• होमपेज
  • एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
Breaking News

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदीकिनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो।

विज्ञापन

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन्। यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन्।  उनले भनिन्, ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौं।’

उद्घाटन सत्रमा ५ लाखभन्दा बढी जनसहभागिता हुने भएकाले नारायणी नदी किनारको खुला ठाउँ छनोट गरिएको उनले बताइन्।

सर्वसाधारणलाई सहज हुनेगरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलको भनाइ छ। यस्तै महाधिवेशन प्रतिनिधि धेरैजसोलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुनेगरी सिफारिस गर्न लागिएको उनले बताइन्।

उनले भनिन्, ‘महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौं, त्यही बन्द सत्र भयो भने सहज हुन्छ।’

अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन्।

एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो। यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ।

व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन्। यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ।

९० वडामा सर्वसम्मत अधिवेशन
यसैबीच एमाले चितवनले जिल्लाका ९८ मध्ये ९० वडा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। आठ वडामा सर्वसम्मत हुन सकेको छैन। ती वडामा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न गृहकार्य भइरहेको अध्यक्ष रावलले बताइन्।

यही कात्तिक ५ गते सम्पन्न वडा अधिवेशनमा भरतपुर महानगरका तीन वडा, खैरहनी नगरपालिकामा तीन, कालिका नगरपालिका दुई वडाबाहेक अन्य वडामा सर्वसहमत भएको हो। उनका अनुसार यही कात्तिक ९ गते जिल्लाका सात पालिकामध्ये ६ पालिकाको अधिवेशन हुनेछ। भरतपुर महानगरपालिकाको भने केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook