• होमपेज
  • मन्त्रालयको भागबन्डा र अध्यादेशका कारण अड्कियो मन्त्रिमण्डल विस्तार
Breaking News

मन्त्रालयको भागबन्डा र अध्यादेशका कारण अड्कियो मन्त्रिमण्डल विस्तार

मन्त्रिमण्डल विस्तार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी बाधक बनेका छन् । नेकपा एस र जसपाले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने अडान लिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुका माग पूरा नगरेकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने बताए । सोमबार नयाँ बानेश्वस्थित प्रतिनिधि सभा संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

विज्ञापन

‘दलसम्बन्धी ल्याएको अध्यादेश फिर्ता भएको छैन, त्यो खारेज हुन्छ, खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’, यादवले भने ।

उनले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको बताए ।

‘सरकारले पूर्णता पाउन मन्त्रालयको भागबण्डा टुंगिनुपर्छ’, अध्यक्ष यादवले भने, ‘त्यो अहिलेसम्म हुनसकेको छैन ।’

यता प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छिट्टै पूर्णता पाउने दाबी गरेका छन् । उनले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको बताए ।

संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ । यसबारेमा सत्तारुढ दलबीच छलफल भइरहेको छ ।’

गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा पाँच दलको गठबन्धनको सहयोगमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, नियुक्त भएको ७० दिन पुग्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना हुँदै आएको छ ।

गठबन्धनका नेताहरुले केही दिनभित्र मन्त्रिमण्डल विस्तार हुने बताउँदै आएपनि हालसम्म पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो ।

प्रधानमन्त्री देउवा चाँडै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने पक्षमा छन् । भने गठबन्धनका नेताहरुले सरकारसँग सर्त अघि सार्दा समस्या निम्तिएको हो । गठबन्धनभित्र शक्तिशाली मन्त्रालय र धेरै मन्त्रालय पाउने आकांक्षीहरु बढेपछि प्रधानमन्त्री देउवा समस्यामा परेका छन् ।

उनले गठबन्धनमा देखिएका असन्तुष्टीलाई सम्बोधन गर्नका लागि मन्त्रालय टुक्र्याउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

आजै मन्त्रिमण्डल विस्तार र अध्यादेश खारेजी लगायतका विषयमा सहमति जुट्ने सम्भावना रहेको छ । उनले दलहरुबीच सहमति जुटेको खण्डमा मंगलबार नै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतको आदेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री र माओवादीबाट २ मन्त्रीसहितको मन्त्रिमण्डल विस्तार गरेका छन् । अन्य १७ मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook