• होमपेज
  • कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?
Breaking News

कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?

नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका ७२ वटा कोभिड वार्ड दुई दिनअघि नै बिरामीको चाप बढेका कारण भरिएका थिए । अस्पतालमा थप बिरामी आएमा भर्ना गर्न नसक्ने अवस्था थियो ।

अस्पतालमा भएका पूर्वाधार भरिए पनि बुधबार फेरि बाँके जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । अस्पतालका प्रवक्ता संकेत कुमार रिसाल भन्छन्, ‘अहिले अस्पतालमा भएको पूर्वाधार अपुग होला भन्ने डर छ । खुल्ला नाकाका कारण निरन्तर संक्रमण बढिरहेको छ । भोलि संक्रमण फैलिएमा हाम्रा पूर्वाधारले धान्न सक्ने अवस्था छैन ।’

विज्ञापन

बाँके जिल्लाका प्रमुख अजय कुमार श्रीवात्सवका अनुसार अहिले भएका पूर्वाधारहरुले यहि अनुपातमा संक्रमणको दर बढेमा धान्न अहसज हुने अवस्था सिर्जना हुन्छ । जिल्लाका ८ वटै स्थानीय तहमा एक–एक क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राखेपनि भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजमा जिल्लाबाहिरका बिरामीहरु पनि भर्ना हुने भएकाले अहिलेकै अनुपातमा संक्रमण बढिरहे पूर्वाधारहरु अपुग हुन्छन् ।

उनले भने, ‘नाकामा हेल्थ डेस्क संञ्चालनमा छ । तर, सीमित कर्मचारीले सबैतिर हेर्न सकिदैंन । अहिले भएको पूर्वाधारहरु बाँके जिल्लामा मात्रै भएको संक्रमणलाई धान्न सकिएला । तर, यहाँका अस्पतालमा अरु जिल्लाका पनि बिरामी आउँने भएकाले यो पूर्वाधार अपुग हुन्छ ।’
बाँके जिल्लामा जस्तै अहिले निरन्तर अन्य जिल्लामा पनि संक्रमण बढिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबार मात्रै देशभर ६०३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २३ जनाको पिसिआर परीक्षण हुन बाँकी छ । यीमध्ये प्रदेश १ स्थित मोरङ, प्रदेश २ स्थित पर्सा, बागमती प्रदेशस्थित काठमाडौं, चितवन, नुवाकोट, ललितपुर, गण्डकी प्रदेशस्थित कास्की, लुम्बिनीस्थित बाँके र रुपन्देही र सुदुरपश्चिम प्रदेशस्थित कैलालीमा दोहोरो अंकमा संक्रमण देखिएका छन् । काठमाडौंमा भने बुधबार १ सय ७३ जनामा संक्रमण देखिएको छ ।
अर्कातिर, छिमेकी मुलुक भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणका कारण नेपालसँग खुल्ला नाका जोडिएका जिल्लाबाट आवतजावत पनि बढिरहेको छ । जसले संक्रमणको दर थप बढ्ने देखिएको छ ।

सँगै विश्वभर कोरोना संक्रमणका नयाँ भेरियन्टहरु पुष्टि भइरहँदा नेपालमा पनि यसको प्रकोप देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार ललितपुरमा गरिएको परिक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ फेला परेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो १४ दिनमा नेपालमा संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । गत चैत १९ गते देशभरको परीक्षणमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार बैशाख १ गते संक्रमण पुष्टि हुनेको संख्या ६०३ देखिएको छ ।

कस्तो छ सरकारको तयारी ?

११ चैत २०७६ गते सरकारले एकाएक लकडाउनको घोषणा गरेको थियो । संक्रमितको संख्या २ जना र सक्रिय संक्रमितको संख्या एक जना हुँदा गरिएको लकडाउनका कारण आम मान्छेको जनजीवनदेखि व्यापार व्यवसाय र देशको अर्थतन्त्रमै पनि ठूलो असर पुगेको थियो ।
पछिल्ला केही सातायता निरन्तर कोरोना संक्रमण बढिरहँदा स्वास्थ्य मन्त्रालयले दुई पटकसम्म स्कुल तथा कलेज, भीडभाड हुने ठाउँ लगायतलाई केही समयको लागि बन्द गर्न सिफारिश गरिरहेको छ ।

मन्त्रालयले २५ चैतमा भारतमा अत्यधिक कोरोना संक्रमण बढिरहेका कारण शैक्षिक गतिविधिलाई अनलाइनमार्फत गर्नुपर्ने सिफारिश गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई उक्त सिफारिश गरिएपनि मन्त्रीपरिषद्को बैठकले पनि अहिले शैक्षिक संस्थाहरुलाई बन्द गर्न निर्देशन दिएन् ।

३१ चैतमा समेत स्वास्थ्य मन्त्रालयले उपत्यकासहित ठूला शहरका विद्यालयहरुलाई एक महिना बन्द गर्न सिफारिश गरेको छ । सीसीएमसीलाई गरिएको सिफारिशमा आगामी मन्त्रिपरिषद्ले निर्णय गर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जेठ अन्तिमदेखि असारमा दैनिक ११ हजारको हाराहारीमा संक्रमण पुष्टि हुनसक्ने आकलन रहेको बताएका छन् । उनले भनेका थिए, ‘यो अवस्थालाई रोक्न मन्त्रालय लागिपरेको छ । संक्रमणको भयावह अवस्थालाई रोक्न सबै सजग हुनुपर्छ ।’

पछिल्ला केही सातायता स्वास्थ्य मन्त्रीदेखि मन्त्रालयले निकालेका सूचनाले नै नेपालमा कोरोना संक्रमणले पहिलो लहरमा जस्तै भयावह स्थिति सिर्जना हुनसक्ने जोखिम रहेको देखाउँछ । सँगै जनस्वास्थ्यका विज्ञहरुले गरिरहेका टिकाटिप्पणीअनुसार यस पटक फैलिरहेको कोरोना भाइरस पहिलेको भन्दा फरक हुनाले थप जोखिम बढ्न सक्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले संक्रमण फैलिने जोखिमका कारण आवश्यक तयारीहरु गरिरहेको छ । गौतम भन्छन्, ‘हामीले सिमानामा आउनेहरुलाई मास्क दिएर क्वारेन्टिनमा बस्न लगाउने तयारी गरेका छौं । परीक्षण गर्दा पोजेटिभ आएमा उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।’

देशभरमा भएका आइसोलेसनलाई व्यवस्थापन गर्ने र परीक्षणलाई पनि व्यवस्थित बनाउने योजना रहेको बताउँछन् गौतम ।
मन्त्रालयले दुई हजार आइसियु थप्न भन्दै स्थानीय तहमा पैसासमेत पठाएको थियो । हाल त्यही खर्चमा विभिन्न स्थानमा पूर्वाधार बनिरहेको बताउँछन् गौतम ।

कोभिडको जोखिम बढिरहेको बेला सरकारलले आफ्नो तर्फबाट काम गरिरहेको बताउँछन् गौतम । उनी भन्छन्, ‘हाम्रो तर्फबाट हामीले गर्नुपर्ने काम गरिरहेका छौं । तर, जुन किसिमले अहिले निस्फित्री मानिसहरु हिँडिरहेका छन् त्यसलाई नियन्त्रण गर्न गाह्रो छ ।’

कार्यन्वयनको पक्षबाट कोभिडको जोखिम कम गर्ने मापदण्डहरुलाई सबै तहका मानिसले वेवास्ता गरेको देखिएको र यस्तै भएमा निकट भविष्यमै नेपालमा विकराल स्थिति आउने गौतम बताउँछन् । उनी भन्छन्, ‘गत वर्ष हामीले लकडाउन गरेर संक्रमणलाई रोकेका थियौं । तर, अहिले लकडाउन गर्न पनि नमिल्ने र जोखिम पनि बढिरहेको अवस्था छ ।’

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार पुगिसकेको छ । संक्रमण दैनिक बढिरहेको छ । अहिलेकै रफ्तारमै संक्रमण बढिरहेमा लकडाउन छिट्टै हुनसक्ने अवस्था आउन सक्ने गौतम बताउँछन् । उनी भन्छन्, ‘मान्छेले भिडभाड कम गर्न, संक्रमणलाई फैलिन नदिने कुरामा सहयोग गरेमा लकडाउन हुँदैन भन्ने हो । तर, संक्रमण बढिरहेमा लकडाउन गर्नैपर्छ ।’ गौतम अस्पतालमा बिरामीले वेड नै नपाउने अवस्था भएमा अवश्य पनि लकडाउन हुने बताउँछन् ।

सिफारिश कार्यान्वयन नभएपछि मन्त्रालयको अपील

स्वास्थ्य मन्त्रालयले पटक पटक भिडभाड हुने ठाउँ तथा स्कुल कलेजलाई बन्द गर्न सीसीएमसीलाई सिफारिश गरेको छ । तर, उक्त विषयमा मन्त्रिपरिषद्ले पनि तत्कालै निर्णय नगर्ने भनेको छ भने शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने पक्षमा नरहेको बताएको छ ।
यता निजी विद्यालय संचालकहरुको संघ ‘प्याब्सन’ले त मन्त्रालयको सिफारिशलाई पूर्ण रुपले वेवास्ता गर्दै स्कुल तथा कलेज बन्द नगर्ने भन्दै विज्ञप्ती नै निकालेको छ । प्याब्सनका कार्यकारी प्रमुख टिकाराम पुरी भन्छन्, ‘हामीले बन्द नगर्ने भनेकै छैन । स्वास्थ्य मापदण्ड अपनाएर अहिले संञ्चालन गर्ने भनेका छौं । सरकारले बन्द गर्छ भने त हामी मानिहाल्छौं । तर, एकै पटक देशभरका विद्यालय नभएर ठाउँ विशेष विद्यालयहरु बन्द गर्नुपर्छ ।’

मन्त्रालयले दुई पटकसम्म स्कुल कलेज तथा भीडभाड हुने ठाउँ बन्द गर्नुभन्दै सिफारिश गरेपनि निर्णय नभएपछि बिहीबार भने मन्त्रालयले सार्वजनिक रुपमा अपिल गर्दै भिडभाड नगर्ने तथा स्कुललगायतका भिडभाड हुने स्थानमा सर्वसाधारणले नै नजान अपिल गरेको छ ।
मन्त्रिपरिषद्ले निर्णय गर्न नसक्दा मन्त्रालय सर्वसाधारणलाई नै अपिल गर्नुपर्ने स्थितिमा पुगेको प्रवक्ता गौतम बताउँछन् ।

‘मन्त्रालयले पटक पटक सिफारिश गरेपछि पनि निर्णय भएको छैन,’ उनी भन्छन्, ‘जोखिम कम गर्न आवश्यक मापदण्ड अपनाएर सुरक्षित हुनुपर्छ । संक्रमण धेरै भएका ठाउँमा सेलेक्टिभ लकडाउनमा पुग्नुपर्ने अवस्था पनि आउन सक्छ ।’ बुधबार मन्त्रालयले आठ बुँदे सूचना जारी गर्दै सर्वसाधारणमा आवश्यक मापदण्ड अपनाई कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन अपिल गरेको हो । मन्त्रालयले अति प्रभावित वर्गीकरण गरेका विभिन्न १४ जिल्ला (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरंग, दाङ, सुर्खेत, बारा, बागलुङ्ग)मा भिडभाड हुने स्कुल, बैठक, भेला, सिनेमा हल, स्विमिंग पुल लगायतमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
त्यस्तै, सरकारी अस्पतालहरुमा कम्तीमा पचास प्रतिशतथ बेडहरु कोभिड संक्रमित बिरामीलाई छुट्याउन र निशुल्क सेवा दिन तथा पर्यटकहरुलाई नेपालमा होटलमा बस्दा पिसिआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गर्नसमेत मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता गौतम भन्छन्, ‘अहिले हामीले भिडभाड कम गर्ने हो । सकेसम्म जोखिम कम गर्न खोज्ने हो । तर, अहिलेकै दरमा संक्रमण बढिरहेमा हामीले केही गर्न सक्दैनौं । आइसियु ५ हजार थपे पनि पुग्दैन । त्यसैले अहिले आफैं सुरक्षित भएर बस्न आवश्यक छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook