• होमपेज
  • आईसीसी लिग–२ : नेपाल चारै खेलका विजयी
Breaking News

आईसीसी लिग–२ : नेपाल चारै खेलका विजयी

काठमाडौं। कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलका जित निकालेको छ ।


त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौंथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।

विज्ञापन

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो ।जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि रोहित पौडेलले अविजित सर्वाधिक ९५ रन बनाउनुभयो । उहाँले १०१ बलमा  सात चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

करण केसीले अविजित ३१ रन बनाउनुभयो । करणले ३७ बलमा दुई चौका एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिष शेखले १२ रन बनाउनुभयो ।

बलिङमा स्कटल्यान्डका मार्क वार्टले तीन विकेट लिनुभयो । चरिस ग्रेभ्सले दुई, ब्राण्डन म्याक्लुअन, सफायन सरिफ, माईकल लास्कले एक-एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो ।

मंगलबारनै जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभएको हो । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो ।


यो खेलसँगै करणले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । नेपालका लागि यसअघि सन्दीप र सोमपाल कामीले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । सिरिजमा स्कटल्यान्डले दुई खेल जित्यो भने नामिबिया चारवटै खेलमा पराजित भयो ।

लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्डले अन्तिम खेलमा हार खेपेको हो । लिगका सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्क जोड्दै शीर्षस्थानमा छ ।

लिगको च्याम्पियन स्कटल्यान्डलाई आईसीसीले मंगलबारनै च्याम्पियन ट्रफी प्रदान गरेको छ । २८ खेलमा २६ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ । ३४ खेलबाट ३७ अंक बनाएको नामिबिया तेस्रो स्थानमा छ ।

नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook