• होमपेज
  • सुन्तलाको बजारिकरण गर्न सुन्तला महोत्सव
Breaking News

सुन्तलाको बजारिकरण गर्न सुन्तला महोत्सव

पर्वत । जिल्लाको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ ।

जलजला गाउँपालिका र वडा १ को कार्यालयद्वारा आयोजित महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाबिच साक्षात्कार, सुन्तला प्रदर्शनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुख्र्यौली, भजन र पञ्चेबाजा प्रदर्शनी गरिएको थियो ।

विज्ञापन

बाँसखर्कका पाखाभरी पहेँलपुर बनेको गाउँमा आयोजित सुन्तला महोत्सवले कृषि पर्यटन प्रवर्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललगायत साँसद, मन्त्रालयका सचिव लगायतसँग सडक, सिँचाइ, खानेपानी र पहिरो विषयमा कृषक तथा जनप्रतिनिधिले ध्यानाकर्षण गराएका थिए ।

बेनीदेखि बाँसखर्क जोड्ने छोटो दूरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागे पनि आठ वर्षसम्म काम नभएको र योजना हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले घर–घरमा धारा निर्माण र मिटर जडान भए पनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराउनुभयो ।

मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरुले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाउनुभयो । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पाण्डेले बसाइसराई रोकिने, कृषिउपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्नेगरी सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताउनुभयो ।

“सुन्तला ढुवानीका लागि तपाईहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौं” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले चालु आर्थिक वर्षमा जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले ११ करोड रुपियाँ बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो ।

कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्धनका लागि बाँसखर्क लगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताउनुभयो । बाँसखर्कमा दुई सय ३९ घरधुरी बसोबास रहेकामा धेरैले सुन्तला खेती गर्दै आएका छन् ।

समुन्द्रि सतहदेखि एक हजार एक सयदेखि एक हजार नौसय मिटर उचाईमा अवस्थित एक हजार पाँचसय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार रुपियाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको वडा नम्बर १ का वडा अध्यक्ष जगबहादुर रोकाले जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै