• होमपेज
  • एक्लिएका ओली, दम्भ मन पराएनन् कार्यकर्ताले
Breaking News

एक्लिएका ओली, दम्भ मन पराएनन् कार्यकर्ताले

काठमाडौं । एमालेको कोशी प्रदेश नेतृत्वका लागि भएको चुनाव र प्राप्त परिणामप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तोष व्यक्त गरेका छन्। नवनिर्वाचित प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रममा सहभागी ओलीले चुनावी परिणामप्रति असन्तुष्टि मात्रै व्यक्त गरेनन्, आक्रोश पोखे, घुर्कीयुक्त धम्की दिए र निर्वाचनमा खटिएकाहरुले निश्पक्ष भएर काम नगरेको आरोपसमेत लगाए ।

कोशीको चुनावलाई नजिकबाट नियालेको भन्दै उनले भने– निर्वाचन आयोगको काम जस्तो हुनुपर्थ्या, त्यस्तो भएन । न्यायिक मन नभएका, न्यायमा निष्पक्ष नभएका र न्यायपूर्ण व्यवहार गर्न नसक्ने साथीहरू निर्वाचन आयोगमा नबस्नुपर्थ्यो ।

विज्ञापन

हुनतः कोशीमा अध्यक्ष ओलीकै आशीर्वाद प्राप्त घनश्याम खतिवडाले चुनाव जितेका थिए । गृह प्रदेशमा आफूले साथ दिएका खतिवडाले जति धेरै अन्तरका साथ चुनाव जित्ने उनले अपेक्षा गरेका थिए, परिणाम उल्टो आइदियो ।

कुरा कोशीको मात्रै होइन, अधिवेशन भएका अधिकांश प्रदेशमा ओलीले आशीर्वाद टक्र्याएकाहरु पराजित भएका छन् ।

प्रदेशमध्ये पहिलोचोटि अधिवेशन भएको लुम्बिनीले नै ओलीलाई नराम्ररी झट्का दियो । किनकि यहाँ पार्टी महासचिव शंकर पोखरेलमार्फत ओलीले शिरमा हात राखिदिएका हरि रिजाल २ भोटले पराजित भए ।

पार्टी अध्यक्ष र महासचिवकै साथ पाएका रिजाल राधाकृष्ण कँडेलसँग पराजित भएका हुन् । उनी पार्टी उपाध्यक्ष विष्णु पौडेल समूहबाट अध्यक्ष लडेका थिए ।

लुम्बिनी महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको गृह प्रदेश हो । यसले आफ्नो गृह प्रदेशमै महासचिव पोखरेल समूह कमजोर भएको पुष्टि गरेको छ । र, एमालेमा क्रमशः एन्टी ओली सेन्टिमेन्ट बढेको संकेत गर्छ ।

लुम्बिनीपछि अधिवेशन भएको बागमतीमा ओलीले चाहेका कैलाश ढुंगेल नै अध्यक्षमा चुनिए । तर गण्डकी अधिवेशनले ओलीलाई अर्को झट्का दियो । किनकि यहाँ ओलीसँगै महासचिव पोखरेल, सचिवालय सदस्य पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको लाइनबाट चुनाव लडेका मायानाथ अधिकारी पराजित भए ।

यहाँ अधिकारीलाई पराजित गर्दै उपाध्यक्ष पौडेल लाइनका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका नवराज शर्माको प्यानलले ठूलो मतान्तरसहित जित हात पार्यो ।

त्यस्तै कर्णालीमा पनि उपाध्यक्ष पौडेल समूहका गुलाबजंग शाहको टिमले नै चुनाव जित्यो । अध्यक्ष ओलीको भित्री समर्थनप्राप्त शंकर पोखरेल खेमाका मीनबहादुर शाहीलाई हराउँदै कर्णाली एमालेको अध्यक्षमा शाह विजयी भएका हुन् ।

उपत्यका विशेष कमिटीको अधिवेशन शुक्रबार उद्घाटन भएको छ भने सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन केही दिन बाँकी छ । जहाँ पनि अध्यक्ष ओलीले साथ दिएकाहरुको स्थिति नाजुक देखिएको छ ।

यसरी अधिवेशन सम्पन्न भएका पाँच प्रदेशमध्ये तीनवटामा विष्णु पौडेल समूहका उम्मेदवारले जित हात पारेका छन्। त्यसैले पनि पछिल्लो समय ओली आत्तिएका छन् ।

अझ विष्णु पौडेलसँगै ‘दश बुँदे’वाला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाइनकाहरूसमेत ओलीविरुद्ध एकजुट हुने चर्चा पनि छ । उनीहरुले आगामी अधिवेशनमा भण्डारीलाई अध्यक्षमा अघि सार्ने हल्ला पनि छ । जे होस्– हक्की र अहंकारी नेताको छवि बनाएका ओली पछिल्लो समय एक्लिँदै गएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook