• होमपेज
  • सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ
खेलकुद

सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ

राजाराम पौडेल : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् ।

खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे । ‘सबैजना मिलेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता सफल पारौं, गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरिसकेको छैन यसको लागि भोली नै अर्थमन्त्रीलाई भेट्छु’ मन्त्री गुरुङले भने । एक दुई दिनमा बजेटको सुनिश्चितता हुने उनको विश्वास थियो ।

विज्ञापन

नवौं राष्ट्रि खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको एकदिने अभिमुखिकरण तालिममा गण्डकी प्रदेशका जिल्ला तथा प्रदेश स्तरिय खेल संघ तथा क्रियाशिल क्लबका पदाधिकारी गरेर झण्डै १ सय जनाको सहभागीता रहेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले बताए ।

खेलसंघ तथा क्लबलाई संस्थागत रुपमा अगाडि बढाउन सहजता प्रदान गर्ने हेतुले कार्यक्रम गरिएको उनले खुलाए । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई लक्षित गरेरै कार्यक्रम गरेका हौं, अभिमुखिकरण तालिम पश्चात खेल संघ तथा क्लबहरुलाई संस्थागत रुपमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सघाउनेछ’ सदस्यसचिव गुरुङले भने । तालिममा सहभागीलाई सहजिकरण गर्दे उनले प्रदेश खेलकुद परिषदको योजनाको बारेमा प्रष्ट पारेका थिए ।

खेलकुदको विकास सम्बन्धमा गण्डकी प्रदेश सरकारको नीतिगत व्यवस्था, तयारी अवधारणाको बारेमा नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले सबैलाई जानकारी गराए । उनले अभिमुखिकरण कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।

नेतृत्व अभिमुखीकरण सम्बन्धमा नेपाल ओलम्पिक कमिटिको साइकोलोजी विभाग प्रमुख इन्द्रबहादुर गुरुङ र ओलम्पिक मुभमेन्टको बारेमा नेपाल ओलम्पिक एकेडेमीका निर्देशक रविराज कर्निकारले प्रकाश पारे ।

यसैगरी खेल संघ तथा क्लबले राख्ने लेखा प्रणाली र लेखा व्यवस्थापनको बारेमा प्रदेश खेलकुद परिषदका लेखापाल निलकण्ठ ढकालले जानकारी गराएका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलकुद भएको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकोले यसलाई गण्डकी प्रदेशका खेलसंघ तथा क्लबले चासोको रुपमा हेरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook