• होमपेज
  • पर्यटक तान्दै माझठानाका झरना
फोटो फिचर

पर्यटक तान्दै माझठानाका झरना

पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।

दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

विज्ञापन

झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भनेसँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना छ ।

यसअघि २०७३ सालमा स्थानीय पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो निर्माण गरिएसँगै सो क्षेत्रमा बाँझो र सुक्खा जमिनमा सिँचाइ सुविधा पु¥याइएको थियो । सिँचाइसँगै उत्पादनमा वृद्धि हुनुका साथै यो स्थल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको रोलाखोला निलिरह पर्यटन पूर्वाधार समितिका अध्यक्ष भोजराज भूर्तेलले जानकारी दिनुभयो ।

“पहिले झरनासम्म मानिससमेत पुग्नसमेत अप्ठ्यारो थियो, नयाँ ट्र्याक र सिँचाइ कुलो निर्माणमा रु १५ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो, “बाटो निर्माणसँगै यतिखेर झरनाले पर्यटकीय गन्तव्यको रुप लिएको छ ।” बाटो निर्माणपछि झरनाको आकर्षण बढेको र सिँचाइ कुलोले सयौँ रोपनी बाँझिएका जमिनमा अहिले रोपाइँ भइरहेको स्मरण गर्दै उहाँले त्यसका लागि स्थानीय बाँस्तोला समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

झरनासम्म पुग्नका लागि कच्ची मोटर बाटो निर्माण भएसँगै पर्यटन पूर्वाधार समिति एवं स्थानीय जनप्रतिनिधिसहितको भेलाले ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिलाई क्यानोनिङ सञ्चालन र पूर्वाधार विकास गर्न पाँचवर्षे सम्झौता गरेको थियो ।

पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीका अनुसार यस स्थललाई स्थानीय बासिन्दासँगको सहकार्यमा वडाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । “झरनाको प्रचारप्रसारका साथै आवश्यक भौतिक संरचना निर्माणमा गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय पहल एवं जागरुकता अपरिहार्य छ ।” झरनासम्म पुग्ने बाटो, पानी पर्दा ओत बस्ने ठाउँ, चेन्जिङरुम, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना तयार गरेर आगन्तुक आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पु¥याउन तत्काल पहल गरिने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook