हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार हेटौंडामा आयोजित ओली पक्षीय बृहत कार्यकर्ता भेलामा मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदले विरोध नगर्दा नेकपाकै कार्यकर्ताले विरोध गर्दै हिँडेको बताए ।
विज्ञापन
प्रदेश सरकारले काम गरेन भन्दै आलोचना गर्नेहरुलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटार अन्तर्राष्ट्रिय रंगशाला, विभिन्न स्वास्थ्य कार्यक्रमसहित विकास नपचेको उनको दाबी छ । आफ्नो नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरुले अस्थिरता चाहेको उनको आरोप छ ।
ओली समूहका नेता समेत रहेका मुख्यमन्त्री पौडेलले नेकपा फुटाउन माधव नेपालले पुष्पकमल दाहाल प्रचण्डको साथ दिनु भनेको महाभुल भएको बताए । ढिलो चाँडो माधव नेपालहरु ओलीसँग शरण लिन आउने उनको दाबी छ ।
प्रधानमन्त्रीलाई अविश्वास र राष्ट्रपतिलाई महाअभियोग लगाउने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम चालेको बताए । संविधान अनुरुप संसद विघटन गरेको भन्दै मुख्यमन्त्री पौडेलले भने ‘प्रधानमन्त्री ओलीले संविधानमा भएको व्यवस्था अनुसार नै संसद विघटन गरेका हुन् । केही मान्छेहरु असंवैधिानक कदम चालेको भन्दै सडकमा उफ्रिरहेका छन् । उनीहरुलाई केपी ओलीले लोकतन्त्र बचाएको भन्ने हेक्का होस् ।’
कार्यक्रममा युवा संघकासह संयोजक रमेश पौडेलले ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ, पार्टी अध्यक्ष बन्ने माधव नेपालको सोच र राष्ट्रपति बन्ने झलनाथ खनालको लोभले पार्टी अहिलेको अवस्थामा आएको बताए ।
फेसबुक प्रतिक्रियाहरु