• होमपेज
  • शोक मनाउन नवलपरासीका ५ स्थानीय तहमा बिदा
Breaking News

शोक मनाउन नवलपरासीका ५ स्थानीय तहमा बिदा

परासी : नवलपरासीमा रहेका ५ स्थानीय तहमा आज शोक बिदा दिइएको छ । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको शोकमा स्थानीय तहले बिदा दिएको सूचना निकालेर जनाएका छन् ।

जिल्लामा ७ पालिका छन् । सुनवल नगरपालिका र सुस्ता गाउँपालिकाबाहेक सबै स्थानीय तहले सूचना निकालेर शोक बिदा दिएको जनाएका हुन् । सुनवल र सुस्ताले आज बिहान ७ बजेसम्म पालिकामा बिदा दिने बारे कुनै निर्णय नभएको जनाएका छन् । बिदा दिनेमा रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिका छन् । स्थानीय तहले दिएको बिदामा पालिकाभित्रका शैक्षिक संस्था, वडा कार्यालय र त्यहाँ रहेका सबै सेवा बन्द हुने छन् ।

विज्ञापन

पालिकाहरुले निकालेको शोक बिदामा जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा अप्रत्यासी र अकल्पनिय रुपमा ठूलो संख्यामा युवा नागरिकको निधन भएको घटनाले स्तब्ध बनाएको उल्लेख छ । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न पनि शोक विज्ञप्तिमार्फत नेपाल सरकारसँग आग्रह गरिएको छ ।

जेनजीहरुको प्रदर्शनका क्रमममा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ । ३ सय बढी घाइते भएका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी सडक प्रदर्शनमा उत्रिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै