• होमपेज
  • सरकार गठनबारे एमाले र जसपाबीचको छलफल ‘सकारात्मक’
Breaking News

सरकार गठनबारे एमाले र जसपाबीचको छलफल ‘सकारात्मक’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी थिए।

विज्ञापन

थापाका अनुसार भोलि पनि दुई दलबीच कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ। आजको छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीका साथै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेता सहभागी थिए।

जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी भएका थिए। जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने छलफलमा सहभागी भएनन्।

जसपाले पहिला आफूहरुका माग पूरा भए मात्र सरकारमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउँदै आएको छ।

जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानविन आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायतका माग उठाउँदै आएको छ।

आजको बैठकमा पनि जसपाले आफ्ना मागबारे कुरा उठाएको छ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ सरकार गठन हुने कि ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने भन्ने अन्योलता कायम रहेकै बेला संसदमा निर्णायक बनेको जसपाले सबैसँग छलफल गरेर आफ्ना माग सम्बोधन गर्ने पक्षसँग मिलेर सरकार बनाउने निर्णय मंगलबारको संसदीय दलको बैठकले गरेको थियो।

ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि कांग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपाभित्र मतान्तर छ। पूर्व राजपा पक्ष ओली नेतृत्वकै सरकारमा जानु पर्ने बताइरहेको छ भने अर्को पक्ष ओलीलाई कुनै हालतमा सहयोग गर्न नहुने अडानमा छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook