• होमपेज
  • बालुवाटारमा नेकपा नेताबीच चर्काचर्की, २ घण्टा आरोप–प्रत्यारोप
Breaking News

बालुवाटारमा नेकपा नेताबीच चर्काचर्की, २ घण्टा आरोप–प्रत्यारोप

नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन गर्दै आएको आलटालविरुद्ध शुक्रबार नेकपाका ५ सचिवालय सदस्यको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्यो । यो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए ।

सो बैठकले कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडि बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गर्यो ।
पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाइनुपर्ने ५ नेताको जोड छ । सोही अनुसार ५ नेताले ओलीलाई बुझाउन लिखित पत्र नै तयार पारे ।

विज्ञापन

प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर सामूहिक अनुरोध गर्ने निर्णयसँगै शनिबार धुम्बाराहीमै भेला भएर नेताहरु बालुवाटारका लागि हिँडे । लिखित पत्र बोकेर नेताहरु बालुवाटार पुगेपनि भेट भने सुखद हुन सकेन  ।
सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।

‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल  पार्न खोज्ने ?’ ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।

ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।

बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टीको सचिवालय बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर लिखित पत्र बुझाएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

तर बैठकमा प्रधानमन्त्रीले बैठक बोलाउन राजी नभएका हुन् ।  प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबताएको जानकारी दिए । ५ नेता भने एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook