• होमपेज
  • सहकारी ठगीमा २ जनालाई पुर्पक्षकालागि थुनामा, २ जनालाई जनही ३० लाख धरौटी
Breaking News

सहकारी ठगीमा २ जनालाई पुर्पक्षकालागि थुनामा, २ जनालाई जनही ३० लाख धरौटी

पर्वत । बचतकर्तालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वतको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुको बयान सकिएको छ ।

झण्डै २० जना भन्दा बढी सञ्चालकहरु विरुद्ध उजुरी रहेपनि हाल नियन्त्रणमा रहेका सञ्चालकहरुको बयान सकिएसँगै पर्वत जिल्ला अदालतले सोमबार आदेश जारी गरेको हो ।

विज्ञापन

अदालतको आदेश अनुसार तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव विकास विश्वकर्मा र सहकारीका सफ्टवर्यर डिजाइनर प्रतिमान पौडेललाई पर्वत जिल्ला अदालतको सोमबारको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ भने सहकारीका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय र सहसचिव ओमकार कर्माचार्यलाई जनही ३० लाख धरौटीमा छुटाउने आदेश जारी गरेको छ ।

उनिहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगि गरेको कसुरमा एकमहिना अघि पर्वत प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको एक महिना पछि पर्वत जिल्ला अदालतले सोमबार उक्त आदेश जारी गरेको हो ।

सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको र पिडित भएको भन्दै कुश्मा नगरपालिका वडा नं. ७ की सकुन्तला कुमारी श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी अनुसन्धानका क्रममा पर्वत प्रहरीले विज्ञ सहितको उपस्थितिमा अनुसन्धान गरेको थियो ।

अनुसन्धान गर्दा सहकारीका अन्य सञ्चालक समितिका पदाधिकारी सहित विभिन्न उप समितिका पदाधिकारी र सदस्य सहित २२ जना विरुद्ध मुद्धा चलाएको थियो । मुद्धा चलाएपनि हाल नियन्त्रणमा लिएका ४ जनाको मात्रै बयान लिएको र सोही आधारमा आदेश जारी भएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगानाले बताउनुभयो ।

श्रेष्तेदार ढुंगानाले सहकारीमा संलग्न अन्य आरोपित व्यक्तिहरुको विषयमा कानूनी प्रक्रिया अघि बढिरहेको बताउनुभयो । तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित अन्य पदाधिकारी तथा सहकारी सञ्चालकहरु हाल सम्पर्कविहिन रहेका छन् ।

पर्वतमा पछिल्लो समय सहकारी संस्था मार्फत आर्थिक अपराध भएको भन्दै प्रहरी समक्ष उजुरी लिएर पुग्ने क्रम बढेको छ । तपाई हाम्रो सहकारी सँगै पर्वतमा ग्रामीण विकास कृषि सहकारी संस्थाको समेत छानबिन भइरहेको छ । ग्रामीण सहकारीका अध्यक्ष लेखनाथ शर्मा सहित अन्य ६ जना सञ्चालकहरु अहिलेपनि पर्वत प्रहरीको हिरासतमा रहेका छन् । उक्त मुद्धा समेत सुनुवाईको क्रममा रहेको छ । स्रोतका अनुसार उक्त मुद्धा उपर समेत मंगलबार पौष १७ गते आदेश जारी हुने बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook