• होमपेज
  • ‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’
गण्डकी प्रदेश

‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’

पर्वत । गाउँ गाउँमा यति बेला उम्मेदवारले घरदैलो अभियान गरिरहेका छन्। मतदाता भेट्ने, आफ्नो चुनाव चिन्ह चिनाउने उनीहरूको अहिले दिनचर्या हो। सकेसम्म कुनै पनि घर नछुटाउने उनीहरूको प्रयत्न देखिन्छ। आफ्नो जित निकाल्न मतदाताका समस्या सुन्ने र समाधानका उपायसहित आगामी पाँच वर्षमा काम गर्ने आफ्नो योजना सुनाउने गरिरहेका हुन्छन्।

उम्मेदवरले कुन क्षेत्रका मतदातालाई कहिले भेट्ने ? चुनावी तालिका बनाएका छन्। सोही तालिका अनुसार आफ्ना स्थानीय कमिटी र कार्यकर्ताहरूलाई सूचित गरिन्छ। पूर्वनिर्धारित तालिका अनुसार उम्मेदवार आफ्नो मिसनमा निस्किन्छन्। चुनावी वातावरण बुझ्न हामी पनि उम्मेदवरलाई पच्छाउँदै पर्वतको कुस्मा बजारमा आइपुगेका छौं। पूर्वनिर्धारित चुनावी तालिका अनुसार प्रतिनिधिसभाका उम्मेदवार अर्जुन प्रसाद जोशी, प्रदेशसभा क्षेत्र क का उम्मेदवार सुदिप कँवर साथमा गठबन्धनमा रहेका दलका समानुपातिक उम्मेदवार बाजुङका मतदातासँग भेटघाट गर्न निस्कने तरखर गर्दै छन्।

विज्ञापन

केहिबेरमा नेता कार्यकर्ता जम्मा भएपछि चुनावी घरदैलो अभियानको लागि उम्मेदवारको टोली अघि बढ्यो। करिब पौने घण्टाको यात्रापछि बाजुङको क्षेत्रमा आइपुगियो। यहाँका केही स्थानीय कार्यकर्ताले उम्मेदवरलाई फुलमाला लगाएर स्वागत गरे। अनि सुरु भयो चुनावी घरदैलो कार्यक्रम। उम्मेदवारहरू नमस्कार गर्दै आफूलाई भोट गर्न आग्रह गर्दथे। मतदाताहरू मुस्कानका साथ स्वीकृति भाव जनाउँदथे। बहुत थोरै व्यक्तिहरू मात्र उम्मेदवारसँग सामान्य कुराहरू गर्थे। केहीले व्यक्तिगत समस्या सुनाउँथे त केहीले गाउँको सुविधाका लागि कुरा राख्दथे। जसमा सबैभन्दा धेरैको गुनासो सडकसँग सम्बन्धित छन्। राम्रो सडक नहुँदा हरेक दिन कठिनाइ भोगिरहेका छन्।

बाजुङका एक मतदाताले भने,कहिले दायाँ कहिले बायाँ गर्न भएन। राम्रो सडक नहुँदा दैनिक कठिनाइ भोगिरहेका छौं। यो सडकलाई कालोपत्रे गरिदिन र्पयो। घरदैलो कार्यक्रममा जाँदा उम्मेदवार आफैले सडकको अफ्ठेरोबारे महसुस गरिसकेका थिए। कच्ची सडक छ। बाटोमा खाल्टाखुल्टी छन्। गाडिले यात्रुलाई धेरै हल्लाउने र उफार्ने गर्छ। बोलेरो र स्कार्पियो बाहेकका सवारीसाधन चलाउन सकिने अवस्था छैन। यसमा पनि फोर ह्विलर गाडी हुनपर्छ। गाडीको डिफेन्सल ठोकिने, गाडी कोरिने र च्यामबर फुट्ला भन्ने डर मनमा रहिरहने सवारी चालक बताउँछन्।

चुनावी घरदैलोकै क्रममा एक महिलाले चर्को स्वरमा भनिन्, भोट माग्न मात्र आउनुहुन्छ। चुनाव सकिएपछि हराउनुहुन्छ। कम्तीमा एक काम त गर्नुपर्छ नि१ यस्तो सडक छ। हिँडडुल गर्न कति गाह्रो छ। आज त देख्नु भयो होला नि ? उम्मेदवारले पनि उक्त कुरा स्वीकार गरे। विगतका गल्ती सच्याउने र यस क्षेत्रको विकाशका लागि आफू निरन्तर लागिरहने जवाफ फर्काए। अब नागरिकका सुख दुखमा आफूहरू साथमा रहने प्रतिबद्धता गरे।

प्रदेशसभा सदस्यका उम्मेदवार कुँवरले नेकपा एमालेले पर्वतको नेतृत्व गरिरहँदा विकासका गतिविधि कम्जोर बनेको बताए। उनले गठबन्धनको नयाँ सरकार बनेसँगै विकासका गतिविधि अघि बढेको बताए। पूर्वाधार विकास र रोजगारी सृजना गर्ने जिम्मेवारी लिन पाँच दलीय गठबन्धन चुनावमा होमिएको उनको भनाई छ। कुँवरले गठबन्धनमा देखिएका अन्तर्विरोधलाई सकारात्मक ढंगबाट चिर्न आवश्यक रहेको बताए।

घरदैलो अभियानकै क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले गाउँ गाउँमा सडक पुर्‍याउन आफूले ठूलो भूमिका निर्वाह गरेको स्मरण गराए। तर, गत निर्वाचनमा आफू पराजित भएपछि विकासका काम रोकिएको उनको दाबी छ। अहिले गठबन्धनका उम्मेदवारलाई विजयी गराए गत पाँच वर्षको जस्तो पछुताउन नपर्ने उनले प्रतिबद्धता जनाए। जोशीले भने,गठबन्धनलाई जिताउनुहोस्। तपाईंलाई पछुतो हुने छैन। तपाईंको सिर माथि हुने गरी काम गर्छौं। यो विश्वास दिलाउन चाहन्छौं।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook