• होमपेज
  • कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?
Breaking News

कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो।

एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र बैठकको कार्यसूची तयार गर्ने व्यवस्था छ।

विज्ञापन

सर्वोच्च अदालतको फैसलाअनुसार ब्युँतिएपछिको एमालेमा अध्यक्ष र महासचिव एकै समूहका छन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन् भने उनकै समूहमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल महासचिव। तर, एमालेको बैठक बोलाइने छेकछन्द देखिएको छैन।

बुधबार साँझ ‍माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलामा पनि कमिटी बैठकको कुरा उठेको थियो। नयाँ बानेश्वरको अर्याल होटलमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुले बैठकप्रति अपेक्षा व्यक्त गरेका थिए।

‘अब पार्टीलाई कसरी बलियो र संगठित बनाएर लैजान सकिन्छ। त्यो विषयलाई ध्यानमा राखेर छलफल भएको छ,’ भेलापछि नेपाल समूहमा रहेका एमाले नेता रघुजी पन्तले उपस्थित पत्रकारहरुलाई भनेका थिए, ‘यो विषयमा मुख्य रुपमा पार्टीको अध्यक्षको रुपमा केपी कमरेडले छिट्टै विभिन्न कमिटीको बैठक बोलाउनुहोला भन्ने हामीले अपेक्षा गरेका छौं।’

नेपाल पक्षका नेता विष्णु रिजालले केन्द्रीय कमिटीको बैठक बोलाउँदा राम्रो हुने बताए। ‘बस्न त जुन कमिटीको बैठक बस्दा पनि हुन्छ। तर, लामो समय भएकाले केन्द्रीय कमिटीको बैठक बस्दा नै राम्रो हुन्छ’, उनी भन्छन्।

तर, अध्यक्ष ओली पक्षका नेताहरुका भनाइ सुन्दा तत्काल बैठक बोलाउने सम्भावना देखिँदैन। प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भने केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने बताउँछन्।

नेकपा एमालेको रुपमा बैठक नबसेको झन्डै ३४ महिना भइसकेको छ। त्यसो त, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्रियाशील रहँदा पनि केन्द्रीय कमिटीको बैठक खासै बसेन। त्यसैले लामो समयपछि बस्ने बैठकले गर्ने निर्णयप्रति आमरुपमा पनि चासो छ। बैठकले कस्तो निर्णय गर्नुपर्ला? रिजाल भन्छन्, ‘अहिलेसम्मको परिस्थितिको एउटा समीक्षा गरेर जानुपर्छ होला।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै