए ।

फोटो सेसन सकियो । डेरिडाले फेरि हात मिलाएर मलाई विदा गरे ।

स्टेजबाट झर्दाझर्दै मलाई माधवको मुख हेर्न मन लाग्यो । त्यता के हेरेको थिएँ, खुट्टाले खुट्किला छाड्न पुग्यो । म असन्तुलित भएर लडिहालेँ । झ्याप्प आँखा खुल्दा थाहा भयो– अमेरिकाको स्टेजबाट होई्न आफ्नै कोठाको खाटबाट खसेको रहेछु ।

आँखा चिम्चिम्याउदैै बिस्तरातिर हेरेँ, अफ ग्रामाटोलोजी सिरानी छेउमा ढलापडा अवस्थामा थियो । अनि, आम्खोराको पानी सिनित्त पारेर सोचेँ– सपना नै भए पनि यस्तो होस् न !

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै