• होमपेज
  • पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन
गण्डकी प्रदेश

पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन

पर्वत । आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक, कृषक, संघसंस्थाका प्रमुख, विषयविज्ञहरु सहित गाउँपालिकाले सुझाव संकलन गरेको हो । सुझाव दिनेहरुले खास गरि कृषि क्षेत्रको विकासमा जोड दिएका छन् । विहादी गाउँपालिकामा बढ्दो बसाईसराई रोक्न, बाँझो जमिनको उपयोग, सिँचाईको व्यवस्था, पशुपालन, कृषिमा आधुनिक प्रविधिको विकास, शिक्षामा सुधार, खानेपानीको सुविधा, यूवालाई प्रोत्साहन जस्ता विषयमा सुझाव प्राप्त भएको अध्यक्ष गुरुङले बताउनुभयो ।
विहादी ३ का जीवलाल पराजुलीले कृषिको संभावना बढि भएकाले कृषिकै कार्यक्रममा बढि जोड दिन सुझाव दिनुभयो । विहादी ३ रानीपानीका हरि न्यौपानेले जनप्रतिनिधीहरुले जनताका पक्षमा काम गर्न सुझाव दिनुभयो । न्यौपानेले गाउँपालिकाको स्रोत जनताको जीवनस्तर उकास्ने तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । विहादी १ बाच्छाका उमाकान्त बस्नेतले पूर्वाधार विकास भन्दा सामाजिक विकासका काममा बढि कार्यक्रम राख्न माग गर्नुभयो । विहादी २ बर्राचौरका भूपेन्द्रनाथ पौडेल स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । विहादी २ बर्राचौरका विष्णु गिरीले पर्यटनको राम्रो संभावना रहेको र प्राकृतिक स्रोतको उपयोगका बारेमा सोच्नुपर्ने सुझाव दिनुभयो । विहादी ३ रानीपानीका हर्कवहादुर सुनारले विहादीका अधिकाँश नागरिकको आयआर्जन न्यून रहेकाले आयस्तर उकास्ने कार्यक्रम आगामी वर्षको बजेटमा आउनुपर्ने बताउनुभयो ।
स्थानीय बासिन्दाले विहादीमा विकासका पूर्वाधारहरुको विकास भैरहेपनि प्रर्याप्त नरहेकोले आगामी वर्ष पूर्वाधारहरुमा थप कार्यक्रम ल्याएर तिनलाई दिगो बनाउन माग गरेका छन् । यूवाहरु रोजगारी खोज्दै बिदेश पलायन भैरहेको अवस्थामा गाउँमै फर्किएर कुनै पेशा व्यावसाय गरेर गाउँकै विकासमा जोडिने कार्यक्रम लागु गर्न माग गरिएको छ । गाउँमा सडक पूर्वाधारको विकास भैरहँदा कतिपय गाउँमा अझै पनि सहज रुपमा पुग्ने सडक नभएकाले त्यस तर्फ ध्यान दिन पनि माग गरिएको छ । खानेपानीको समस्या सबै वडामा रहेकाले सहज खानेपानीको व्यवस्था गर्ने कार्यक्रम बजेटमा समेट्न माग गरिएको छ । यस्तै विहादीमा दिँईदै आएको पशुपालन र कृषिको अनुदान लाई निरन्तरता दिन माग गरिएको छ । गरिव, विपन्न, दलित, महिलाहरुको लागि विशेष प्याकेजका कार्यक्रमहरु बजेटमा समेट्न पनि माग गरिएको छ । व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिन शिक्षाबिदहरुले माग गरे । स्वास्थ्य चौकीमा औषधी र जनशक्तिको व्यवस्थापनको पनि माग गरिएको छ । कृषकले बाँदर नियन्त्रणको माग गरेका छन् । आर्थिक संकटका कारण साना व्यवसायी, कृषक र सर्वसाधारण समस्यामा परेको भन्दै सहभागिले दिगो आम्दानीका क्षेत्रमा लगानी गर्न पनि माग गरे । आगामी आर्थिक वर्षका लागि असार १० गते गाउँपालिकाले आगामी वर्षका लागि बजेट ल्याउने तयारी गरिरहेको छ ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले समतामुलक, सहभागितामुलक र समानान्तर विकासको अवधारणा सहित आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबैले दिएका सुझाव लाई समेट्ने पनि जनाउनुभयो । बजेट लाई जनमुखी बनाउँदै समृद्ध र विकसित विहादी बनाउने आफूहरुको संकल्प रहेको गुरुङले बताउनुभयो । कार्यक्रममा बोल्दै गुरुङले पारदर्शि तरिकाले बजेटको कार्यान्वयन गर्ने र बजेटको दुरुपयोग नहुने कुरामा सचेत रहेको बताउनुभयो । सबैका सुझाव बजेटमा पर्ने कुरामा ढुक्क हुन पनि उहाँले आग्रह गर्नुभयो ।
उपाध्यक्ष मिना शर्मा तिवारीले बजेटमा समेट्ने विषय स्थानीय बासिन्दाकै सल्लाहमा तय गरिने उदेश्यले सुझाव संकलन गरिएको बताउनुभयो । तिवारीले बजेटले विहादीका सबै क्षेत्र लाई समेट्ने बारेमा ढुक्क हुन अनुरोध गर्नुभयो । प्राप्त सुझावहरु लाई बजेटमा लिपिबद्ध गरिने उहाँले बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष कमलप्रसाद भुसाल सहित नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सहसचिव तिलक भुसाल, नेकपा एमालेका प्रदेश सदस्य अनिल मास्के, एमालेकै ओमवहादुर कुँवर, नेकपा माओबादीका हरिप्रसाद पौडेल, जनमोर्चाका गोबिन्द प्रसाद पौडेल, नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य गोबिन्दप्रसाद पराजुली लगायतले सुझाव राख्नुभयो । भेलामा सहभागि भएका एकसय ५० जनाले सुझाव दिएका छन् । प्रमुख प्रसासकीय अधिकृत रामप्रसाद शर्माले सबैका सुझावलाई समेटेर बजेट बनाउँदा प्रभावकारी हुने भएकाले वृहत रुपमा सुझाव संकलन गरि त्यसै अनुरुपको बजेट बनाउन खोजिएको बताउनुभयो । विहादी जस्तै अन्य पालिकाले पनि विभिन्न माध्यमबाट सुझाव संकलन गर्ने काम अगाडी बढाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook