• होमपेज
  • मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति
Breaking News

मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटको विषयमा सहमति जुटाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो ।

विज्ञापन

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रालय बाडफाँटको विषयमा सहमति भएको जानकारी दिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बैठकमा मन्त्रालय बाँडफाँडको विषयमा प्रारम्भिक सहमति भएको र आन्तरिक छलफलपछि टुंगोमा पुग्ने सहमति भएको जानकारी दिए ।

जसपाको भागमा चार मन्त्रालय
सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औंपचारिक जानकारी गराएका हुन्।

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन् ।

सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook