• होमपेज
  • कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि
कभर स्टोरी

कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि

कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्‍यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो उपलब्धि र चमत्कार नै मान्नुपर्ने हुन्छ भन्ने एकातिर भए भने अर्कोतर्फ विज्ञानले मानव अस्तित्वमै खतरा निम्त्याउन लाग्यो भन्ने भए ।

केही वर्षयता वैज्ञानिकले महिलाको गर्भबिना बच्चा जन्माउने प्रविधिको विकासमा आफूहरूले धेरै सफलता हात पारेको दाबी गर्ने गरेका छन् । के तपाईंलाई पनि यो कुरा सम्भव छ जस्तो लाग्छ ?, के यो दाबी साँच्चिकै सत्य हो त ? यस विषयमा केही छलफल गरौँ ।

विज्ञापन

भनिन्छ आमाबुवा बन्नु संसारको सबैभन्दा खुसीको क्षण हो । संसारमा अझै पनि धेरै जोडी छन् जो अनेक कारणले आमाबाबु बन्ने खुसीबाट वञ्चित छन् । विज्ञानले यस्ता धेरै प्रविधि ल्याएको छ जसको सहायताले बाँझोपना जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ तर विज्ञान यही विश्राम लिने सुरमा छैन । विज्ञानले यसभन्दा पनि ठूला र नवीन प्रविधि थप्न सकिन्छ भन्दै अहिले ‘कृत्रिम गर्भ’ को प्रविधि विकासमा जुटेको छ ।

केही समयअघि सार्वजनिक भएको एक भिडियोमा ‘एक्टोलाइफ’ नामक कृत्रिम गर्भको सुविधाबाट बर्सेनि ३० हजार बच्चा जन्माउन सकिने दाबी गरिएको छ । ‘कृत्रिम गर्भ’ विकासमा सफलता प्राप्त भएको दाबी गरिएको सो भिडियोमा आमाबिना बच्चा कसरी जन्मिन्छ भनेर देखाइएको छ । यो भिडियो एनिमेसन प्रविधिमार्फत तयार गरिएको छ । वैज्ञानिक हसम अल घैलीले यो भिडियो तयार पारेका हुन् ।

‘इक्टोलाइफ’ का मालिक उनले आफ्नो कम्पनीले एउटा ‘बेबी पड’ अर्थात् एक किसिमको मेसिनबाट बच्चा उत्पादन गर्ने बताएका छन् । साथै उनले भिडियोमार्फत यस प्रविधिको विकासमा जुटेको र छिट्टै यो प्रविधि प्रयोगमा ल्याउने दाबीसमेत गरेको देखिन्छ ।

भिडियोमा देखाइए अनुसार ‘इक्टोलाइफ’ सुविधाका लागि ठूलो प्रयोगशाला निर्माण गरिएको छ । यस प्रयोगशालामा कृत्रिम पाठेघर रहेको छ । जसभित्र आमाको पाठेघरमा बच्चाले पाउने जस्तै सुविधा दिएर बालबालिकालाई हुर्काइने छ । ‘इक्टोलाइफ’ ले बाँझोपना भएका दम्पतीलाई बच्चा जन्माउन र आफ्नै बच्चाको आमाबावु बन्न सहयोग गर्ने बताइएको छ ।

वैज्ञानिक घैलीले यस प्रकारको कृत्रिम पाठेघरले क्यान्सर वा अन्य जटिलताका कारण पाठेघर निकालेका महिलालाई बच्चा जन्माउन सहयोग गर्ने बताएका छन् । साथै यो प्रविधि न्यून जनसङ्ख्या भएका देशलाई समेत वरदान साबित हुने छ । ‘इक्टोलाइफ’ मा कृत्रिम गर्भलाई आमाको पाठेघरभित्रको अवस्थासँग मिल्दोजुल्दो डिजाइन गरिएको छ । बच्चाको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वासको गति, अक्सिजनको स्तरलगायतका महìवपूर्ण जानकारीका साथै अभिभावकले प्रत्यक्ष निगरानी गर्न बच्चाको विभिन्न भागमा सेन्सरसमेत जडान गरिने छन् । जसबाट ‘इक्टोलाइफ’ अर्थात् ‘ग्रोथ पोड’ मा हुर्किरहेका बच्चाको आनुवंशिक गुण र अन्य समस्याका बारेमा वैज्ञानिकले निगरानी गर्न सक्ने छन् ।

अहिले इन्टरनेटमा उपलब्ध यो भिडियो हेर्नेहरू धेरै छन् । यो भिडियो हेर्दा लाग्छ यो कुनै साइन्स फिक्सन चलचित्रको दृश्य हो । यो प्रविधिको मुख्य उद्देश्य जनसङ्ख्या वृद्धि ऋणात्मक रहेका देशलाई मद्दत गर्नु र प्राकृतिक रूपमा बच्चा जन्माउन नसक्ने दम्पतीलाई सहयोग गर्नु रहेको बताइएको छ ।

कम्पनीका अनुसार यो सुविधा पूर्ण रूपले नवीकरण ऊर्जाबाट सञ्चालन हुने छ । यसभित्र बच्चाको पालनपोषण हुने छ । यस प्रविधिमा आधारित ७५ वटा प्रयोगशाला रहने छन् । यी प्रयोगशालामा चार सय पोड्स अर्थात् कृत्रिम गर्भाशय बनाइने छ । पोड्सलार्ई आमाको गर्भाशय जस्तै बच्चा अनुकूल बनाउन डिजाइन गरिएको छ ।

यसका साथै ग्रोथ पोड्समा सेन्सर पनि हुने छ । जसबाट बच्चाको महत्वपूर्ण सङ्केत जस्तै मुटुको ढुकढुकी, रक्तचाप, सास फेर्ने दर र अक्सिजन स्तर निगरानी हुने छ । साथै हुर्किरहेका बच्चामा कुनै पनि सम्भावित आनुवंशिक समस्या रहेको वा नरहेको विषय प्रत्यक्ष निगरानी गर्न सकिने छ ।

‘बेबी पड’ के हो ?

सामान्य रूपमा भन्नु पर्दा ‘बेबी पड’ आमाको पाठेघरबिना नै बच्चा जन्माउने एउटा मेसिन हो । यो मेसिनलाई महिलाको गर्भजस्तै डिजाइन गरिएको हुन्छ । प्राकृतिक रूपमा आमाको गर्भमा रहने भ्रूणले आमाको शरीरबाट अक्सिजन, पोषक तìव र हर्मोन प्राप्त गर्दछन् । आमाको गर्भमा रहँदा बच्चाले कार्बन डाइअक्साइड छाड्छ । जुन आमाको रगतमा मिसिन्छ र बाहिर निस्कन्छ ।

प्राकृतिक गर्भमा भ्रूणका लागि चाहिने निश्चित तापक्रम र वातावरण तयार पारिएको हुन्छ । ‘बेबी पड’ लाई पनि वैज्ञानिकहरूले महिलाको गर्भमा जस्तै भ्रूणका लागि वातावरण तयार पार्छन् । वैज्ञानिक तथा अभिभावकले यसमा रहने बच्चाको धड्कन, तापव्रmम, अक्सिजनको स्तर, रक्तचाप, श्वासप्रश्वास, मुटु, मस्तिष्क, मिर्गौला, कलेजोलगायत शरीरका अन्य अङ्गको निगरानी प्रत्यक्ष (रियल टाइम) मा मोबाइल एपमार्फत गर्न सक्ने छन् ।

कृत्रिम गर्भ कसरी फरक ?

यस प्रश्नको उत्तरमा यस प्रविधिमा दिनरात काम गरिरहेका वैज्ञानिक घैलीले आफूहरूले बनाइरहेको कृत्रिम गर्भ निकै उन्नत हुने बताएका छन् । उनी भन्छन्, “यो प्रविधिको प्रयोगबाट अभिभावकले आफूलाई आवश्यक सन्तान जन्माउन सक्ने छन् ।” उनले यस कृत्रिम गर्भमा रहेको बच्चाको बौद्धिकता स्तर, उचाइ, कपाल, आँखाको रङ्ग, शारीरिक शक्ति र छालाको रङ वैज्ञानिक र अभिभावकले छनोट गर्न पाउने दाबी गरेका छन् ।

कृत्रिम गर्भको चर्चा

विश्वमा हालसम्म थुप्रै वैज्ञानिक वा संस्थाले कृत्रिम गर्भबाट बच्चा जन्माउन सक्ने दाबी गरेका छन् तर हालसम्म यस्तो प्रविधिको विकास गरेर बच्चा उत्पादन भने भएको छैन । विज्ञानको जगत्मा सामान्यतया यस्ता प्रयोग मानिसमा गर्नुभन्दा पहिला जनावरमा गर्ने गरिन्छ ।

वैज्ञानिका अनुसार केही समयअघि भेडामा यस्तो प्रयोग सफल भएको थियो । यसका साथै वैज्ञानिकहरूले मुसाको भ्रूणलाई कृत्रिम गर्भमा ११ दिनसम्म सफलतापूर्वक परीक्षण गरेका थिए ।

कृत्रिम गर्भको खतरा ?

अहिलेसम्म प्रयोगमा नआएको यस प्रविधिका बारेमा विश्वमा विभिन्न मत छन् । यस विषयमा उठेको महत्वपूर्ण बहस भनेको मेसिनबाट बच्चा जन्माउने प्रक्रियाको नियन्त्रण कसले गर्छ भन्ने हो । यसका साथै यो प्रविधि कार्यान्वयनमा आयो भने बच्चाको लिङ्ग पहिचान र भ्रूण हत्यालगायतका कुरालाई कसले र कसरी रोक्ने प्रश्न छ । त्यसैले यो प्रविधि विकास गर्नु जति हतार हुँदै छ यसलाई निगरानी, नियन्त्रण र अनुगमन गर्न कानुन तर्जुमा गर्नु आवश्यक देखिन्छ ।

यसको विकास र प्रयोगका जति धेरै फाइदा छन् उति नै धेरै यसको दुरुपयोगको पनि सम्भावना छ । विश्वका अनुसन्धानकर्ताले यो प्रविधिलाई समयमै कानुनको परिधिमा ल्याउन नसकेमा परमाणु प्रविधिभन्दा पनि बढी घातक हुने बताइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook