• होमपेज
  • ओलीले आफैंलाई अध्यक्ष घोषणा गर्दै भोलि नै महाधिवेशन सक्ने तयारी
Breaking News

ओलीले आफैंलाई अध्यक्ष घोषणा गर्दै भोलि नै महाधिवेशन सक्ने तयारी

आज रात्री भोज गरेर नेता फकाउने

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन समयमै सकिने भएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्धारित समयमै महाधिवेशन सकिने भएको हो ।

दिउँसोमात्र शुरु भएको बन्द सत्रमा विदेशी अतिथिको सम्वोधनसँगै विदेशी दलहरुबाट आएको शुभकामना सन्देश सुनाइएको थियो । महासचिव ईश्वर पोखरेलले संचालन गरेको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि सर्वसम्मत कार्यसमिति चयनमा जोड दिएका छन् ।

विज्ञापन

साँझ ओलीले नवौं केन्द्रीय कमिटीका सदस्यहरुलाई विदाई भोज दिँदैछन् । त्यसैगरी विदेशी अतिथीलाई पनि डिनर दिँदैछन् । डिनरमै ओलीले जादूको छडी घुमाएर सहमति गर्न पनि बेर छैन । आँकलनहरु थुप्रै भइरहेका छन् । किनकि विरोध भएको छैन ।

हिजोदेखि शुरु भएको महाधिवेशनको दोस्रो दिन आज बिहान उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । तर उम्मेदवारी दर्ता हुन सकेन । आज उम्मेदवारी दर्ता नै खुलेन । बिहानैदेखि अध्यक्ष केपी शर्मा ओली सहमतिको रटानमा रहे ।शनिबार बिहान ८ः३० बजे नै बन्द सत्र शुरु हुने भनिए पनि समयमा हुन सकेन । उक्त समय सारेर बिहान १०ः३० बजेलाई हुने भनिएको थियो । तर यो समय घर्केर दिउँसोदेखि मात्र शुरु भयो ।

बिहानैदेखि ओली आन्तरिक छलफलमा रहे । त्यस्तै भीमबहादुर रावल पक्ष पनि आन्तरिक छलफलमा रह्यो । ओली सर्वसम्मत पदाधिकारी चुन्ने पक्षमा छन् । रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्वीकार्न तयार रहेको बताउँदै आएका छन् ।

रावलले अध्यक्ष र घनश्याम भुषाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै ओली समूहकै नेताहरु पनि आफ्नो अडानबाट टसको मस भएका छैनन् । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनलाई ओलीले राष्ट्रपतिको प्रस्ताव गरेका थिए । तर नेम्वाङले त्यो उधारो प्रस्ताव लिन खोजेनन् । यसअघि पनि उनलाई राष्ट्रपति बनाउने आश्वासन दिइएको थियो ।

त्यस्तै माधवकुमार नेपाललाई छाडेर ओलीसँगै बसेर केही दिनकी बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पनि आफ्नो दावी छाडेकी छैनिन् । उनलाई पनि उपराष्ट्रपति बनाउने ओलीले दिएको आश्वासन मानेकी छैनिन् ।

त्यस्तै शंकर पोखरेलले समेत महासचिवमा उम्मेदवारी दिने बताएका छन् । उनले विष्णु पौडेललाई महासचिव नछाड्नेसमेत बताएका छन् ।

केन्द्रीय सदस्यका आकांक्षी भने भोट माग्न व्यस्त देखिएका छन् । अन्य पदाधिकारीका लागि पनि आन्तरिक छलफलमा जुटिरहेकाले मुख फोडेर भोट माग्न खोजिरहेका छैनन् ।

अब भोलि बिहान उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुने बताइएको छ । तर ओली भने यो कार्यक्रम हुनै नदिने पक्षमा छन् । उनी आफूसहित सबैलाई एकैपटक पदको टीका लगाइदिने पक्षमा छन् ।

रात रहे अग्राख पलाउँछ भनेझैं भोलिको माहोल बदलिन पनि सक्छ । तर भोलि रातिसम्म त जसरी महाधिवेशन सक्नु नै छ ।

बिहानको समयले दिनको दिशा तय गर्छ भनिन्छ । भोलि बिहान कसरी बन्द सत्रको प्रक्रिया शुरु हुन्छ त्यसले नै दशौं महाधिवेशनको दिशा तय गर्नेछ । नत्र अध्यक्ष ओलीले आफूलाई स्वघोषणा गर्दै अध्यक्ष चुनेर अरुलाई सोही अनुसार पद दिएर घोषणा गरेर हिँड्न पनि बेर छैन ।

किनकि आवाज उठाउने रावल र भुषाल मात्रै देखिए । अरु त आफूलाई चित्त बुझ्दो पद दिए चुप लाग्ने अवस्थामा मात्रै रहे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook