• होमपेज
  • आँखा पाक्ने रोग के हो, लागि हाले के गर्ने ?
कभर स्टोरी

आँखा पाक्ने रोग के हो, लागि हाले के गर्ने ?

वसन्त पौडेल ।

मौसम परिवर्तनसँगै वर्षायाममा प्रायः देखिने आँखा पाक्ने रोग (Conjunctivitis) विगत केही दिनदेखि देशैभर महामारीजस्तै फैलिरहेको छ। कतिपय स्कुलका अधिकांश बालबालिका तथा शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने मानिसहरूमा समेत यो समस्या देखिएको छ। स्कुल, कलेजलगायत धेरै भिडभाड हुने ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सजिलै सर्न सक्छ। धेरैजसो बालबालिकामा महामारीकै अवस्था देखिए पनि यसको मतलब बालबालिकामा मात्र हुन्छ भन्ने होइन। जुनसुकै उमेर समूहका महिला, पुरुष, बालबालिका तथा वृद्धवृद्धामा पनि यो रोग हुन सक्छ।

विज्ञापन

एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा यो समस्या देखिन सक्छ। घरमा पनि एक जनाबाट सुरु भएर क्रमशः अन्य सदस्यमा सर्न सक्छ।

हरेक वर्ष मौसम परिवर्तनको समयमा, विशेषगरी वर्षायाममा, यो रोग देखिने गर्दछ। ब्याक्टेरिया, भाइरस तथा एलर्जी आँखा पाक्ने रोगका मुख्य कारणहरू हुन्।

प्रमुख लक्षणहरू

१. एक्कासि एउटा आँखा अथवा दुवै आँखा रातो हुनु।
२. आँखा धेरै चिलाउनु तथा आँखा टासिनु।
३. आँखाबाट बारम्बार पानी बगिरहनु।
४. आँखामा कचेरा लाग्नु तथा आँखा टासिनु।
५. आँखाबाट आँसु बगिरहनु।
६. आँखा सुन्निनु।
७. घाम तथा उज्यालो प्रकाशमा हेर्न गाह्रो हुनु तथा धमिलो देखिनु।
८. कहिलेकाहीँ रुघाखोकी लाग्नु।
९. कान तथा घाँटीको छेउमा सुनिनु।

यस्तो समस्या भएमा के गर्ने?

१. पटक–पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ। तर आँखाभित्र पानी पार्नु हुँदैन।

२. आँखा छोइसकेपछि हरेक पटक साबुन–पानीले हात सफा गर्नुपर्दछ।

३. आफूले प्रयोग गर्ने रुमाल, टावल तथा कपडा छुट्टाछुट्टै राख्नुपर्दछ। अरूलाई प्रयोग गर्न दिनु वा छुन दिनु हुँदैन।

४. सकेसम्म संक्रमित व्यक्तिसँग सँगै नसुत्ने र भिडभाड हुने ठाउँमा नजाने।

५. आफू सुतेको सिरानीको खोल तथा तन्ना हरेक दिन सफा गर्ने तथा धुने।

६. आवश्यकताअनुसार कालो चस्माको प्रयोग गर्ने।

७. टिभीको रिमोट, मोबाइल, ल्यापटपलगायतका सामान घरका सबैले साझा रूपमा प्रयोग गर्ने भएकाले यस्ता सामान छोएपछि हात सफा गर्नुपर्दछ। यी सामानहरू धेरै व्यक्तिले छुने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सक्ने सम्भावना हुन्छ।

गलत धारणा

यस्तो लक्षण भएको मानिसको आँखा हेर्दा, आँखामा आँखा जुधाउँदा, सँगै बस्दा, कुराकानी गर्दा वा सँगै खाना खाँदा रोग सर्छ भन्ने गलत धारणा पाइन्छ। तर यी गतिविधिबाट मात्र एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्दैन। रोग निम्त्याउने किटाणु कुनै न कुनै माध्यमबाट अर्को व्यक्तिको आँखासम्म नपुगेसम्म संक्रमण सर्दैन।

उपचार तथा सावधानी

यदि कसैमा यस्ता किसिमका आँखाका समस्या देखिएमा आत्तिनु हुँदैन। सामान्य सावधानी अपनाउँदा ठूलो समस्याबाट बच्न सकिन्छ।

सामान्यतः यसको असर दुई हप्ताजति रहन सक्छ। तर कसै–कसैमा अलि लामो समयसम्म पनि समस्या रहन सक्छ। कहिलेकाहीँ आँखाको नानी (Cornea) मा समेत असर गर्न सक्छ। आँखाको नानीमा असर पुगेमा घाम तथा उज्यालो प्रकाशमा हेर्न निकै गाह्रो हुने, नानीमा दाग तथा फुलो बस्ने, दृष्टि कम हुने तथा उज्यालोमा हेर्न नसक्ने जस्ता समस्या देखिन सक्छन्।

यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई संक्रमण भएमा आवश्यक सावधानी अपनाउनुपर्दछ। नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई जाँच गराएर चिकित्सकले दिएको सल्लाहअनुसार उपचार गर्नुपर्दछ।

जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन। जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ। त्यसैले चिकित्सकको सल्लाहबमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ।

घरका दुई व्यक्तिलाई चिकित्सकले एउटै प्रकारको औषधि प्रयोग गर्न सल्लाह दिएको भए पनि औषधि एकअर्कासँग साटासाट गरेर प्रयोग गर्नु हुँदैन। औषधि अलग–अलग राखेर प्रयोग गर्नुपर्दछ। औषधि प्रयोग गरिसकेपछि हरेक पटक साबुन–पानीले हात राम्ररी धुनुपर्दछ।

यस्ता लक्षणहरू देखा परेमा तुरुन्त नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई जाँच गराउनु उचित हुन्छ। डाक्टरको सल्लाहबिना कुनै पनि प्रकारका औषधि प्रयोग गर्नु हुँदैन।

कहिलेकाहीँ सानो–तिनो गल्तीले ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले समयमै उपचारको बाटोमा जानुपर्दछ। यसले समय र पैसाको बचत गर्नुका साथै ठूलो समस्याबाट जोगिन पनि मद्दत गर्दछ।

लेखक पौडेल दृष्टि आँखा अस्पतालमा कार्यरत वरिष्ट दृष्टि विशेषज्ञ हुन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै