• होमपेज
  • गण्डकीमा यसरी पल्टियो पीएस गुरुङको पक्षमा पासा, शंकर–खगराजको रणनीति फेल !
Breaking News

गण्डकीमा यसरी पल्टियो पीएस गुरुङको पक्षमा पासा, शंकर–खगराजको रणनीति फेल !

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अघि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टले भनेका थिए, ‘सकेसम्म सर्वसम्मत नेतृत्व छान्छौँ । कसैले प्रतिस्पर्धा गर्न चाहन्छ भने लोकतन्त्रको अभ्यास गर्न पार्टीले रोक्दैन । तर प्यानल बनाएर चुनाव लड्ने छुट कसैलाई छैन ।’

तर, गण्डकीमा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन बरु अधिवेशनमा गुट र प्यानल छताछुल्ल हुन पुग्यो । अन्ततः एउटा समूहलाई धेरै पछाडि छाड्दै अर्को समूहले चुनाव जितेको छ । गएराति सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ पाएर चुनाव लडेका नवराज शर्माको प्यानलले लगभग क्लिन स्वीप गरेको छ । शर्मासँग केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी प्रतिस्पर्धामा थिए ।

विज्ञापन

अधिकारीलाई पोलिटब्युरो सदस्य खगराज अधिकारीको साथ पाएका थिए । गण्डकीमा पिएस (पृथ्वी सुब्बा गुरुङ) र केआर (खगराज अधिकारी) को गुटगत प्रतिस्पर्धा नयाँ होइन । तर केही समय अघिसम्म बहुमतमा रहेको भनिएको केआर ग्रुपको मत पिएसतिर ढल्किएको देखिएको छ । त्यसको ठोस प्रमाण पार्टीको प्रदेश अधिवेशनबाट विभक्त भएको मतबाट देखिएको छ ।

शर्माको प्यानलबाट चुनाव लडेका मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी तथा सहसचिवमा दामबहादुर विक र मञ्जु अधिकारी निर्वाचित भए । शर्मा प्यानलका प्रायः उम्मेदवारले ५ सय २५ मत कटाएका छन् ।

अधिकारी प्यानलले ३ सय ६५ हाराहारीको मत पायो । खसेको ८ सय ९६ मत मध्ये शर्माले ५ सय ३१ ल्याए भने अधिकारीले ३ सय ६५ मत पाए । प्रतिशत हेर्दा पिएस–केआरको मत अनुपात ६०–४० कायम भएको छ ।

सदस्यतर्फ सर्वाधिक मत पाएका डा बुद्धिमान श्रेष्ठले ६ सय ९८ मत ल्याए भने सबैभन्दा कम मत ल्याएर विजयी भएका रघुनाथ भण्डारीको ४ सय ६४ मत छ ।

‘केपी पछि हाम्रा बा पिएस हुन्’

मतदानको समय चल्दै गर्दा मतदान स्थल बाहिर र नतिजा आएपछि सभा हलमै युवाहरूले एउटा नारा घन्काए, ‘केपीपछि हाम्रा बा पिएस हुन्’ । धेरै ठूलो असर नगरे पनि यो नारा मतदान स्थलमा लगाउनु चानचुने विषय चाहिँ होइन । पछिल्लो समय गण्डकीमा केआर भन्दा पिएस रुचाउनेहरू बढ्दै गएको एमालेकै नेताहरू बताउँछन् । त्यसको प्रमुख कारण पिएसले परिस्थिति अनुसार निर्णय लिने क्षमता राख्नू नै हो ।

टिकट वितरणदेखि कार्यकर्ता संरक्षण गर्ने कुरामा पिएस माहिर मान्छिन् ।  उनले आफ्नाको संरक्षणसँगै विपक्षीलाई विश्वासमा पार्ने काम गरे । उसो त गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदाताका पिएसको राजनीति झाँगिएको हो । उनका पक्षमा कार्यकर्ताहरू खुल्दै गए र पिएसलाई अभिभावकको रूपमा देख्न थाले । अहिलेको अधिवेशनको नतिजा पिएसको २०७४ देखि २०८९ सम्मको कार्यकाल हो । खासगरी गण्डकीको राजनीति पिएस, केआरसँगै किरण गुरुङ र पद्मा अर्यालको वरिपरि छ ।

एक्लिँदा पनि पिएस बलियो

यो अधिवेशनमा केआर, किरण र पद्मा एक ठाउँमा देखिन्थे भने पिएस लगभग एक्लै थिए । ‘नेताका सङ्ख्या हेर्ने हो भने पिएससँग त कोही थिएन । तर कार्यकर्ताको अपार माया थियो,’ उनी पक्षीय नेताहरू भन्छन्, ‘पिएसको विचार र उनको सादगीपन लोभलाग्दो छ । परिस्थिति हेरेर निर्णय लिन सक्ने, जित्ने मान्छेलाई टिकट दिनुपर्छ भन्ने धारणाले अहिले काम गरेको छ ।’ पिएसको दृढ विचारका कारणले समेत उनीप्रति लोभिनेहरू बढेका थिए ।

केही कार्यकर्ताहरू एमालेमा संस्थापन पक्षलाई पराजित गर्ने संस्कार पहिलेदेखि चल्दै आएकोले अहिले सोही क्रमको निरन्तरता देख्छन् । केही समयअघि एमाले महासचिव शंकर पोखरेलले पिएसलाई एक्ल्याउन प्रयास गरेका चर्चा चलेपछि पिएसप्रति झन् सहानुभूति बढेको बताइन्छ । ‘यो अधिवेशनको नतिजा शंकरप्रतिको प्रहार हो, एक हिसाबले संस्थापनप्रतिकै प्रहार हो,’ एक नेताले भने ।

उसो त मायानाथ अधिकारीलाई जिताउन महासचिव पोखरेल अधिवेशनको बेला ४ दिनसम्म पोखरामै बसेका थिए । उनले एक वर्षअघिदेखि मायानाथको पक्षमा लबिङ गर्दै अध्यक्षको तयारी गर्न आफू निकटका नेता कार्यकर्तालाई आन्तरिक निर्देशन नै दिएका थिए । तर, उनको एक वर्षदेखिको रणनीति अधिवेशन नतिजासँगै असफल सिद्ध भएको छ ।

२०७४ को प्रदेश निर्वाचनपछि मुख्यमन्त्री बन्न चाहन्थे तनहुँका किरण गुरुङ । किरणलाई केआरको साथ त्यति बेला पनि थियो । अहिले केआरलाई किरणले सोही समयको गुन तिर्न सहयोग गरेको एमाले पङ्क्तिले दाबी गर्छ । सचिव पद्मापनि केआर नजिक पुग्नुको खास कारण छ ।

अध्यक्ष उम्मेदवार मायानाथ अधिकारी र सचिव उम्मेदवार रश्मि आचार्य पद्मा निकट मानिन्छन् । त्यसैले पद्माले दुई जनालाई जिताउन आन्तरिक प्रयास धेरै नै गरेकी हुन् । त्यसो त पद्माकै निकटका मीनप्रसाद गुरुङलाई पिएस समूहले उपाध्यक्षमा उठाइदियो । त्यसपछि पद्मा मनोनयन अघि नै पोखरा छोडेर काठमाडौँ लागिन् ।

उनी खुलेर कुनै पनि पक्षमा लागिनन् । उनले त्यस अघिसम्म दुवै पक्षसँग लगातार बैठक राखेकी थिइन् । किरण पनि आन्तरिक लबिङ बाहेक खुलेर कार्यकर्तासँग भोट माग्ने पक्षमा थिएनन् । त्यति मात्रै होइन, गण्डकीको अधिवेशनमा केन्द्रीय नेताहरूको प्रभाव पनि कम थिएन । पिएस समूहलाई विष्णु पौडेलको साथ थियो भने केआर समूहको संरक्षण शंकर पोखरेल थिए ।

केआर समूहको गलत रिपोर्टिङ

प्रारम्भिक नतिजा हेर्दा ८० प्रतिशत भन्दा बढी पदमा पिएस समूहले जितेको छ । मतदान सुरु हुने बेलासम्म पनि दुवै पक्षले आफ्नो जित हुने दाबी गरेका थिए । नतिजासम्म पुग्दा पहिलेको आङ्कलन फेल खायो । केआर ग्रुपका नेता कार्यकर्ताहरू ६० प्रतिशत मत आफूसँग भएको दाबी गर्थे भने पिएस टिम ६५ हाराहारीमा दाबी गर्थे ।

पिएस समूहमा तल्लो तहबाटै सही रिपोर्टिङ भइरहेको थियो भने केआर समूहमा ठिक उल्टो थियो । अनुमानका भरमा जित्ने दाबी केआर समूहको थियो । यसबाट पिएसको जरा तह पनि मजबुत छ भन्ने देखाउँछ । पिएस समूहले पद्मालाई शान्त राख्न अर्को रणनीति अपनायो, मीनप्रसादलाई अघि सारेर । पहिले मोहन रेग्मी उपाध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित थियो । अन्तिममा मोहनलाई हटाएर मीनप्रसादलाई उपाध्यक्षको टिकट दिए । मोहनले उपाध्यक्ष छोडेर उपसचिवमा भाग लिए । उनी निकटका दामबहादुर विकलाई उपसचिवको टिकट दिएपछि मोहन उपाध्यक्षको प्रस्तावक बस्न तयार भए । यसरी पदाधिकारीमा भाग दिएर मोहनलाई थामथुम पारियो ।

केन्द्रीय सदस्यसँग ब्याक फायर

चुनावअघि उम्मेदवारको चर्चा हुँदैमा केन्द्रीय सदस्य तल्लो तहमा झर्न नहुने मत बढ्दै गएको थियो । केआर समूहबाट ४ जना केन्द्रीय सदस्य प्रदेश प्रतिनिधि बनेर आए । मायानाथसँगै गोरखाका रामशरण बस्नेत, कास्कीका कृष्ण थापा र राजीव पहारी । बस्नेत र पहारी गण्डकीमा एमाले सरकार रहुन्जेल पिएस पक्षधर हुन् । सरकार ढलेपछि उनीहरू बिस्तारै केआरतिर ढल्किए । चारै जना केन्द्रीय सदस्यको दाबी प्रदेश अध्यक्षमा थियो । त्यसको ब्याक फायरका रूपमा कार्यकर्ताले पिएसतिर भोट हालिदिए । ‘खासमा केन्द्रिय महाधिवेशनबाट जिम्मेवारी प्राप्त गरेका कम्रेडहरु तल झर्ने कुरा कार्यकर्ताहरूमा रुचिको विषय थिएन । गुटगत चिन्तनले कोही नेता थप नेता बन्ने अभिलाषा राख्दा यो नियति आइपरेको हो,’ एमालेकै युवाहरूले भने, ‘माथि नै अवसर पाइसकेका व्यक्तिलाई तल्ला कमिटीको जिम्मेवारी सुम्पन खोज्नु नेताको भुल थियो भन्ने मत परिणामले पुष्टि गरेको छ ।’ मतदानसम्म खुलेर गुटको प्रचार गरेकाहरू नतिजा आएपछि भने पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यास गरेको तर्क गर्न थालेका छन् ।

अधिवेशनको प्रभाव प्रदेशसम्म

अधिवेशनको बाछिटा अव प्रदेशसभासम्म पुग्ने आङ्कलन गरिएको छ । अहिले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलको नेता खगराज अधिकारी छन् । पिएस पक्षका सांसद बढी भए पनि केपी ओलीको ठाडो आदेशमा अधिकारीलाई दलको नेता बनाइएको गुनासो सुन्ने गरिन्छ । दलको नेता छान्न मतदान भएको भए कास्कीका भीम कार्की वा बागलुङका लीलाबहादुर थापाले उम्मेदवारी दिने निश्चित जस्तै थियो ।

२२ सदस्यीय दलमा १४ जना पिएस र ८ जना मात्रै केआर समूहका सांसद रहेको एमालेकै दाबी छ । अब यो अधिवेशनले पिएस समूहलाई झनै आक्रामक र बलियो बनाएको छ । उनीहरूले दलको नेताको विकल्प खोज्न सक्ने सङ्केत यसले छोडेको छ । एमालेभित्र हक्की स्वभावका गुरुङ कतिपय नाजायज कुरामा अध्यक्ष केपी ओलीको समेत खुलेर आलोचना गर्ने नेताका रूपमा चिनिन्छन् ।

संगठन सुदृढ बनाउन लाग्छुः अधिकारी

यसैबीच अधिवेशनबाट पराजित भएका मायानाथले सबै असमझदारी छोडेर संगठन सुदृढ बनाउन लाग्ने बताएका छन् । ‘४०–४२ वर्षदेखि यही राजनीतिमा छु । अहिले जे भयो ठिक भएन’, उनले प्रतिक्रिया थिए ।  तर परिणाम स्वीकार्नैपर्ने उनको भनाइ छ ।  उनले भने, ‘अब सबै कुरालाई यही अन्त्य गरेर नयाँ शिराबाट अगाडि बढ्नुपर्छ । चुनाव जसले जितेपनि एमालेले नै जितेको छ ।’

रातोपाटिबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook