• होमपेज
  • गुल्मी-२ : विष्टभन्दा झाँक्री बलियो (यस्तो छ अंकगणित)
Breaking News

गुल्मी-२ : विष्टभन्दा झाँक्री बलियो (यस्तो छ अंकगणित)

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचन केही रोचक र कतै घोचक बन्दैछ । देशको प्रमुख दलमध्ये नेकपा एमालेले विभाजनपछि पहिलो पटक प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन हुँदैछ ।

मंसिर ४ गते हुने निर्वाचनमा विभिन्न जिल्लामा सहकर्मीबीच नै प्रतिस्पर्धा हुँदैछ । जसलाई रोचक प्रतिस्पर्धा भनिँदै आएको हो । यस्तै, रोचक प्रतिस्पर्धा हुने क्षेत्रमध्ये एक हो गुल्मी–२ ।

विज्ञापन

गुल्मी–२ मा एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ । पूर्वसहकर्मीबीचको यो प्रतिस्पर्धालाई राजनीतिक विश्लेषकहरुले समेत रोचकरुपमा लिएका छन् ।

यसअघिसम्म गुल्मी–२ लाई एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिन्थ्यो । २०५६, ०७० र ०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता गोकर्ण विष्ट विजयी भएका थिए । तर, अहिले त्यो अवस्था छैन । समय बदलिएको छ ।

समग्र मतलाई आधार मान्ने हो भने गुल्मी–२ मा अहिले पनि एमाले बलियो देखिएपनि स्थानीय तहको चुनावमा जितको आधार हेर्ने हो भने झस्कनुपर्ने अवस्था छ । यो निर्वाचन क्षेत्रमा पर्ने ५ वटै स्थानीय तहको प्रमुख वा अध्यक्षमा एमाले पराजित बनेको छ ।
त्यस्तै यो स्थानीय तहभित्रका ४३ वडामध्ये जम्मा १७ वटामा एमालेका वडाध्यक्ष विजयी भएका थिए । बाँकी २६ वटामध्ये २५ मा कांग्रेस र एउटामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।

तर, वडाध्यक्षमा आएको मतलाई आधार मान्ने हो भने एमाले १ हजार ७ सय २ मतले अघि रहेको छ । तर, २०७४ कै स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने एमाले कांग्रेसभन्दा ५ हजार १ सय ४१ मतले पछि थियो ।

तर, २०७४ को प्रतिनिधिसभा सदस्यको मतलाई हेर्ने हो भने कांग्रेसका चन्द्रबहादुर केसीलाई १४ हजार ४ सय १६ मतले पछि पारेर विष्ट विजयी भएका थिए । कांग्रेस उम्मेदवार केसीले २० हजार मत ल्याउँदा विष्टले ३४ हजार बढी मत ल्याएका थिए ।

तर, यसलाई दुई तरिकाले विश्लेषण गर्न सकिन्छ । पहिलो, स्थानीय तहको निर्वाचनको आएको मतलाई आधार मान्दा विष्टलाई व्यक्तिगत मत बढी आएको देखिन्छ । दोस्रो, ०७४ को तुलनामा अहिले प्रतिस्पर्धी पार्टीको मत बढेको छ । तर, २०७४ मा विष्टलाई आएको मत माओवादी केन्द्रको पनि हो । जो अहिले विष्टको विपक्षमा छ ।

गत स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा भने एमाले केही अगाडि छ । स्थानीय तहमा एमालेले ३१ हजार ५२३ मत पाएको थियो भने नेपाली कांग्रेसले २९ हजार ८२१, माओवादीले १८४१ र एकीकृत समाजवादीले ६५८ मत पाएको थियो । साथै, अन्य मत ९७९ रहेको छ ।

यसरी वडाध्यक्षको मतको आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो रहेको छ भने अन्य पार्टीको मत खाश देखिँदैन । तर, गठबन्धनका मुख्य पार्टीको मत हेरियो भने एमालेभन्दा गठबन्धन बलियो छ । समग्र गठबन्धनका ३२ हजार ४२७ मत रहेको छ भने एमालेको ३१ हजार ५२३ मत रहेको छ । जसमा ९०४ मत अन्तर छ ।

साथै, गठबन्धनका नेताहरूले स्थानीय तहको चुनावमा भएको तालमेलको कारण एमालेको बढी मत देखिएपनि गठबन्धन गर्दा मत अन्तर बढी रहेको दावी गर्दै आएका छन् ।

पाँच वटा स्थानीय तहमध्ये धुर्कोट गाउँपालिकामा माओवादीले पालिका अध्यक्ष र एमालेले सबै वडाध्यक्ष उठाएको कारण त्यहाँ गएको करिब २ हजार भोट माओवादीको भएको माओवादी नेताहरुको दावी छ । यसो हुँदा मतान्तर करिब ३ हजार हुने गठबन्धनको तर्क रहेको छ ।

विगतकै प्रभावलाई हेर्ने हो भने पनि गोकर्णलाई चुनाव जित्न यस पटक सहज छैन । लगातार तीन पटक चुवाव जितेर ह्याट्रिक गरेका विष्टलाई यस पटक आफ्नै सहकर्मी चुनौती बनेका छन् । एक किसिमले भन्ने हो भने एमाले विभाजनको असर गोकर्ण विष्टलाई परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook