• होमपेज
  • जनता आधारभूत विद्यालयको ३२औं वार्षिक उत्सव सम्पन्न
गण्डकी प्रदेश

जनता आधारभूत विद्यालयको ३२औं वार्षिक उत्सव सम्पन्न

फलेवास नगरपालिका ५ खानीगाउँ अर्मानामा रहेको जनता आधारभूत विद्यालयको आफ्नो ३२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्वस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले सबै क्षेत्रसँग समन्वयात्मक ढंगले अगाडी बढाएको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा सुधारका लागि चालेको अभियान देशभर प्रशंसायोग्य भएको बताउँदै गुणस्तर बढाउनका लागि अझै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका उप प्रमुख मन्जु अधिकारीले शिक्षाको गुणस्तरका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा पर्वतका संस्थापक तथा विद्यालयका अक्षयकोष दाता तोयनाथ चालिसेले शिक्षामा गरेको लगानी कहिल्यै खेर नजाने बताउँदै सबैको पहुँच स्थापना हुने खालको शिक्षामा राज्य र स्थानीय तहले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्य, फलेवास नगरपालिका ५ खानीगाउँका वडा अध्यक्ष दिपक प्रसाद पौडेल, विद्यालयका प्रअ बैकुण्ठ श्रेष्ठ, विद्यार्थी सरस्वती पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण, अक्षय कोषबाट प्राप्त भएको रकमबाट छात्रवृत्ती वितरण साथै विद्यार्थीहरुले अतिरिक्त कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालयका अध्यक्ष बिनोद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक मोती प्रसाद शर्मा र संचालन ईन्दिरा तिवारीले गर्नुभएको थियो ।

यसैबीच कुस्मा नगरपालिका ५ निवासी नेकपा पर्वतका संस्थापक तथा शिक्षासेबी तोयनाथ चालिसेले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको छ ।

चालिसेले ५१ हजार ५१ रुपीयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । कोषबाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती वितरण गरिने बताईएको छ ।

कोषको संरक्षकमा भिम कुमारी चालिसे र ईन्दु शर्मा रहने गरि स्थापना भएको विद्यालयका शिक्षक देबकी सापकोटाले जानकारी दिनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook