पर्वत, कुश्मा — कुश्मास्थित नारायण माध्यमिक विद्यालय मा नयाँ भर्नाका लागि लिइएको पहिलो चरणको प्रवेश परीक्षामा ८१ जना विद्यार्थी सहभागी भएकामध्ये ६२ जना उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनका अनुसार दोस्रो चरणको प्रवेश परीक्षा आगामी बैशाख १९ गते सञ्चालन गरिनेछ।
अंग्रेजी तथा नेपाली माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा हाल करिब १२ सय विद्यार्थी अध्ययनरत छन्। पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, उत्कृष्ट नतिजा र अनुशासित वातावरणका कारण विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दो रहेको देखिएको छ।
विज्ञापन
विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल का अनुसार सीमित दरबन्दी र साधन–स्रोतका बाबजुद विद्यालयले राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको छ, जसका कारण भर्ना हुन चाहने विद्यार्थीको संख्या वर्षेनि बढ्दै गएको छ।
विशेषगरी निम्न माध्यमिक र माध्यमिक तहमा विद्यार्थी चाप बढेपछि कतिपय कक्षामा तीनवटा सेक्सन बनाएर पठनपाठन सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ। तर पर्याप्त शिक्षक दरबन्दी नहुँदा थप सेक्सन सञ्चालन गर्न चुनौती भइरहेको प्रधानाध्यापक रिजालले बताउनुभयो।
उहाँका अनुसार सरकारी दरबन्दी अपुग हुँदा अभिभावकको सहयोग र चन्दाबाट निजी शिक्षक नियुक्त गरी कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।
विद्यालय व्यवस्थापनले बढ्दो विद्यार्थी चापलाई व्यवस्थापन गर्न आवश्यक शिक्षक दरबन्दी, पूर्वाधार विस्तार तथा स्रोत–साधन थप गरिनुपर्ने आवश्यकता औंल्याएको छ। सार्वजनिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नारायण माविप्रति बढ्दो आकर्षणले सामुदायिक विद्यालयप्रतिको विश्वास समेत बलियो बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु