• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ
Breaking News

पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ

पर्वत/आगामी चैत ७ गते तय भएको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढिरहेको बेला व्यावसायिहरु समेत पार्टीगत रुपमा विभक्त बनेका छन् ।

संघको आगामी कार्यकालका लागि वामपन्थी निकट व्यावसायिहरु र काँग्रेस निकट व्यावसायिहरुका बीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनमा वामपन्थीहरुले साझा, समावेशी उम्मेदवारी दिने गरि प्यानल बनाएका छन् भने नेपाली काँग्रेसले एकल लोकतान्त्रिक प्यानल बनाएर जाने गरि तयारी गरेको बताईएको छ ।

विज्ञापन

२०३२ सालमा स्थापना भएको तत्कालिन व्यापार संघ हालको पर्वत उद्योग बाणिज्य संघमा लामो समयसम्म नेपाली काँग्रेस निकट व्यावसायिहरुले नेतृत्व गरेका थिए । काँग्रेस निकट व्यावसायिहरुको एकछत्र आधिपत्य रहेको संघमा पछिल्लो ४ कार्यकाल भने वामपन्थी निकट व्यावसायिहरुले नेतृत्व गर्दै आएका छन् ।

काँग्रेस फुटाएर वाम प्रवेश

स्थापना कालदेखि एकल नेतृत्व गर्दै आएको काँग्रेसलाई फुटाएर वामपन्थीहरु प्रवेश गरेसँगै सदस्यता बृद्धीलाई पहिलो प्राथमिकता दिएका थिए । कम सदस्यता रहेको संघमा सदस्यता बढाउनु चुनौतिपूर्ण भएपनि वामपन्थीहरुको एकता र सक्रियताले अहिलेको अवस्थामा एकल जित्न सकिने भएको पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए ।

‘हामीले व्यावसायिको हक, हित र एकतामा जोड दिएकै कारण संघलाई व्यावसायि मैत्री र समावेशी बनाएर अगाडी बढाउन सफल भयौं’ उनले भने । यस अघिका निर्वाचनमा नेपाली काँग्रेस निकट केही व्यावसायिहरुलाई विभाजन गराएर निर्वाचनमा होमिएको वाम गठबन्धनले गत निर्वाचनमा केदारनाथ शर्मा र यो निर्वाचनमा गोपी अधिकारीको नेतृत्वमा एकल रुपमा जाँदैछन् ।

वाम गठबन्धनले गत आईतबार अध्यक्ष पदका लागि गोपी अधिकारीको उम्मेदवारी घोषणा गरेसँगै उम्मेदवारहरु चुनाव प्रचारका लागि व्यावसायिका घर दैलोमा पुगेकाछन् । कुल २२ सय ९३ सय मतदाता रहेको संघमा वाम गठबन्धनले फराकिलो मतान्तरमा निर्वाचन जितिने दाबी गरे ।

यस्तै काँग्रेस निकट व्यावसायिले भने शिब शर्मा पौडेलको अध्यक्षतामा लोकतान्त्रिक प्यानल बनाएर चुनावी प्रचार थालेको छ । ‘हामी व्यावसायिका हक हितमा तल्लिन भएर लाग्ने प्रतिवद्धताका साथ व्यावासायिको बीचमा प्रचार गरिरहेका छौं’ अध्यक्ष पदका उम्मेदवार शिब शर्मा पौडेलले भने ।

वाम दल फुटाएर चुनाव जित्ने काँग्रेसको दाउ

लामो समयदेखि काँग्रेस निकट व्यावसायिहरुको नेतृत्वमा रहेको संघलाई आफ्नो पक्षमा पार्न वामपन्थीहरुलाई निकै चुनौती बनेको पूर्व महासचिब मनोहर बि.पौडेलको अनुभव छ । वामपन्थीहरुलाई उवासंघमा प्रवेश नै गाह्रो भएको बेलामा सदस्य मात्रै लिएर भएपनि चित्त बुझाउनुपर्ने अवस्थाबाट अहिलेको अवस्थामा ल्याउनु निकै चुनौति मोल्नुपरेको उनको भनाई छ । कैयौं पटक सदस्य मात्रै लिएर संघमा प्रवेश गर्नुपर्ने अवस्था भयो उनले भने कैयौं पटक अपमानित ढंगले भएपनि संघको हितमा भन्दै निरन्तर काम गरिरह्यौं ।

वाम दलबाट सदस्य बनेका कोही पनि सदस्यलाई माथिल्लो पदमा पुग्नै नदिने गरि काँग्रेस निकटले पेलेर लगेकै कारण एकलौटी रुपमा रहेको संघमा वाम नेतृत्व लिन सहज थिएन । वामपन्थीको उम्मेदवारको रुपमा भोलानाथ शर्माले पराजय नै व्योहोर्नुप¥यो भने मिन प्रसाद श्रेष्ठ काँग्रेस निकटकै सहयोगमा अध्यक्ष हुन सफल भए ।

डोको, बाकस र उवासंघ 

जिल्ला सदरमुकाम कुस्मामा काँग्रेसको वर्चस्व रहेका कारण सबै संघ संस्थामा एकलौटी रहेको थियो । तत्कालिन शिवालय गाविसमा काँग्रेसले ४ नम्बर वडा बाहेकका सबैमा एकलौटी हुँदै आएको थियो । २०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेस भित्र रहेको एकलौटीपनाको बिरुद्धमा रहेको चरम असंतुष्टिलाई तत्कालिन एमाले लगायतका साना दलहरु र प्रगतिशिल समुदायले प्रयोग गर्दै स्थानीय चुनावमा होमिए ।

शिवालय गाविसको अध्यक्षमा काँग्रेसका राम प्रसाद आचार्य र उपाध्यक्षमा एमालेका तोयनाथ चालिसेले निर्वाचन जिते । त्यो निर्वाचनको जितसँगै सदरमुकामका सबै संघ संस्थामा त्यहि गठबन्धनले लामो समयसम्म भित्रि/बाहिरी रुपमा कार्यगत एकता ग¥यो । जसको झल्को उद्योग बाणिज्य संघका अधिकांस चुनावमा डोको, बाकस समूहको नाउँमा चर्चामा रहन्छ ।

संघमा काँग्रेस निकटलाई फुटाएर रामकृष्ण कर्माचार्यको नेतृत्वमा हरिओम शर्मा लामिछाने र गोपी अधिकारी उपाध्यक्ष, केदारनाथ शर्मा महासचिब र ठाकुर बि.पौडेल लगायत बहुमत सदस्य भएसँगै सदस्यता बृद्धीले गति लिएको हो । यसले वामपन्थीहरुको संघमा प्रवेश फराकिलो बनायो । त्यसको परिणामस्वरुप हरिओम शर्मा, केदारनाथ शर्मा फराकिलो मतान्तरका साथ अध्यक्ष बनिसकेका छन् ।

लामो समय सहकार्य र एकता गर्दै आएको वाम समूह २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि व्यावसायिहरुमा समेत उत्साह छाएको र एकल रुपमा जित्ने गरि सदस्यता बृद्धीलाई प्राथमिकता दिएको थियो । जसका कारण फराकिलो मतान्तरमा चुनाव जित्ने दावी गरेको छ ।

आईतवार मात्रै नेकपामा आएको फूटसँगै विभाजन हुने आशंकाका साथ काँग्रेसले फुटमा खेल्ने रणनीति बनाएको छ तर त्यो सम्भव नभएको साझा वाम समावेशी टिमका ठाकुर बि.पौडेलले बताए । गठबन्धनले यो निर्वाचनमा प्यानलका सबै सदस्यले जित्ने दाबी गरेका छन् ।

पार्टी एकता पहिलेदेखि नै ४ कार्यकाल वाम गठबन्धन बनाएर चुनाव लडेका व्यावसायिहरुलाई अहिलेको फुटले कुनै असर नगर्ने उनले बताए । ‘हामी व्यावसायिहरुको एकता कुनै पनि हालतमा टुट्दैन र टुट्न दिँदैनौं’ उनले भने ‘हामी समावेशी बनाएर जाने गरि अन्य व्यावसायिसँग समेत एकता गरेर अगाडी बढ्छौं ।’

उवासंघमा वाम गठबन्धनको प्रवेशसँगै यान्त्रिक पुलको निर्माण, २१ लाखको व्यावसायि कल्याण कोषको स्थापना गरिएको थियो । सो कोषमा हाल ६० लाख थप गरिएको सदस्यहरु बताउँछन् । यस्तै बडागाउँ चौरको खेल मैदानको स्तरोन्नती गरि मेला लागउन सकिने बनाईएको छ । यसले गर्दा व्यावसायिक रुपमा मात्र होईन विकास निर्माणमा समेत उवासंघको नेतृत्वले काम गर्न सक्छ भन्ने उदाहरण देखाएको पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए ।

यस्तो छ निर्वाचनको मत आँकडा

संघको आगामी निर्वाचनका लागि २२ सय ९३ मतदाताले मतदान गर्ने सूची प्रकाशन भएको छ । जसमा वाम गठबन्धन निकटका करिब १२ सय बढि र काँग्रेस निकटका करिब ७ सय ५० रहेकाछन् भने करिब ३ सय अन्य स्वतन्त्र रहेको बुझिएको छ ।

स्वतन्त्र रहेकाहरु पनि अधिकांस गोपी अधिकारी, केदारनाथ शर्मा, ठाकुर वि. पौडेल, हरिओम शर्मा निकट रहेर सदस्य बनेकाहरु छन् । यसरी आँकडा हेर्दा ठूलो मतान्तर हुने गठबन्धनको दाबी छ ।

कस्ता छन् उम्मेदवार

पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि साझा समावेशी वामपन्थी समूह र लोकातान्त्रिक समूह चुनाबी मैदानमा होमिएका छन् । जसको अध्यक्षका लागि समावेशी वामपन्थी पक्षबाट गोपी अधिकारी र लोकतान्त्रिक पक्षबाट शिब शर्मा पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उम्मेदवार गोपी अधिकारी लामो समयदेखि कुस्मामा फर्निचर व्यावसाय गर्दै आईरहेकाछन् । सानो व्यावसायबाट हात हालेका अधिकारीले अहिले कुस्मामा अधिकारी फर्निचर उद्योग संचालन गरिरहेका छन् । उनले ४ कार्यकालदेखि पर्वत उद्योग बाणिज्य संघमा नेतृत्व गरेका छन् भने विभिन्न सामाजिक संघ संस्थामा समेत प्रभावकारी कार्य सम्पादन गर्दै आएका छन् ।

यस्तै लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार शिब शर्मा पौडेल कुस्मामा सानो व्यावसायबाट व्यावसायिक क्षेत्रमा हात हालेका हुन् । उनले अहिले शितल डेरी उद्योग संचालन गर्दै आएकाछन् । विगतका २ कार्यकालमा वामपन्थी सहितको साझा समावेशी प्यानलबाट पर्वत उद्योग बाणिज्य संघको विभिन्न पदमा नेतृत्व सम्हालेका उनी गत निर्वाचन र यस निर्वाचनमा लोकतान्त्रिक समूहबाट उम्मेदवार बन्ने भएका हुन् । पौडेल नेपाली काँग्रेस निकट भएर पनि ३ कार्यकालसम्म वाम गठबन्धनसँग रहेर निर्वाचन लडेका कारण पनि काँग्रेस भित्र पराजित भएकाहरुले मन नपराउने मध्ये पर्छन् । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा समेत उनको सक्रियता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook