• होमपेज
  • पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट
अर्थ/वाणिज्य

पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र महाशिला गाउँपालिका ४ लामतुन मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनौट भएका छन् ।

गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक स्थानीय तह एक नमूना कृषि गाउँ’ बनाउने अभियान अनुसार जिल्लाका दुई स्थानीय तहमा नमूना कृषि गाउँ घोषणा गरेको हो ।

विज्ञापन

गत वर्षसम्म कुश्मा नगरपालिका १ पाङ, फलेवास नगरपालिका १० कुर्घा, मोदी गाउँपालिका ७ राम्जादेउराली, बिहादी गाउँपालिका ३ रानीपानी र पैयुँ गाउँपालिका ५ भूर्तेलथोक लाई कृषि नमूना गाउँ घोषणा गरेको थियो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाका अनुसार गत वर्षसम्म कार्यान्वयन भएका नमूना गाउँमा किसानहरु समूहमा आवद्ध भएर नमूनाको रुपमा तरकारी, फलफुल र खाद्यन्न उत्पादन गरिरहेका छन् ।

विशिष्ट रुपमा कृषि उत्पादन गर्ने सरकारको लक्ष्य अनुसार चालू वर्ष मन्त्रालयले दुई स्थानमा कृषि गाउँ घोषणा गर्ने जानकारी दिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँमा धाईरिङलाई समेटेपछि नमूना गाउँका लागि आवश्यक कार्यहरु अगाडी बढेका वडाध्यक्ष टुङगानाथ आचार्यले जानकारी दिए । धाईरिङको सल्यान, मिलनचोक, घाहाखेत, फर्सेढुंगा लगायतका गाउँ तरकारी उत्पादनका पकेट क्षेत्र हुन् ।

यहाँ वर्षेनी करौँडोको तरकारी उत्पादन हुँदै आएको छ । यो गाउँलाई नमूना कृषि गाउँमा छनौट गरेकोमा कृषक उत्साहित भएका छन् । नमूना कृषि गाउँमा छनौट भएपछि किसानले सरकारबाट टनेल निर्माण, सिँचाई, भकारो सुधार, वातावरणमैत्री उत्पादनमा ८० प्रतिशतसम्म सरकारी अनुदान पाउँछन् ।

प्रविधियुक्त तालिम र आधुनिक खेती प्रणालीको बारेमा किसानहरुलाई परामर्श दिने गरी सरकारले एक कृषि प्राविधिक खटाएको छ । अनुगमन, सहजीकरण र परामर्शका लागि कृषि ज्ञान केन्द्र, गाउँपालिका र वडासँग सहकार्य हुने जानकारी दिइएको छ ।

महाशिला गाउँपालिका ४ का अध्यक्ष पूर्णवहादुर मल्लले कृषि उत्पादनमा अग्रणी रहेको लामतुन गाउँ नमूना गाउँमा छनौट भएकोमा किसान खुशी भएको बताए । उनले सिँचाईको असुविधाका बाबजुत खेतीपाती गरिरहेका कृषकहरुले नमूना गाउँमा छनौट भएपछि सिँचाईको सुविधा बढ्ने अपेक्षामा रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook