• होमपेज
  • सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन
Breaking News

सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा चौथो दिन सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् ।

यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । चौथो दिनसम्म मागभन्दा ७ दशमलव शून्य ७ गुणा बढी आवेदन परेको हो ।

विज्ञापन

कम्पनीले आम सर्वसाधारणका लागि चैत ६ गते शुक्रवारदेखि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

उक्त आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook