• होमपेज
  • ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !
Breaking News

ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !

आइतवार एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले नेतृत्वको कार्यशैलीप्रति मतभेद रहेपनि आफू एमालेमै रहेको धारणा सचिवालयमार्फत सार्वजनिक गर्न लगाए । कहिले यता त कहिले उताको पक्षमा धारणा सार्वजनिक गर्दै आएका गौतमले पछिल्लो पटक आफू ओली नेतृत्वको एमालेमै रहेको जनाउ दिएका हुन् ।

उनको सचिवालयले फेसबूकमा लेखेको छ – ‘आजकल केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ भन्दै नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

विज्ञापन

गौतमले गत वैशाख २७ गते आफ्नो सचिवालयमार्फत फरक धारणा राखेका थिए । उनले एमाले विभाजन हुने स्थितिमा माधवकुमार नेपाललाई साथ दिने बताएका थिए ।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन । ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ यो गौतमले २७ गते सार्वजनिक गरेको धारणा हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको विभाजन गरिदिएर पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने फैसला गर्नुभन्दा अगाडि गौतमले नेकपा एकता महाभियान संचालन गर्दै थिए । त्यसपछि वैशाख २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहमा रहेका केन्द्रीय कमिटी सदस्यलाई बोलाएर पार्टीको महाधिवेशन तोक्नेदेखि लिएर नेताहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गराए ।

गौतमले ओलीको त्यस क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेको भएपनि त्यसपछिका बैठकमा एकाधपटक पुगेका छन् । उनले दिएको मन्तव्यमा पनि कहिले ओलीतिर त कहिले नेपालतिर रहेको अभिव्यक्ति आउने गरेको थियो । राजनीतिमा स्पष्ट अडान राख्न नसकेको आरोप लागेका गौतमले पछिल्लो समय ढुलमुले चरित्र देखाउनुको पछाडि के कारण छ त ?

ओलीनिकट स्रोत भन्छ – ‘वामदेव कमरेडले अध्यक्षसँग बार्गेनिङ गरिरहनु भएको छ । अबको महाधिवेशनमा आफूलाई अध्यक्ष बनाउनुपर्ने उहाँको माग छ । त्यसलाई अध्यक्षले नकारात्मक नलिएको भएपनि विभाजित भइसकेको एमाले वामदेवको नेतृत्वमा पुनः शक्तिशाली बन्छ भन्ने विश्वास चाहिँ देख्नुभएको छैन ।’

गौतमको मागमा ओलीले हुन्छ, हुन्छ भन्न छाडेका छैनन् तर नेतृत्व अरूलाई छाड्न पनि ओली तयार देखिएका छैनन् । त्यसैले गौतम कहिले आफू ओलीतिर त कहिले माधव नेपालतिर रहेको सार्वजनिक गरिरहन्छन् ।

भीम रावल समूहको पनि बार्गेनिङ

गत साता मंगलवार शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्यायो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा कुनै पनि राजनीतिक दलको केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर विभाजन गर्न सकिने प्रावधान राखिएको छ ।

चरम विवादबाट गुज्रिएको एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ नै दलसम्बन्धी अध्यादेश ल्याइएको थियो । त्यसको भोलिपल्टै एमालेको नेपाल समूहले ९५ केन्द्रीय समिति र ३१ संघीय संसदका सदस्यहरूसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोग पुग्यो ।

यसअघि नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्तामा साथ दिएनन् । उनीहरूले एमालेको एकता अझै सम्भव छ भन्दै छलफल गरिरहेका छन् । नयाँ दल दर्ताबाट नेपाल पछि हट्नुपर्ने र १४ सांसदहरूमाथि ओलीको गरेको कारवाही फिर्ता लिनुपर्ने उनीहरूको माग छ । अन्तिम समयमा नेता नेपालको साथ छोडेका उनीहरू दुवैतिर बार्गेनिङमा रहेको चर्चा चलिरहेको छ ।

आगामी महाधिवेशनमा ओलीले नेतृत्व हस्तान्तरण गर्ने शर्तमा आफूहरू एमालेमै रहने सन्देश ती नेताहरूले ओलीलाई पुर्याएका छन् । तर ओलीले भने आफ्नो कित्ता रोज्न सबैलाई स्वतन्त्रता रहेको भन्दै दबाब नदिन चेतावनी दिने गरेका छन् । एकता प्रक्रियामै लागेका एक नेता भन्छन् – ‘अध्यक्ष एकताप्रति त्यति धेरै गम्भीर नभएको पाएका छौं । हामीले १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता गर्न भन्दै गरेको आग्रहलाई उहाँले तमासा भनिदिनु भएको छ । ओलीले दश बुँदे सहमति लागू नगर्ने हो भने एमालेमा अर्को विद्रोह अवश्यम्भावी छ ।’

दश बुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता माग गरेपनि रावल नेतृत्वको उक्त समूहले आगामी महाधिवेशनमा कुनै पनि हालतमा ओलीले नेतृत्वको दाबी छोड्नुपर्ने मागसमेत ओलीसमक्ष राख्ने गरेको स्रोतले दाबी गरेको छ ।

‘वामदेवले पनि नेतृत्वबाट हट्नुपर्ने माग राख्ने, भीम रावलको टीमले पनि त्यही माग राख्ने गरेको सुनेर अध्यक्ष हैरान हुनुभएको छ । त्यसैले उहाँले आ-आफ्नो कित्ता रोज्न सबै स्वतन्त्र रहेको वक्तव्य दिनुपरेको हो । नत्र पहिलो कुरा त विभाजन कुन नेताले चाहेको छ र ? दोस्रो विभाजन नै भएपनि आफूतिर धेरै शक्ति होस् भन्ने सबैले चाहन्छन् । अहिले समूह बनाएर बार्गेनिङ गर्ने चलन बढेको छ,’ ओलीनिकट एक नेताको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook