• होमपेज
  • स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ- कानूनविद्
Breaking News

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ- कानूनविद्

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय तह निर्वाचन ऐन प्रदेश सभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए । उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेश सभा निर्वाचन ऐन ‘कपी पेस्ट’ गर्नुको परिणाम भएको बताए ।

विज्ञापन

महतोले एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेश सभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पारेका छन् ।

‘असारमा चुनाव भएको छ भने असारमा ५ वर्ष पुग्छ, वैशाखमा भए वैशाखमा, आश्विनमा भएको छ भने आश्विनमा त्यसलाई घटीबढी गर्न मिल्दैन,’ उनले भने, ‘स्थानीय तहमा चरणको कुनै सवाल नै छैन । कल्पना नै भएको छैन । तीन तहको निर्वाचन एकैपटक त्यो कसरी सम्भव होला ? हरेक प्रदेश सभा स्वायत्त छन् ।’

कार्यक्रममा कानूनविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गरे । उनले संकटको समयमा मात्रै संसद र प्रदेश सभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले समयमै निर्वाचन गराउनु पर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताए । उनले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको आरोप लगाए ।

‘स्थानीय निर्वाचनको मिति तोक्ने बेला आइसकेको छ । मिति तोक्नै पर्ने कानूनी र संवैधानिक बाध्यता छ,’ उनले भने, ‘जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुनैपर्छ । संसदको चुनावसहित सबै चुनाव एउटै मितिमा गरौँला त्यो भनेको लोकतन्त्रविरुद्धको षड्यन्त्र जस्तो मलाई लाग्छ ।’

कुनै पनि तहमा जनप्रतिनिधिविहीन कुरोको कल्पना संविधानले नगरेको उनको भनाइ छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता डा. खीमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताएका छन् । उनले अहिले सबै दल र आमनागरिक स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गरे ।

नेता देवकोटाले यसअघि प्रतिनिधि सभाको चुनाव र प्रदेश सभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook