• होमपेज
  • एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?
Breaking News

एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?

सरकारले आइतबार अमेरिकी सहयोग परियोजना संसदमा टेबुल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरुको विरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता पेस गरेका थिए । यसबारे विभिन्न दलका विभिन्न नेताका फरक–फरक प्रतिक्रिया आएका छन् । नेपाली कांग्रेस एमसिसीको पक्षमा एक ढिक्का छ । तर, अन्य दलमा मत विभाजित छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताए । उनले सरकार अब जे पनि हुनसक्ने बताए । अध्यक्ष नेपालले भने, ‘एमसिसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । अब सरकार जे हुन्छ हुन्छ ।’

विज्ञापन

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीय ऐन नै नबनाई संविधान मिचेर जबर्जस्ती एमसिसी संसदमा टेबुल गर्नु संविधानविरोधी भएको दावी गरे । सरकारमा रहेका दलहरुको असहमतिमा संसदमा एमसिसी टेबुल गरिनु संविधानलाई मिच्ने काम भएको उनले बताए ।

प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूची समेत ल्याउन नमिल्ने भन्दै सांसद खनालले सरकारले राष्ट्रियता र स्वाधिनताको दीर्घकालीन कुरालाई संसद अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताए । आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसिसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै उनले अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको बताए ।

तर, सोही पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसिसी पेस हुन दिएको दाबी गरेकी छिन् । एमसिसीको बारेमा संसदमा विस्तृत छलफल गरेर निस्कर्ष निकालिने उनले बताइन् ।

त्यस्तै, नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसिसी एमालेको विरोधकाबीच संसदमा पेस भए पनि यस्तो बेला पेस भएको विधेयक वा सम्झौता पेस नभएसरह भएको दाबी गरे ।  एमालेले यसमा कुनै पनि अवस्थामा सहमति जनाउन नसक्ने पनि उनले स्पष्ट पारे ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाबका कारण नभई एमसिसी नेपालको आवश्यक छ छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए । एमसिसी षड्यन्त्रपूर्वक संसदमा पेस गरिएको र यसको हिसाबकिताब इतिहासले गर्ने उनले बताए । सांसद अधिकारीले एमसिसी संसदमा पेस गर्नेहरु अपराधी भएकोले उनीहरुलाई कठघरामा उभ्याउनुपर्ने बताए ।

नेकपा (एमाले)का अर्का सांसद डा. भीम रावलले सत्तारुढ दलहरुको बीचमा सहमति नभई एमसिसी संसदमा पेस गर्नु नेपालको स्वाधीनतामाथिको बज्रपात भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद रावलले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दलको विरोधका बीचमा एमसिसी टेबुल गरिनु नेपालको कानुन, संविधान, नेपालको स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको स्वाभिमानमाथिको ठूलो आघात भएको बताए । सांसद रावलले सरकारको यो प्रयास अलोकतान्त्रिक, गैरकानुनी भएको भन्दै सरकारले नेपाली जनताको आवाजलाई कुल्चिने दुष्प्रयास गरेको आरोप लगाए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सडकमा भइरहेका प्रतिक्रियाहरुको जवाफ दिन एमसिसी संसदमा पेस गरेको बताए । आजबाट संसदमा एमसिसी पेस भएको र आजबाट नै छलफल सुरु भएको पनि उनले बताए । संसदमा छलफल भएपछि एमसिसीको निस्कर्ष निस्कने उनले बताए ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भीम रावल, देव गुरुङ र झलनाथ खनालले एमसिसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न नमिल्ने टिप्पणी गरे । एमसिसी राष्ट्रघाती हो भन्नेहरुले पार्टीका प्रमुख नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सदनमा राष्ट्रघाती मुर्दावाद भन्ने हैसियत राख्न सक्नुपर्ने बताए ।

सांसद थापाले एमालेको अवरोधबीच एमसिसी संसदमा छलफल हुन्छ वा हुँदैन भन्ने कुराको शंका आजबाट सकिएको समेत बताए । अबका दिनमा नाराबाजीकै बीचमा एमसिसीबारे छलफल हुने पनि उनले बताए ।

सांसद थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अब पनि दोहोरो चरित्र देखाउन नमिल्ने बताए । पक्ष वा विपक्ष के कुरामा मत हाल्ने हो, त्योबारेमा आफ्नो पार्टीको स्पष्ट धारणा निकाल्नुपर्ने उनले बताए । सांसद थापाले संसदमा एमसिसी पेस भएको र यसलाई संशोधन गर्ने विकल्पसहित अघि बढ्न सकिने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook