• होमपेज
  • शहरियाको रोजाईमा गाउँको विद्यालय
Breaking News

शहरियाको रोजाईमा गाउँको विद्यालय

नारायण रिजाल, बागलुङ । सुविधा सम्पन्न विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनका निम्ती गाउँबाट सहर पस्ने चलन नियमित नै छ । चर्को शुल्क तिरेर सकि नसकि आफ्ना बालबालिकालाई पढाउन जुन सुकै अभिभावक पनि पछि पर्दैनन् । बालबालिका नै पढाउने निउमा सहर केन्द्रीत हुने अभिभावक पनि धेरै छन । सुन्दा अपत्यारिलो पनि लाग्ने हुन सक्छ तर यहाँका शहरिया विद्यार्थीले भने गाउँको विद्यालय रोजेका छन । गाउँबाट निजी विद्यालय खोज्नका लागि शहर पस्नेको लहर सँगै शहरबाट सामुदायिक विद्यालय खोज्दै गाउँ पस्ने विद्यार्थी पनि धेरै छन । दैनिक यात्रामा भाडा तिरेर र पैदल हिँडेर आउने विद्यार्थीको लर्को नै लागेको छ । घर नजिकै धेरै स्कुल भए पनि जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको गणेश माध्यामिक विद्यालय सवैको रोजाईको विद्यालय बनेको छ ।
सामुदायिक विद्यालय भए पनि विद्यार्थीको आकर्षण देख्दा यसले कुनै नाम चलेको निजी स्कुलको झल्को दिन्छ । यस विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटबल सँगै सुदरपश्चिमको अछाम  घर भएका विद्यार्थी पनि अध्ययनरत छन् । यस विद्यालयमा झण्डै एक सयको हाराहारीमा विद्यार्थीहरू अन्यत्रबाट अध्ययनका लागि आउने गरेको विद्यालका प्रध्यानध्यापक एकनाथ रिजाल बताउँछन ।
विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण समरमुकामै थुप्रै संस्थागत र सामुदायिक विद्यालय छाडेर यहाँ आउने गरेको रिजालको भनाई छ । ‘पर्वतको कुश्माबाट मासिक रूपमा यान्त्रिक पुलमा मात्र दुई हजारको हाराहारीमा भाडा तिरेर विद्यार्थी दैनिक आउने गर्दछन । प्रध्यानाध्यापक रिजालले भने,–‘आधा घन्टाको दूरीमा पैदल हिँडेर विद्यार्थीहरू पढ्न आउने गरेका छन्,’ विद्यालय बस पनि छ छिमेकी पालिका र वडाका विद्यार्थीका लागि बसले ल्याउने लजाने गर्छ केही स्थानबाट दैनिक गाडी भाडा तिरेरै आउने गर्दछन । विद्यालय प्रतिको विश्वासले अभिभावकले आफ्ना बालबालिका हामीकहाँ पठाउने गरेका छन् ।’
गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित
विद्यालयमा जिल्ला र जिल्लाभित्रका गलकोट, बरेङ, जैमिनी लगायतका स्थानबाट यहाँ आएर विद्यालयको होस्टेल, आफन्तको घर र गाउँमा कोठाभाडामा लिएर बस्ने÷पढ्नेको संख्या पनि ठुलो रहेको रिजाल बताउँछन ।  सुलभ सशुल्कमा सञ्चालित विद्यालयको होस्टेलमा दिवा र रात्रि गरी अहिले ६० जना विद्यार्थी छन् ।
विद्यार्थीमैत्री शिक्षण सिकाइ, अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्यास सहित पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित छ । २०३७ सालमा स्थापना भएको यस विद्यालयमा २०६५ सालदेखि अंग्रेजी माध्यम र कक्षा ४ देखि १० सम्म कम्प्युटरका कक्षा सञ्चालन गरिएको छ । हाल ८ सय २ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ । विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट टिभी र ल्याबटपबाट अध्यापन गराइन्छ ।  विद्यालयमा भर्ना अभियान संचालन भए सँगै यस वर्ष मात्र ८० जना विद्यार्थी थप भएको विद्यालयका प्रध्यानाध्यापक रिजालले बताए ।

बाह्रै महिना कक्षा संचालन
‘हाम्रो विद्यालयको अन्य फरक विशेषता भनेको नैतिकता, अनुशासन, स्थानीय सामाजिक संस्कार सहितको व्यावहारिक शिक्षा पनि हो,’ प्रअ रिजाल भन्छन् –‘कुनै पनि बन्दका बेला विद्यालय बन्द हुँदैन, हामीले बाह्रै महिना नै विद्यालय संचालन गछौं । सार्वजनिक विदा र अन्य विदाको समयमा पनि पढाइलाई जोड दिने गरेको छौ ।’
विद्यार्थीको चाप सँगै गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ती हरेक कक्षामा दुई वटा सेक्सन विभाजन गरिएको छ । २०६५ सालदेखि एसएलसी परीक्षा दिन सुरु गरेको गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । ग्रेडिङ सिस्टम लागू गरेपछि पनि विद्यालयमा एसईइको नतिजा उत्कृष्ट आएको उनको भनाई छ ।
विद्यालयले ‘युग सुहाउँदो संकार युक्त गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने नारा सहित अगाडी बढेको छ । विद्यालयमा विद्यार्थीको गतिविधि निगरानी गर्न सीसी क्यामरा जोडिएको छ भने बिहान विद्यार्थी लाइनमा बस्दा दैनिक रूपमा सामान्य ज्ञानसम्बन्धी प्रश्न सोध्ने र पुरस्कृत गर्ने गरिएको छ । गणेश माविले उत्कृष्टता प्रदर्शन गरेपछि त्यस क्षेत्र आसपासमा रहेको वरिपरिका विद्यालयलाई पनि जबर्जस्त शैक्षिक गुणस्तर सुधार गर्न समेत दबाब पुगेको छ ।
निजी श्रोतबाट मात्र ३१ जना शिक्षक व्यवस्थापन
यस विद्यालयमा हाल ५२ जना शिक्षक र कर्मचारी कार्यरत रहेका छन ।  निजी श्रोतबाट मात्रै ३१ जना शिक्षकहरु कार्यरत रहेको यस विद्यालयमा माध्यामिक तह दरबन्दीमा ३ जना आधारभुत तहमा ४ जना प्रावि तहमा १० जना शिक्षकको दरबन्दी रहेको छ । त्यसैगरी विद्यालयमा १ जना विद्यालय नर्स, २ जना बाल शिक्षा सहजकर्ता र २ जना कर्मचारी रहेका छन ।
सुरुमा विद्यालय पुग्ने सबैलाई लाग्छ, यति ठूलो संख्यामा रहेका शिक्षकको तलब व्यवस्थापन स्थानीय स्तरमा कसरी गरिए होला तर यहाँको समुदाय विद्यालयको गुणस्तरीय शिक्षाका लागि अहोरात्र खटने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द ढकाल बताउँछन । विद्यालय संचालनकै निम्ती २०७२ सालमा महायज्ञ संचालन गरियो । महायज्ञबाट तिन करोड ५० लाख रुपैयाँ बोलकबोल भए पनि हाल २ करोड रुपैयाँ उठेको हुँदा त्यही नै विद्यालय संचालन गर्ने दिगो कोष भएको अध्यक्ष ढकाल बताउँछन । ‘महायज्ञमा संकलित रकमलाई अक्षयकोषको रुपमा राखेका छौं त्यसको व्याजबाट नै विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षक कर्मचारी धानेका छौं्, विव्यस अध्यक्ष ढकाल भन्छन–‘विद्यार्थी यहाँ पढाउँदै गर्दा केही अभिभावकहरुले स्वत स्फुर्त रुपमा सहयोग गर्दै आउनुभएको छ । गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि हामीले होष्टल समेत निःशुल्क गरेका छौं यसै गरी अहिले सम्म विद्यालय धानिएको छ । ’  शिक्षक र अभिभावकले चाहे हरविषय सम्भव हुने ढकाल बताउँछन  ।’
विद्यालयका कारण बसाईसराई रोकिएको छ
विद्यालयको शैक्षिक गुणस्तर कायम राख्दै समय सापेक्ष, व्यावसायिक, सीपमूलक, व्यावहारिक प्रविधियुक्त शिक्षा प्रदान गर्न राज्यले दिएको जनशक्ति अपुग भएपछि स्थानीय सामाजिक अगुवा र अभिभावकको साथ सहयोगमा विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एव अभिभावक नारायण श्रेष्ठ बताउँछन्  ।  धेरै अभिभावकले निजी स्कुल खोज्दै छोरा छोरीलाई बागलुङ र पर्वत सदरमुकाम लैजान सुरु गर्नुभएको थियो, विदेशमा रहेका दाजुभाइका परिवार सहर झर्ने र गाउँ रित्तिने क्रम बढ्न थालेको थियो । तर अहिले गणेश माविले यो प्रवृत्तिलाई थोरै भने पनि कम गरेको छ; श्रेष्ठ भन्छन्, ‘स्थानीय स्तरमै गुणस्तरीय शिक्षा आर्जनको वातावरण तयार गरेपछि बोर्डिङ लगिएका दर्जनौं विद्यार्थी फर्किएका छन्, गाउँबाट अन्यत्र हुने बसाईसराई पनि रोकिएको छ,  म जस्ता थुप्रै अभिभावक पनि सन्तुष्ट छौं ।’ विद्यालयको दिगो आम्दानीको स्रोत नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन बेलाबेला समस्या देखिएको  श्रेष्ठको भनाई छ ।
मासिक पारिश्रमिक मात्र ८ लाख रुपैयाँ खर्च हुन्छ
सामुदायिक विद्यालयमा यति ठूलो संख्यामा निजी स्रोतका शिक्षक राखेर पठनपाठन गर्नु धेरै चुनौतीको कुरा भएको विद्यालयका प्रअ रिजाल बताउँछन । ‘निजी स्रोतका शिक्षकको मासिक तलबमात्रै अहिले ८ लाखभन्दा बढी लाग्ने गरेको छ, हामीले अभिभावकको सक्रिय साथमा जोहो गरेर चुनौतीलाई अवसरमा बदल्न सफल भएका छांै ।’ उनले भने,‘ अभिभावकको चासो, समुदायको माया र शिक्षकहरूको अतुलनीय योगदानका कारण सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुन्छ भन्ने परम्परागत सोच र मान्यतालाई बदल्न आफूहरू सफल भएका उनिहरुको दाबी छ । विद्यालयको गुणस्तर सुधार र चर्चा सँगै देशभरका विभिन्न विद्यालयबाट पनि विद्यार्थीहरु घुम्न र बुझन आउने गरेको रिजालले बताए । गणेश माविले नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने पुरस्कार अन्तर्गत क्षेत्रीय पुरस्कार २०७२ स्वरूप एक लाख नगद प्राप्त गरिसकेको छ ।
समुदायले चाहे जे हरके कुरा सम्भवन छ –नगरप्रमुख श्रेष्ठ 
विद्यालयले गुणस्तरीय शिक्षाका लागि गरेको विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप, प्रयास र अभ्यास अनुकरणीय भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । श्रेष्ठले सहरी क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बेला गाउँको विद्यालयमा सवैको रोजाईमा पर्नु विद्यालयको शैक्षिक गुणस्तरकै कारण भएको बताए । ‘गुणस्तरीय शिक्षाका लागि सधैं राज्यको मुख ताक्ने प्रवृत्तिका विरुद्ध यो राम्रो पहल र सन्देश हो श्रेष्ठ भन्छन्, ‘यस्तो प्रयास र सोच अन्य विद्यालयमा पनि आउनुपर्छ, समुदायले चाहे जे पनि हुन्छ, सामुदायिक विद्यालयले पनि गाउँमै धेरै राम्रो गर्न सक्छन् भन्ने देखाउनुपर्छ ।’ उनले नगरक्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ती यस वर्ष देखी फरक रणनितिका साथ अगाडी बढ्को बताए । जिल्लामा यो सँगै सदरमुकामा रहेको विद्यामन्दिर मावि, बानपा १३ पैयुँपाटामा रहेको जनमत मावि, बडिगाड गाउँपालिकामा रहेको त्रिभुवन मावि गलकोटमा रहेको गलकोट मावि लगायतका विद्यालय धेरै विद्यार्थी र अभिभावकको रोजाईमा परेका छन ।  Peoplekhabar.com

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook