• होमपेज
  • खनाल–नेपाल पक्षको छलफलमा ओलीको राजीनामा अनिवार्य शर्त
Breaking News

खनाल–नेपाल पक्षको छलफलमा ओलीको राजीनामा अनिवार्य शर्त

पार्टी एकताका लागि जेठ २ गतेको सहमतिमा फर्किनुपर्ने पूर्वशर्त राख्दै आएको नेकपा एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा गर्नुपर्ने नयाँ अनिवार्य शर्त अगाडि सारेका छन् ।

जेठ पहिलो सातासम्म जेठ २ गतेमा फर्किए सहमति हुने बताउँदै आएको खनाल–नेपाल पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनपछिको अवस्थामा ओलीको राजीनामा गर्नुपर्ने नयाँ शर्त अगाडि सारेका हुन् ।

विज्ञापन

बिहीवारको बैठकलाई अनौपचारिक छलफल भनिएकाले यसबारे कुनै निर्णय भने भएको छैन ।

खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यको बिहीवार भएको भर्चुअल बैठकमा बोल्ने केन्द्रीय सदस्यले ओलीले राजीनामा गर्नुपर्ने माग गरेका हुन् । जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, चुडामणि जंगली, जयन्ती राई लगायतले ओलीले साँच्चिकै एकता चाहेको भए अध्यक्षबाट राजीनामा दिनुपर्ने बताए ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीले माधव नेपाललाई अध्यक्ष छाडे मात्र सहमति गर्नुपर्ने बताए । पूर्व सांसद समेत रहेकी निरु जैरुले पनि अहिलेकै नेतृत्वलाई स्वीकारेर पार्टी अघि बढ्न नसक्ने बताइन् ।

छलफलमा सहभागीमध्ये धेरैले पार्टी एकता जोगाउन अन्तिमसम्म पहल गर्न नेताहरूलाई सुझाव दिएका थिए ।

बैठकमा संस्थापन पक्षसँग भएको कुराकानीबारे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ब्रिफिङ गरेका थिए । सहमति खोज्न गठित वार्ता टोलीका सदस्य समेत रहेका भुसालले संस्थापन पक्षबाट देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गरे जेठ २ गतेमा फर्किन प्रस्ताव आएको बताए ।

‘बाहिर प्रचार गरिएजस्तो हामीले कुनै सहमति गरेका छैनौं, त्यो वार्ता टोलीको बैठक पनि होइन । पार्टी एकता जोगाउनको लागि गरिएको प्रयास हो,’ खनालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘प्रतिनिधिसभा विघटन फिर्ता लिइसकेपछि मात्र हामीले अदालतको मुद्दा फिर्ता हुनसक्छ भन्यौं ।’

अर्का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई जेठ २ गतेमा फर्काएर सहमति खोज्न आफूहरूले व्यक्तिगत तवरमा प्रयास गरेको बताए । ‘एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो, उताबाट पनि पार्टी एकता गरौं भनेका छन् तर सहमतिको लक्षण देखिएको छैन,’ पाण्डेले भने ।

संस्थापनसँग गरिएको भेटवार्तालाई आशंका नगर्न पाण्डे र भुसालले केन्द्रीय सदस्यहरूसँग आग्रह गरेका थिए ।

नेता भीम रावलले आफूमाथि कारवाही गरिएपछि औपचारिक वार्ता हुन नसकेको जानकारी गराए ।

बैठकमा झलनाथ खनालले भने वार्ताबाट निकासको सम्भावना नरहेको भन्दै पार्टी पुनर्गठन गरेर अगाडि जान प्रस्ताव गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook