• होमपेज
  • ‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
अर्थ/वाणिज्य

‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा

पोखरा/नेपालको करिब मध्यभागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगको अग्रसरतामा चैत ४ गते आइतबार हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तय भएको छ । ०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।

विज्ञापन

पोखरा महानगरका प्रमुख धनराज आचार्य पर्यटकीय राजधानी घोषणापछि पोखरा, आसपासका पालिका र प्रदेश सरकारले त्यसलाई कार्यान्वयन गर्न नीतिगत र बजेटसमेत व्यवस्था गर्ने बताउनुहुन्छ । “बारम्बार अनुरोध गर्दा पनि सङ्घ सरकारले घोषणा नगरेपछि हामीले गर्न लागेका हौँ । प्रदेश सरकार र हामी मिलेर यसलाई कार्यान्वयन गर्छौँ,” उहाँ भन्नुहुन्छ, “आउँदा नीति, कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा पर्छ ।” प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई कार्यान्वयनका लागि सङ्घ सरकारको समेत यथोचित साथ मिल्ने उहाँको विश्वास छ ।

पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, माध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले सुझाएको छ । प्रतिवेदनले घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम गर्दै जानुपर्ने उल्लेख गरेको छ ।

समितिले २० बुँदामा विभिन्न सुझावसमेत दिएको छ । अध्ययन समिति संयोजक एवम् प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. कृष्णचन्द्र देवकोटा प्रतिवेदनले आवश्यक भौतिक पूर्वाधारदेखि सबै विषय समेटेको उल्लेख गर्नुभयो ।

पोखराका पर्यटनका सङ्घ, संस्था, स्थानीय सरकार र व्यवसायीले पर्यटकीय राजधानी घोषणा गर्न माग गरेको लामो समय भइसकेको छ । पोखरामा हुने पर्यटकीय गतिविधि, प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधता सम्पदालाई मध्यनजर गरी पर्यटकीय सहर घोषणा गरिने उचित भएको बताउनहुन्छ पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ । ‘हामीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, यसले साङ्केतिक मात्र होइन, विशेष अर्थ र महत्त्व राख्छ’, श्रेष्ठ भन्नुहुन्छ ।

प्रतिवेदनले यहाँ पर्यटन क्षेत्रमा प्रशस्त लगानी भएको, प्राकृतिक सौन्दर्य, जैविक विविधता, अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटनको केन्द्र बनेको औँल्याएको छ । पोखरालाई पर्यटनको केन्द्र बनाउँदै प्रदेशका अन्य स्थानलाई उपकेन्द्र बनाएर पर्यटन क्षेत्रको विकास र त्यस लाभ वितरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

पर्यटकीय राजधानी घोषणा पछि प्रदेशका सबै स्थानीय तह, सङ्घ, संस्था, नागरिक समाज लगायतले त्यसलाई स्वागत गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता गर्ने छन् । केही पोखरेली भने घोषणाले साङ्केतिक अर्थ राखे पनि पूर्वाधार निर्माण, प्रकृति संरक्षण, विदेशमा प्रवर्द्धन जस्ता  कार्य नगरी गरिने घोषणाले ठुलो अर्थ नराख्ने बताउँछन् । पोखरा महानगरले पर्यटकीय सम्पदाबाट लाभ लिन सकेको छैन । फेवा र बेगनास ताल चल्ने ढुङ्गाबाट महानगरले कर लिन सकेको छैन भने गुप्तेश्वर गुफा, डेभिज फल, महेन्द्र गुफा, चमेरे गुफा जस्ता पर्यटकीय सम्पदाको आम्दानी विद्यालय र विभिन्न सङ्घ, संस्थाले लिने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook