• होमपेज
  • कसरी पाउँछन् कलाकारले उपाधि ?
बलिउड/हलिउड

कसरी पाउँछन् कलाकारले उपाधि ?

अहिले चलचित्र क्षेत्रमा एउटा बहस चलिरहेको छ- ‘के राजेश हमाल महानायक हुन् ?’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेश हमालको महानायक उपाधिमाथि प्रश्न गरेपछि यो बहस सुरु भएको हो । दीपाले राजेश हमाल के आधारमा महानायक भन्ने आशयमा प्रश्न गरेकी थिइन् । यस्तो संकटको समयमा चलचित्र क्षेत्रमा कुनै चासो नदेखाएको भन्दै दीपाले राजेशलाई महानायक भनिहाल्न नमिल्ने आशय बोलेकी थिइन् ।

विज्ञापन

दीपाको यो अभिव्यक्तिपछि चलचित्र क्षेत्र तरंगित बन्यो । फुर्सदिला बनेका चलचित्रकर्मीहरू बहसमा उत्रिए । कोही राजेश नै महानायक हुन् भन्ने पक्षमा देखिए भने कोही त्यसलाई स्वीकार्न तयार छैनन् ।

राजेश हमालको अगाडि झुण्ड्याइने ‘महानायक’ उपाधि कुनै सरकारी निकायबाट दिइएको भने होइन । एक अन्तर्वार्ताका क्रममा पत्रकार प्रकाश सुवेदीले ‘महानायक’ सम्बोधन गरेपछि राजेश महानायकको रूपमा चिनिन थालेका थिए ।

पछि प्राविधिक संघले पनि राजेशलाई महानायकको रूपमा सम्मान गर्‍यो । उक्त सम्मानपछि राजेशलाई दर्शकले नै महानायकको रूपमा चिन्न थाले ।

राजेश हमालले पाएको यो उपाधि अहिले मात्र विवादित भएको होइन । महानायकको विवाद पहिलादेखि नै चल्दै आएको हो । राजेशलाई महानायक स्वीकार्न नसक्ने जमात छँदै थियो । राजेशको विकल्पमा महानायक भुवन केसी हुनुपर्ने तर्क आइरहेको हुन्थ्यो ।

०००

कतिपय चलचित्रकर्मी भने बलिउडमा भोटिङबाट अमिताभ बच्चनलाई महानायक उपाधि दिइएको भन्दै कोही व्यक्तिले दिएको महानायक उपाधि स्वीकार्य नहुने बोलिरहेका छन् ।

बलिउडमा अमिताभ बच्चनलाई महानायकको रूपमा सम्बोधन गरिन्छ । उनी दर्शकको भोटिङबाट नै महानायक बनेका हुन् । एक एजेन्सीले गरेको भोटिङबाट अमिताभ महानायक स्वीकार्य भएका थिए ।

तर, अमिताभको सधैँका लागि महानायक चुनिएका भने होइनन् । उनलाई ‘शताब्दीको महानायक’ भनिएको छ ।

नेपालमा कसरी पाउँछन् कलाकारले उपाधि ?

नेपालमा चलचित्र विकास बोर्डले कलाकारलाई तीन तहको परिचयपत्र वितरण गरेको छ । राजकुमार राई अध्यक्ष भएको समय कलाकारलाई तीन तहको कार्ड वितरण गरिएको थियो ।

२०७३ सालमा दिइएको उक्त परिचयपत्रमा विशिष्ट, वरिष्ठ र साधारण गरी तह छुट्याइएको छ । विशिष्टलाई रातो रङ, वरिष्ठलाई नीलो रङ तथा साधरणलाई हरियो रङको परिचय पत्र दिइएको थियो ।

विशिष्ट श्रेणीको परिचयपत्र पाउन २० वर्ष चलचित्र क्षेत्रमा काम गरेको हुनुपर्ने प्रवधान छ । जसमा २८ जना चलचित्रकर्मीहरूले विशिष्ट कलाकारको परिचयपत्र पाएका थिए ।

विशिष्ट श्रेणीको परिचयपत्र पाउने कलाकारहरूमा हरिप्रसाद रिमाल, यादव खरेल, नीर शाह, भुवन चन्ददेखि करिश्मा मानन्धरसम्म छन् ।

राजेश हमाल पनि विशिष्ट

नेपाल सरकारका तत्कालीन सञ्चारमन्त्री शेरधन राईले वितरण गरेको यस परिचयपत्रमा राजेश हमाल पनि विशिष्ट कलाकारको श्रेणीमा परेका छन् । सरकारी निकाय चलचित्र विकास बोर्डले राजेश हमाललाई विशिष्ट कलाकार मानेर परिचयपत्र दिएको छ ।

सरकारी निकायबाट यी तीनबाहेक कुनै उपाधि वा तह छुट्याइएको छैन । त्यसैले राजेश सरकारी तवरबाट ‘महानायक’ घोषित भएका होइनन् । उनी विशिष्ट कलाकार भने सरकारी निकायबाटै घोषित हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook