• होमपेज
  • समायोजनका नाममा क्रियाशील सदस्यका थप नाम आएको भन्दै पौडेल पक्षको असन्तुष्टि
Breaking News

समायोजनका नाममा क्रियाशील सदस्यका थप नाम आएको भन्दै पौडेल पक्षको असन्तुष्टि

कांग्रेस महाधिवेशन

काठमाडौं– अन्य दलबाट आएकाहरुलाई पार्टी निर्देशिका विपरीत क्रियाशील सदस्यतामा सूचीकृत गरिएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्ट व्यक्त गरेको छ।

क्रियाशील सदस्यताका सम्बन्धमा निर्माण गरिएको मापदण्ड विपरीत थप नाम आएको पौडेल पक्षको भनाइ छ। यसअघि क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड बनाएर विवादित नाम टुंग्याउने सहमति भएको थियो। सोही सहमतिअनुसार केन्द्रीय समितिले मापदण्ड तय गरेको पनि थियो।

विज्ञापन

विजय गच्छदारको फोरम लोकतान्त्रिक बाहेकका अन्यको हकमा पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण हुनेगरी विधि बनाइएको थियो।

तर, पौडेल पक्षले भने उक्त विधि कार्यान्वयन नभएको जनाएको छ। क्रियाशील सदस्यताको विवाद समाधानका लागि निर्धारित विधि पालना नभएको विषयमा छलफल गर्न पौडेल पक्षले बैठक समेत डाकेको थियो। क्रियाशील छानबिन समिति सदस्यसहित पौडेल पक्षको बैठक बसेको थियो।

बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पार्टीले बनाएको मापदण्ड लागू नभएको निष्कर्ष निकालेको नेता प्रकाशमान सिंहले जानकारी दिए। ‘अहिले पनि क्रियाशील सदस्यता सूचीकृत भएका छन्। पार्टी निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराउने निर्णय गरिएको छ,’ बैठकपछि नेता सिंहले भने।

अन्य दलबाट आएकाहरुको तर्फबाट भन्दै विधि मिचेर नामहरू आएको पौडेल पक्षको बुझाइ छ। पौडेल पक्षले बत्तीसपुतलीमा बैठक डाकेर क्रियाशील सदस्यता छानबिनबारे समिति सदस्यहरूसँग जानकारी लिएको थियो।

छानबिन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउने तयारी गरेको छ। हालसम्म ८ लाख ४६ हजार क्रियाशील सदस्यता सूचीकृत भएका छन्। विदेशस्थित जन सम्पर्क समितिको इन्ट्री भने हालसम्म गरिएको छैन।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook