• होमपेज
  • एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे पार्टी, ‘अपमानित भएर एमालेमा बस्न सक्दिनँ’
Breaking News

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे पार्टी, ‘अपमानित भएर एमालेमा बस्न सक्दिनँ’

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले पार्टी त्यागेको घोषणा गरेका छन्। गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टीभित्र समान्तवादी सोच मौलाउँदै गएको दाबी गर्दै आफूले पार्टी छाडेको उनले उल्लेख गरेका छन्। ‘पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकडी, चाप्लुसी र व्यक्तिवादी प्रवृत्ति, नातावादजस्ता क्रियाकलप पछिल्लो दिनमा नेकपा एमालेभित्र मौलाउँदै गएको छ,’ क्षेत्रीले भनेका छन्, ‘यो सबैबाट आजदेखि मुक्त भएको घोषणा गर्दै गर्दा मलाई खुसी लागेको छ।’

विज्ञापन

एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदका दाबेदार रहेका उनले अध्यक्ष छनोट गर्दा आफूसँग छलफल नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन्।

‘नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको सन्दर्भमासमेत मैले अध्यक्ष पदमा उमेदवारी दिएको थिएँ। अध्यक्ष मण्डलले सर्वसम्मत बनाउन प्रायस गरेपछि मैले सर्वसहमतिमा बाधक नबन्ने निर्णय गरे तर मैले अध्यक्ष पद छाड्दै गर्दा अध्यक्ष मण्डलका कुनै पनि नेताहरूले जिल्ला नेतृत्वको विषयमा छलफल समेत भएन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘म बलेफी गाउँपालिकाको पार्टीको इञ्चार्ज भएपनि मसँग कुनै सरसल्ला नगरेर एकलौटी रूपमा जिल्ला सदस्यहरूको नाम फाइनल गरियो। बलेफी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गराउँदासमेत पार्टीलाई सधै चुनावमा जिताउन महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रका नेताहरू माथी गम्भीर अन्याय भएको छ। म आफै इञ्चार्ज भएपनि यो सबै टुलुटुलु हेर्न बाध्य भए।’

पार्टीको सपथ ग्रहणमा आफूलाई केन्द्रीय सदस्य सरेश नेपालले अपमानित गरेको आरोपसमेत उनले लगाएका छन्। ‘पार्टीको सपथ ग्रहण कार्यक्रममा समेत एमालेका केन्द्रीय सदस्य सरेश नेपालले अपमानित गर्नुभयो। राजनीतिक रूपमा यसरी सधै अपमानीत भएर बस्न सक्ने अवस्था रहेन,’ क्षेत्रीले दु:खेसो पोखेका छन्।

एमालेबाट अलग भएपनि सक्रिय राजनीति भने नछाड्ने उनले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook