• होमपेज
  • राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोकेको छैन: अर्थमन्त्री शर्मा
Breaking News

राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोकेको छैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका छन् ।

आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए ।

विज्ञापन

राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले जानकारी दिए ।

श्वेतपत्रको सम्बन्धमा राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको स्पष्ट गरे ।

“यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन । आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो, उनले भने ।

आफूलाई अहिले जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थपे,‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर, विषय विज्ञ एवं तपाइहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु ।”

मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसावले पहलकदमी अघि बढाइने सोच रहेको बताए ।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले तथ्य प्रमाणमा आधारित नीति तय गर्न पत्रकारहरुको लेखाइले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै उनले पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहनत गर्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले श्रमजिवी पत्रकारहरुको श्रम शोषण गर्ने मिडिया हाउसलाई सरकारी सुविधा रोक लगाउने खालको व्यवस्था गर्न सुझाव दिए । उनले पत्रकारहरुको लागि आर्थिक राहत भन्दा सामाजिक सुरक्षाका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook