• होमपेज
  • एमाले एकता जोगाउन विघटित कार्यदल सदस्य र सांसदहरु छलफलमा जुटे
Breaking News

एमाले एकता जोगाउन विघटित कार्यदल सदस्य र सांसदहरु छलफलमा जुटे

पार्टी एकता जोगाउन नेकपा एमालेका दोस्रो तहका नेताहरु र सांसदहरु एकसाथ सक्रिय भएका छन्। जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति गरेपछि विघटित कार्यदलका सदस्यहरु र सांसदहरुबीच आइतवार दिउँसो १ बजे सिंहदरबारमा छलफलका लागि जुटेका हुन्।

सांसद दीपकप्रकाश भट्टका अनुसार कार्यदल सदस्यहरुसँग छलफलका लागि अहिलेसम्म करिब ३५ सांसद सिंहदरबारस्थित कृषि समितिको हलमा पुगिसकेका छन्। उनीहरुबबीच १० बुँदे सहमतिमा टेकेर पार्टी एकता बचाउन छलफल हुने सांसद भट्टले बताए।

विज्ञापन

‘यो बैठकमा एमाले एकतामा देखिएको गतिरोधबारे कुराकानी हुनेछ। यसबारे सांसदहरुले कार्यदल सदस्यहरुसँग जिज्ञासा पनि राख्नेछन्’, उनले भनेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएको थियो।  उक्त सहमतिलाई एमालेले अनुमोदन गरेको छ भने नेता नेपालले अझै सहमति जनाइसकेका छैनन्।

पछिल्लो समय एमालेका दुवै समुहका सांसदहरु एकता बचाउन जुटेका छन्। ओली पक्षीय सांसदहरु कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी यसमा सक्रिय छन्। अर्कातिर माधव नेपाल पक्षीय यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगाय सांसदहरुले पनि दबाब बढाउँदै गर्दा कार्यदलसँग छलफल गर्न लागेका हुन्।

हालै सकिएको एमाले केन्द्रीय कमिटी बैठकबाट विघटित कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए। उता नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook