• होमपेज
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?
Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको प्रष्टीकरण दिएका छन्।

‘देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले प्रदेश प्रमुखसमक्ष आजैका मितिदेखि लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएको छु,’ गुरुङले वक्तव्यमार्फत कारण खुलाएका छन्।

विज्ञापन

गुरुङले गण्डकी प्रदेशका जनता र तिनका सपना पुरा गर्ने कार्यमा अविचलित रुपमा लागिरहने प्रतिज्ञा पनि गरेका छन्।

आफूले सरकारमा रहेर कोरोना नियन्त्रणका लागि जिल्ला अस्पतालहरुमा आईसीयू कक्ष, उच्च गतिको अक्सिजन उत्पादन र प्रबाह गर्ने ब्यबस्था र भेन्टिलेटरको व्यवस्था गरेको, अस्पतालहरुको स्तरोउन्नति गरेको, शैयाहरु थपेको, डायलासिस सेवा थप गरिएको, स्वास्थ्य क्षेत्रको दीर्घकालीन अवसरलाई ख्यालगरी गण्डकी बिश्वबिद्यालय अन्तर्गत शिक्षण अस्पताल स्थापना गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। भनेका छन्, ‘गण्डकी प्रदेश सरकारले गरेका कामको मूल्याङ्कन र त्यसको प्रभाबकारिताको लागि प्रदेश सभाले पास गरेको संकल्प प्रस्ताब र त्यसको लागि बनेको माननीयहरुको अनुगमन कार्यदलले जिल्लाहरुको बस्तुस्थिति बुझने कार्य भइरहेको छ। तर मूल काम छोडेर राजनीतिक दाउपेचमा अल्झिनु न्याय संगत हुँदैनथ्यो।पक्कै पनि भबिष्यले यो प्रबृतिलाई दण्डित गर्नेछ।’

आफूलाई पार्टी नेतृत्वको समर्थन गरेकै आधारमा प्रतिगामी भनेर हटाउने प्रयास गरिएकोमा मुख्यमन्त्री गुरुङले आपत्ति पनि जनाएका छन्।

‘के एउटा दल भएपछि दलको नीति र नेतृत्वको रक्षा गर्नु पर्दैन? आफ्नै नेतृत्वका बिरुद्धमा सडकदेखि सदनसम्म गरिएका अराजनीतिक गतिविधिलाई लोकतन्त्र भनेर छुट दिन सकिन्छ र?’ उनले आक्रोश पोखेका छन्।

गण्डकी प्रदेशका जनताले दिएको म्यान्डेट त नेकपा एमाले ठूलो दलका रुपमा सरकार संञ्चालन गर, नेपाली कांग्रेस प्रतिपक्षमा बस भनेको जिकिर गर्दै गुरुङले प्रश्न गरेका छन्, ‘खोई जनअपेक्षा अनुसार ब्यबहार गरेको? एउटै चुनाबी मोर्चावाट लडने, एउटै घोषणापत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने? हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ। तर पनि हाम्रो पार्टी एमाले र हामी फल दिइरहने बृक्ष हौं, शीतलता पनि दिएका छौ र दिइरहने छौं। तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्।लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook