• होमपेज
  • विश्वभर फैलियो डेल्टा भेरियन्ट
कभर स्टोरी

विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

विज्ञापन

अहिले विशेषगरी युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा कोरोना संक्रमण बढ्दो क्रममा छ । तर केही पश्चिमा मुलुकले मृत्युदरमा कमी आएको भन्दै लकडाउन खुकुलो बनाउन थालेका छन् । खोपको अभाव तथा खोप अभियान सुस्त रहेको अवस्थामा लकडाउन खुकुलो गर्नु आगामी दिनमा भने घातक साबित हुन सक्छ ।

यहाँ विश्वभर कोरोना भाइरसको डेल्टा भेरियन्टले पारेको असरबारे चर्चा गरिएको छ–

इन्डोनेसिया

इन्डोनेसिया एसियामा कोरोना संक्रमणको केन्द्र बनेको छ । त्यहाँ दैनिक १३ सयभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइरहेको छ । जसमध्ये सयौंको मृत्यु होम आइसोलेसनमा भएको छ । अस्पतालमा उपचार गराउन बेड नपाएर जटिल खालका संक्रमित पनि घरमा बस्दा मृत्यु संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।

राजधानी सहर जाकार्तामा शव व्यवस्थापनमा खटिएका विरावान इन्डोनेसियामा संकट गहिरिँदै गएको बताउँछन् । उनी र उनको टोलीले शव सम्बन्धित व्यक्तिको घरबाटै उठाएर चिहानसम्म लैजाने काम गर्छन् । कोरोना संक्रमण बढ्न शुुरु गर्नुभन्दा पहिला उनले दैनिक दुई वा तीन शवको अन्त्येष्टिको लागि चिहान तयार पार्नुपथ्र्यो तर अहिले २४ वटासम्म चिहानको माग आउन थालेको छ । उनी एक्लैले यो माग पूरा गर्न सक्दैनन् । त्यसैले शवले पनि पालो कुर्नुपर्ने अवस्था आएको छ ।

अहिले इन्डोनेसियामा दैनिक ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् । सरकारले कम्तीमा यो साताको अन्तिमसम्मका लागि लकडाउन गरेको छ, जुन सोमबार थप लम्ब्याउने तयारी गरिएको छ ।

इन्डोनेसियामा खोप अभियान पनि निकै सुस्त चलिरहेको छ । अहिलेसम्म इन्डोनेसियामा एक करोड ६० लाखले कोरोना खोप पाएका छन् । इन्डोनेसियाको जनसंख्या करिब २० करोड ८० लाख छ ।

ट्युनिसिया

ट्युनिसियामा कोरोना महामारीको असर अहिलेसम्मकै धेरै देखिएको छ । ट्युनिसियामा डेल्टा भेरियन्टसहितका संक्रमित भेटिएसँगै संक्रमण बढ्न थालेको हो । तर, संक्रमण बढ्नुको मुख्य कारण डेल्टा भेरियन्ट नै हो वा होइन भन्ने खुलेको छैन । अहिले ट्युनिसियाका अस्पतालहरु पूर्णरुपमा भरिएका छन् । केही अस्पतालमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।

त्यस्तै कोरोनाको संक्रमणदर बढेको छ भने खोप अभियान पनि सुस्त चलिरहेको छ । अहिलेसम्म केवल आठ प्रतिशत जनसंख्याले मात्र खोप लगाएका छन् । अधिकारवादी संगठनहरुले सरकारले संकटलाई सही रुपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । गत मंगलबार ट्युनिसियाका स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरिएको थियो ।

पछिल्लो केही दिनयता ट्युनिसियाको राष्ट्रिय टेलिकमले खोपको लागि नाम दर्ता गराउन मानिसहरुलाई प्रेरित गर्न एक जीबी डेटा निःशुल्क दिएको छ । ट्युनिसियाको राजधानी सहर ट्युनिसको चर्चित स्थानमा खोपको लागि नाम दर्ता गराएका मानिसलाई १० प्रतिशत छुटको घोषणा गरिएको छ ।

ट्युनिसियाले ईयू र अरेबिक मुलुकबाट यो संक्रमण नियन्त्रणका लागि खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु पाएसँगै आगामी महिनाबाट मुलुकमा संक्रमण नियन्त्रणमा आउन थाल्ने अनुमान गरिएको छ ।

मेक्सिको

मेक्सिको अहिले कोरोनाको तेस्रो लहरको सामना गरिरहेको छ । हिजोआज मेक्सिकोमा दैनिक १५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । यस वर्षको शुरुदेखि नै मेक्सिकोमा निरन्तर कोरोना संक्रमण बढिरहेको छ । अधिकारीहरुले पछिल्लो समय डेल्टा भेरियन्टको संक्रमण बढिरहेको विषयमा चिन्ता व्यक्त गरेका छन् । मेक्सिको सिटीका नयाँ संक्रमितमध्ये करिब ६० प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण देखिएको छ ।

मेक्सिकोको सरकारले अमेरिकाबाट यो संक्रमण मेक्सिकोमा फैलिइरहेको भन्दै अमेरिकासँगको सीमा बन्द गर्ने निर्णय गरेको छ । साथै अत्यावश्यक कामबाहेकको आवतजावत पनि बन्द गरेको छ । मेक्सिकोमा पछिल्लो समय युवा र खोप नलगाएका मानिसहरु धेरै प्रभावित भएका छन् । मेक्सिकोमा अहिलेसम्म १८ वर्षमाथिका चारमध्ये एक जनाले मात्र पूरा डोज खोप लिएका छन् । यद्यपि मेक्सिकोको स्वास्थ्य प्रणाली भने राम्रो छ । अझै मेक्सिकोका अस्पतालहरुमा ६५ प्रतिशत बेड खाली छन् ।

मेक्सिकोका सडकमा भने कोरोना महामारी बढेको कुनै छनक देखिँदैन । सबै मानिसहरु आ–आफ्नो काममा निस्किरहेका छन् । जसमध्ये अधिकांश मानिसलाई आफ्नो गाँसबासको जोहो गर्न पनि दैनिक काममा जानुको विकल्प छैन । त्यसैले सरकारले लकडाउनका योजना पनि ल्याएको छैन ।

रुवान्डा

रुवान्डाले मुलुकमा कोरोना संक्रमण फैलिन नदिई राखेको थियो । तर जुनको मध्यबाट भने रवान्डामा कोरोना संक्रमण उल्लेख्य रुपमा फैलियो । जुलाईको सुरुसम्म आइपुग्दा रवान्डाको कोभिड उपचार केन्द्र नै भरिभराउ हुने अवस्था आयो ।

जुलाई ६ मा रवान्डाका स्वास्थ्यमन्त्रीले भनेका थिए, ‘हामीले यसअघि यस्तो महामारी देखेका थिएनौं ।’ त्यसको दुईदिनपछि उनले मुलुकमा संक्रामक डेल्टा भेरियन्ट देखिएको पुष्टि गरेका थिए ।

जुलाई १७ मा रवान्डाको राजधानी सहर किगाली र अन्य आठ जिल्लामा १० दिने लकडाउन घोषणा गरिएको थियो । यद्यपि संक्रमित र मृत्यु हुनेको दर भने अझै पनि उच्च छ ।

अहिलेसम्म रवान्डाको समग्र जनसंख्याको तीन प्रतिशत अर्थात् करिब चार लाख मानिसले पूरा डोज खोप लगाएका छन् ।

बीबीसीबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook