• होमपेज
  • एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?
Breaking News

एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?

राजिनामाको तयारी

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको विवाद झन बढ्दो छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिचेर आफू निकटकालाई जिम्मेवारी दिएको, पार्टीमा लामो समयदेखि क्रियाशील रहेकालाई बेवास्ता गर्दै भरखरै पार्टी प्रवेश गरेकालाई मुख्य भूमिका दिइएकोलगायतका विषयमा एमालेभित्र विवाद चर्किँदो छ । यो विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वाेच्च अदालतले खारेज गरेर पुरानै अवस्थामा फर्काएदिएपछि झन पेचिलो बनिरहेको छ ।

विवाद जटिल मोडतर्फ गइरहँदा आगामी २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरे । सोही सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गतेको लागि संसद् बैठक आह्वान गरेकी छन् । संसद् सचिवालयले बैठकको तयारी थालिसकेको छ ।

विज्ञापन

अहिले सबैभन्दा पेचिलो र चासोकासाथ हेरिएको विषय हो एमालेकै माधवकुमार नेपाल समूहले ओलीलाई विश्वासको मत दिन्छ कि दिँदैन ? नेपाल समूहले पनि यस विषयमा स्पष्टकुरा सार्वजनिक गरेको छैन । अस्पष्टताका बावजुध पनि नेपाल समूहका नेता घनश्याम भुसालले भने ‘अहिले हाम्रो जबरजस्त के मत छ भने । राजनीति गलत दिशामा गयो । सांसदको हिसाबले हाम्रो भूमिका गाह्रो खालको भयो । राजीनामा नै उपयुक्त हो भन्‍ने हाम्रो बलियो मत छ ।’

उनले छलफलमा सांसदहरुले फ्लोरक्रस गर्नु राम्रो नभएको बताएको पनि बताए । ‘छलफलमा अहिले राजीनामा नदिएर विश्वासको मत दिए भोलिपल्टै कारबाही होला भन्‍ने कुरा पनि उठेको छ,’ उनले भने, ‘कारबाही भएर मात्रै पनि केही हुँदैन यसले राजनीतिलाई के गर्छ भन्ने कुरा मुख्य हो । ‘फ्लोर क्रस’ गर्ने राम्रो होइन भन्‍न‍े सांसदहरुको मत छ । त्यसकारणले ‘फ्लोर क्रस’ भन्दा राजीनामा नै उपयुक्त हो भन्‍ने मत बलियो छ ।’

भुसालले बैशाख २५ गते साँझ नेपाल समूहले आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए । ‘अहिले हाम्रा सांसदहरू काठमाडौँ बाहिर हुनुहुन्छ । फोनमा मात्रै नियमित कुरा भइरहेको छ,’ उनले भने, ‘भोलिसम्म बाहिर भएका सांसद काठमाडौँ आइपुग्‍नु हुन्छ । २५ गते साँझ केही धारणा बनाइसक्छौँ ।’

नेपाल समूहका अर्का सांसद विरोध खतिवडाले अध्यक्ष ओलीले आफूनिकटकालाई भेला गरेर असन्तुष्ट समूहलाई कारबाही गर्ने निर्णय गरिसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘उनीहरुबाट जस्तो व्यवहार हुन्छ, यताबाट पनि त्यस्तै व्यवहार हुन्छ । त्यही तयारीमा हामी छौँ ।’

उनले केपी शर्मा ओलीपछाडि फर्किए सहयोग गर्न सकिने तर, अहिलेकै अवस्थामा गर्न नसकिने पनि बताए । ‘जे आइपर्छ, त्यो हामी बेहोर्न तयार छौं । हामीसँग अनेकन विकल्प छन् । यदि ओली पछि फर्कन्छन् भने कुनै समस्या छैन । हाम्रो उद्देश्य पार्टी बलियो बनाउने हो’ उनले भने ।

ओलीले नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधे । नेताहरुले उल्टै प्रश्न गरेर ओलीलाई स्प्ष्टीकरण पत्र पनि बुझाए । यस विषयले पनि एमाले भित्रको राजनीति तातिएको छ । स्पष्टीकरण पत्र चित्तबुझ्दाे नभएकाे भन्दै नेपालले नेपालसहितका नेतालाई कारबाही पनि गरिसके ।

नेता भीम रावलले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दलबलका साथ विश्वासको मत माग्न पुगेका ओलीमाथि खरो टिप्पणी गरेका छन् । ‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल, परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ’ रावलले ट्वीटरमा लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook