• होमपेज
  • सर्वदलीय बैठकमा नेताहरुले भने–‘बन्दुक र लाठीमा मात्र होइन, संकटमा सरकारको नेतृत्व चाहियो’
Breaking News

सर्वदलीय बैठकमा नेताहरुले भने–‘बन्दुक र लाठीमा मात्र होइन, संकटमा सरकारको नेतृत्व चाहियो’

काठमाडौँ। सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।

रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेका छन्।

विज्ञापन

बैठकमा विपक्षी दलका नेताहरूले देशमा यति ठुलो संकट उत्पन्न हुँदासमेत प्रधानमन्त्री बालेन शाह र उनको नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। बैठकमा आफ्नो धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गरे। संवेदनशीलताको यो घडीमा सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

विगतका जटिल परिदृश्यहरू स्मरण गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ।’

राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्दै उनले गम्भीर प्रश्न उठाए। समयमै सर्वदलीय छलफल डाकेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै प्रचण्डले सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गरे।

उनले थपे, ‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’

घटनास्थलमा स्थानीयबाहेक बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वहरूसमेत सक्रिय हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने प्रचण्डको भनाइ थियो। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गरे।

यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले समयमै सर्वदलीय बैठक बोलाएर पहलकदमी लिएको भन्दै रास्वपा र सभापति रवि लामिछानेप्रति आभार व्यक्त गरे। उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति र नागरिकले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएको बताए।

कांग्रेसले आफ्ना पार्टीका स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई व्यक्तिगत रूपमै सम्पर्क गरेर संयमता अपनाउन र साना–साना बैठकमार्फत सद्भावको सन्देश फैलाउन निर्देशन दिइसकेको जानकारी उनले दिए।

बैठकका क्रममा सभापति थापाले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि कडा प्रश्न उठाएका थिए। सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै थापाले भने, ‘यतिखेर सरकार के गर्दैछ? सरकार कहाँ छ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्र भेटिनु हुन्न। र सरकार यथास्थितिमा मात्र सीमित रहनु हुन्न।’

सरकार अभिभावकसँगै नेतृत्वकर्ता पनि भएको स्मरण गराउँदै उनले जोड दिए, ‘लिडरको सबैभन्दा ठुलो स्ट्रेन्थ भनेको उसले कोल्याबोरेट गर्न सक्नुपर्छ। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि उसलाई विश्वास गर्छ। यो बेलामा हामीले अपेक्षा गर्ने कुरा भनेको, यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो।’

विगतका सङ्कटहरूमा राजनीतिक तनावका बिच पनि दलहरू एकै ठाउँमा उभिने परम्परा रहेको उल्लेख गर्दै थापाले वर्तमान प्रधानमन्त्रीको निष्क्रियताप्रति कटाक्ष गरे। थापाले भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने, ठालु भएर बस्ने हो? यो बेलामा रिच आउट गर्नु पर्दैन? यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन?’

मधेसमा हुने यस्ता घटनामा राज्यले सधैँ अतिरिक्त बल प्रयोग गर्ने मानसिकतातर्फ सचेत गराउँदै उनले यो राज्यको एक प्रकारको असफलताको निरन्तरता भएको बताए। तर, अहिलेको सङ्कटको घडीमा सरकारलाई अप्ठ्यारो नपारी सहयोग गर्न कांग्रेस तयार रहेको उनले प्रस्ट पारे।

पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएकाले आफू आफ्ना भनाइ राखेर निस्किएको र बैठकमा कांग्रेसको तर्फबाट उपसभापति विश्वप्रकाश शर्मा सहभागी भई थप छलफल भइरहेको जानकारी पनि थापाले दिए। बैठकमा सहभागी दलहरूले सुनसरीलगायत सम्भावित प्रभावित क्षेत्रमा पूर्वसतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासहरूलाई अगाडि बढाउन साझा सहमति जनाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै