• होमपेज
  • पर्वतको कुश्मा नगरपालिका भित्रका विद्यालयहरु आइतवारदेखि संचालनमा आउने
कुश्मा नगरपालिका

पर्वतको कुश्मा नगरपालिका भित्रका विद्यालयहरु आइतवारदेखि संचालनमा आउने

पर्वत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)को कारण मुलुकभर लकडाउन घोषणा भएपछि बन्द भएका पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु खुल्ने भएका छन् ।
आगामी आईतवारदेखि नगरपालिकाका सवै सामुदायिक तथा निजि विद्यालयहरु संचालन हुने भएका हुन् । कुश्मा नगरपालिकामा बिहीवार बसेको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निणर्य गरेको हो ।
झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेका कारण आईतवारदेखि नियमित रुपमा विद्यालय संचालन गर्न नगरप्रमुख रामचन्द्र जोशीले निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो- ‘आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सुचारु गर्न निर्देशन दिएका हौँ ।’ विद्यालयले आफ्नो अवस्था हेरेर पठनपाठनलाई कसरी व्यवस्थित गर्न सक्छ सोहि अनुसार व्यवस्थापन गर्नेगरी खोल्ने निणर्य गरिएको नगरप्रमुख जोशीले बताउनुभयो ।
लामो समय विद्यालय बन्द भएकाले पठन पाठन प्रभावित भएको र जिल्लामा जोखिमको अवस्था पनि न्यून हुँदै गएकाले विद्यालय संचालन गर्ने निणर्य गरिएको कुश्मा नगरपनलिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर विद्यालय खोल्न भनिएको हो । विद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सवै कक्षा संचालन गर्ने वा विहान, दिउँसो र साँझ गरेर भौतिक दुरी कामय हुनेगरी संचालन गर्ने भन्ने विषयमा के सम्भव हुन्छ सोहि पद्धति अपनाएर विद्यालय खोल्ने निणर्य गरिएको उहाँले बताउनुभयो ।
लक लडान भएपछि गएको जेठदेखि निजि विद्यालयहरुले अनलाईन कक्षा संचालन गर्दै आएका थिए भने केहि सामुदायिक विद्यालयले अनलाईन र केहि विद्यालयहरुले टोल शिक्षा संचालन गरेर पढाउँदै आएपनि प्रभावकारी नदेखिएपछि नगरपालिकाले विद्यालयनै खोलेर पठनपाठन सुचारु गर्न आग्रह गरेको हो ।
त्यस्तै कुनै विद्यार्थी वा शिक्षकलाई कुनै स्वास्थ्य समस्या आइपरेमा पनि विद्यालयले तत्काल आवश्यक निणर्य गरी पठनपाठनलाई रोक्ने र सुचारु गर्ने बारे निणर्य गर्न सक्ने पनि नगरपालिकाले जनाएको छ ।
बैठकमा सहभागि सामुदायिक तथा निजि विद्यायका व्यवस्थापन समितिका पदाधिकारी तथा संचालकहरुले भौतिक दुरी कायम गरेर विद्यालय संचालन गर्न तयार रहेको बताएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook