• होमपेज
  • शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै
अर्थ खबर

शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै

पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो ।

प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको जनाएको हो । समितिका संयोजक तारा रेग्मी पाध्याले आगामी जेठ ६ गते श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा एक दिने शालग्राम महोत्सव आयोजना गरी सबै शिलामा देवी, देवता र भगवानका नामबाट नामाकरण गरिने जानकारी दिनुभयो ।

विज्ञापन

उहाँले त्यस दिन प्रत्येक भक्तजनले एक सय आठ शिलामा भगवान नामोच्चरण लेख शिलाङ्कित गरी पुण्य कमाउन पनि अनुरोध गर्नुभयो । संरक्षण समितिका सचिव हरेमबहादुर खत्रीले कालीगण्डकी नदी र शालग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्न समितिले अभियान थालेको बताउनुभयो । किनारमा रहेका साना, ठूला, चक्राङ्कित, निष्चक्राङ्कित सबै शिलाको संरक्षणका लागि यो अभियान थालिएको र नामाकरणपछि चोरी, निकासी वा उत्खनन् गरेमा पनि खोजी गर्न सहज हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो समय अवैधरुपमा भइरहेको नदी दोहनका कारण शालग्राम शिलाको अस्तित्व संकटमा पर्दै गएको छ । बहुमूल्य र धार्मिकरुपमा महत्वपुर्ण मानिने शालग्राम शिला ढुङ्गा, गिट्टी र चोकरको रुपमा प्रयोग भइरहेको छ । हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ । त्यसमा पनि नदी किनारमा ऋषिहरू पुलह, पुलत्व्स, कपिल र जडभरतले तपस्या गरी सिद्धीप्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसावले महत्वपूर्ण मानिएको पण्डित लोकनाथ आचार्यको भनाइ छ ।

कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन र दैनिक घरमा पुजन गर्दा राम्रो हुने विश्वास गरिएको छ । शालग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा समेत पुज्ने गर्दछन् । हरेक घरमा पाँचवटा शालग्राम शिला राखेमा उक्त घर पवित्र मानिन्छ । हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । यो नदीबाट मूर्ति निर्माण तथा शिला पुजनका लागि स्वदेशमा मात्रै होइन विदेशमासमेत शिला लैजाने क्रम बढ्दै गएको छ । गोरखापत्र

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook