पर्वत । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या भएको थियो । ३ दिनसम्म ठाउँठाउँमा विस्फोटक पदार्थ प्रयोग गरेर भए पनि वानवे खुलाएका छौं,’ पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन् ।
विज्ञापन
करिब १२ किलोमिटर सडक पहिरो खसेपछि एक सातादेखि अवरुद्ध भएको थियो । सडक दुईतर्फी रुपमा नै सञ्चालन गर्न अझै केही दिन लाग्ने प्रजअ पाण्डेले बताइन् ।
मुख्य सडकलाई एकतर्फी सञ्चालन गरे पनि अन्य शाखा सडक भने अझै बन्द छन् । शाखा सडकहरु अहिले नै सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ । ‘अरु बाटोहरुको हालत भने उस्तै छ । पहिरो हटाए पनि पानी निरन्तर परिराखेकाले समस्या भइराखेको छ,’ उनले भनिन् ।
पर्वत–बागलुङ सडक अवरुद्ध भएपछि बुधबारदेखि पर्वत, कार्कीनेटा हुँदै पोखरा आउने सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न थालिएको थियो । भदौ १७ गते आएको बाढी पहिरोले पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका थिए ।
फेसबुक प्रतिक्रियाहरु