• होमपेज
  • बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु
Breaking News

बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु

सिंगो गाउँ नै शिल

बागलुङ । बागलुङको ग्रामिण भेग बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते एउटा बिहे भोज थियो । बिहेमा उक्त वडाका सहित वरिपरि गाउँका धेरैको जमघट चल्यो । बिहे भोज पछि सबै गाउँले खुसी थिए ।

नातीको बिहे भएकाले ८७ वर्षीय पुरुष पनि जमेरै भोज मनाए । तर, त्यो खुसी लामो समयसम्म टिक्न पाएन । सासै फेर्न गाह्रो हुन थालेपछि बैशाख १७ गते धौलागिरि अस्पतालमा उपचारका लागि ल्याइयो र स्वाब परीक्षण गरियो ।

विज्ञापन

१८ गते ती पुरुषमा कोरोना पोजेटिभ देखियो । अस्पतालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । मृत्यु भएका ती पुरुषको ५१ र ४० वर्षको छोरा र ५३ वर्षीयसहित २ छोरी छन् ।

बाबुको स्वास्थ्यमा खराबी आएको अर्को दिनमा ४० वर्षीय छोराको स्वास्थ्यमा पनि समस्या देखियो । परीक्षण गर्दा उनमा पनि कोरोना देखियो । ती पुरुषलाई पनि धौलागिरि अस्पतालमै उपचार गरिँदै थियो ।

घरका जेठा छोरा ५१ वर्षीय पुरुष कामको सिलसिलामा भैरहवा थिए । यता, कान्छो भाइलाई कोरोना पुष्टि हुँदै गर्दा भैरहवामा दाजुको पनि स्वास्थ्यावस्था बिग्रिसकेको थियो । उपचारका लागि भैरहवाका सबै अस्पताल धाउँदा पनि कतै बेड पाएनन् ।

ती पुरुषलाई थप उपचारका लागि पोखरा ल्याइयो । कोरोना परीक्षण पोजेटिभ आयो । तर, उनी पनि धेरै समय भने व्यतित गर्न पाएनन् । बैशाख ३० गते कान्छाको धौलागिरि अस्पताल र जेठा छोराको पोखरामा उपचारकै क्रममा मृत्यु भयो ।

बडिगाड गाउँपालिका ४ जलजलाका वडाध्यक्ष प्रेम गलामीका अनुसार २ भाइको २ फरक ठाउँमा एक घन्टाको फरकमा मृत्यु भएको हो । ‘दाजुलाई भैरहवामा बेड नपाएपछि पोखरा उपचार गर्न ल्याइएको थियो । तर, पोखरा आउँदा पनि बाँच्न पाएनन्, दाजुभाइलाई नै एक घन्टाको फरकमा कोरोनाले लग्यो,’ उनी भन्छन् ।

कोरोनाबाट एकै परिवारको ३ जनाको मृत्यु भइसकेपछि पनि अझै परिवारमा बज्रपात पर्न छाडेको छैन । आइतबारमात्रै परिवारकी जेठी छोरी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनी पनि धौलागिरि अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

गाउँले नै बिरामी, गाउँ ‘सिल’ !

बिहे भोजबाट फर्किएपछि अहिले गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । गाउँमा बिरामीको संख्या बढेपछि गाउँपालिकाले १९ र २२ गते पहिलो पटक परीक्षण गरेको थियो । परीक्षणका क्रममा एकैचोटी ४९ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष प्रेम गलामी बताउँछन् ।

बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’

गाउँपालिकाको १० बेडको आइसोलेसन वार्ड छ । तर, त्यसले गाउँभरिको बिरामी धान्न नसक्ने वडाध्यक्ष गलामी सुनाउँछन् । उनकाअनुसार गाउँबाट हाइवे पुग्न पनि एक घन्टा लामो कच्ची सडकको यात्रा गर्नुपर्छ ।

‘हिजो र आजै २ जना शंकास्पदको मृत्यु भयो । उहाँहरुको स्वाब परीक्षण नै गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भीर छ । हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार बागलुङमा आइतबारसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै ८ सय ४ जना सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook