• होमपेज
  • बालुवाटार-खुमलटार विवादमा खनाल, नेपाल र गौतमको मौनता अर्थपूर्ण
Breaking News

बालुवाटार-खुमलटार विवादमा खनाल, नेपाल र गौतमको मौनता अर्थपूर्ण

नेकपा विवादमा तीन नेताको मौनता, यस्तो छ यथार्थता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उत्कर्षमा पुग्दा सचिवालयका तीन नेताको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

‘पार्टी विभाजन’सम्मको बहस हुदाँ खुमलटार गुटमा सामेल भएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित उपाध्यक्ष बामदेव गौतमले साँधेको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको हो।

विज्ञापन

गत आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अलग हुन प्रस्ताव गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बिफ्रिङ गरेको अवस्थामा पनि नेतात्रय खनाल, नेपाल र गौतमले कुनै प्रतिक्रिया दिएका छैनन्, जबकि पार्टीभित्र विवाद हुँदा यसअघि सबै नेताले ‘चर्को प्रतिक्रिया’ दिँदै आएका थिए।

तर यसपालि प्रचण्डको सो ‘बिफ्रिङ’ले तरंग ल्याएपछि भोलिपल्ट जहरसिंह पौवा पुगेका वरिष्ठ नेता नेपाललाई पार्टी विवादबारे बोल्न सञ्चारकर्मीले आग्रह गर्दा पनि उनी मौन रहे।

“हामी जे कामका लागि आएका हौँ, त्यो कामको कुरा गरौँ। अरू कुरा यहाँ गर्न जरुरी छैन,” पत्रकारहरूलाई नेता नेपालको जवाफ थियो।

काठमाडौं, शंखरापुरमा विशिष्ट व्यक्तिहरूको सामूहिक शालिक बनाउने विषयमा छलफल गर्न पुगेका वरिष्ठ नेता नेपाल सोही विषयमा मात्रै केन्द्रित छलफल गरेर फर्केका थिए।

खनाल र गौतम सो घटनापछि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् भने सञ्चारकर्मीले प्रश्न गर्दा पनि उनीहरूले प्रतिक्रिया दिन मानिरहेका छैनन्।

खुमलटारमा प्रचण्डले ‘ओलीजीले अलग हुने प्रस्ताव गरेको’ भन्दै ‘बिफ्रिङ’ गर्ने बेला बोलाइएका गृहमन्त्री रामबहादुर थापा बादलसँगको संवादको क्रममा पनि नेतात्रयले कुनै प्रतिक्रिया दिएनन्।

“खुमलटारमा बादलजीसँग राय लिने काम प्रचण्डले गर्नुभयो। बादलजीले ओलीलाई हटाउने र पार्टी विभाजन गर्ने सवषयमा आफ्नो सहमति हुन्न भन्नुभयो। त्यसपछि नारायणकाजीजीले बोल्नुभयो,” बादल निकट स्रोतले भनेका छन्, “तर, त्यहाँ न झलनाथजी बोल्नु भयो, न माधव, न बामदेवजी नै बोल्नुभयो। उहाँहरू त्यहाँ साक्षी किनारा मात्रै बस्नुभयो।”

कार्यकारी अध्यक्ष प्रचण्ड, थापा र श्रेष्ठबीचमा मात्रै संवाद भएको त्यो दिनपछि थापाले पनि कुनै प्रतिक्रिया दिएका छैनन्। बरु उनले कतै पनि नढल्किन भन्दै आफूनिकट नेताहरूलाई निर्देशन चाहिँ दिएका छन्।

किन बोलिरहेका छैनन्?

कार्यकारी अध्यक्ष प्रचण्डसँग निरन्तर विवाद भएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग औपचारिक रूपमा नै सहकार्यको प्रस्ताव गरिसकेका छन्।

गत कात्तिक ४ र कात्तिक ११ गते दुईपटकका भेटमा ‘प्रचण्डसँग सकिँदैन, तपाईं र म मिलेर पार्टी चलाऊँ’ भन्दै प्रधानमन्त्रीबाट आएको सहकार्यको प्रस्तावमाथि नेपाल बढी गम्भीर भएको बताइन्छ।

कोटेश्वरनिकट एक नेताका अनुसार खुमलटार गुटमा रहेका नेता नेपालले ओलीबाट आएको सहकार्यको प्रस्तावमाथि पूरा विश्वास गर्न सकिरहेका छैनन्। तर प्रस्तावले नेता नेपाललाई गम्भीर भएर सोच्न भने बाध्य बनाएको छ।

“ओलीजीले महाधिवेशनपछि नेतृत्व गर्नसम्म तयार हुनुस्। त्यसमा पूरा साथ रहने भनेर सन्देश दिइसक्नुभएको रहेछ,” नेपाल निकट ती नेताले भने, “माधव कमरेड ओलीजीको प्रस्तावमा विश्वस्त भइसक्नुभएको छैन। तर यसपटक उहाँलाई ओलीजीको प्रस्तावले गम्भीर भने बनाएको छ।”

प्रधानमन्त्रीनिकट नेताहरू लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालगायतले प्रदीप नेपालसँग गरको भेटले पनि सहकार्यका लागि नेपालमाथि दबाब बढेको जानकारहरूको बुझाइ छ।

प्रदीप नेपालले प्रधानमन्त्रीको ‘कोर टिम’ ओली–नेपालबीच सहकार्यका लागि वातावरण बनाइदिने आग्रह गर्न आएको बताइसकेका छन् भने उपप्रधानमन्त्री पोखरेलले पनि आफूनिकटलाई प्रचण्डसँग मिल्नुभन्दा नेपालसँग सहकार्य गरेर जानुपर्ने भन्दै छलफल सुरु गरेका छन्। त्यसमा आज मात्र महासचिव विष्णु पौडेल र नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावलबीचको भेटले ओली-नेपाल सहकार्यको सम्भावनालाई बलियो रूपमा सङ्केत गरेको छ।

“यी सबै घटनाक्रमले आगामी दिनमा ओली-नेपालबीच सहकार्य हुने सम्भावना बलियो बन्दै गएको छ,” नेपालनिकट ती नेताले भने। उनका अनुसार सहकार्यका लागि ओली-नेपाल पक्षधर नेताहरूले तीव्र गृहकार्य गरिरहेकाले पनि नेपाल मौन बसेका हुन्।

यसअघि चर्को प्रतिक्रिया दिने वरिष्ठ नेता खनाल पनि ओली-नेपालबीच हुनसक्ने सम्भावित सहकार्यको सङ्केत पाएकाले हतारमा बोलेर फुर्सदमा पछुताउने पक्षमा नरहेको बताइन्छ।

खनाल यतिखेर ‘वेट एन्ड सि’ को पक्षमा रहँदा गौतमले भने स्थायी कमिटी बैठक चलिरहँदा नै ६-बुँदे प्रस्ताव राखेर ओलीसँग सहकार्य गर्ने प्रस्ताव गरेका थिए। गौतमले पेश गरेको ६-बुँदे प्रस्ताव र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण पनि उनी ‘डिफेन्सिङ’ अवस्थामा छन्।

को बोलिरहेका छन् त?

नेकपा ‘विभाजनको प्रसङ्ग’पछि बालुवाटार-खुमलटार विवादमा सचिवालयका सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रैले प्रतिक्रिया दिइरहेका छन्।

पार्टी प्रवक्ता श्रेष्ठ अध्यक्ष ओलीले पार्टी विभाजनको प्रस्ताव ल्याएको र बैठक बोलाउन आनाकानी गरिरहेको बताइरहेका छन् भने पोखरेलले प्रचण्डका कारण समस्या भएको आरोप लगाएका छन्। नेकपाभित्रको समस्याको जड कार्यकारी अध्यक्ष प्रचण्ड भएको आरोप लगाए पनि पोखरेलले खनाल, नेपाल र गौतमका बारेमा कुनै चर्को टिप्पणी गरेका छैनन्, बरु उनले पनि यसमा मौनता साँधिरहेका छन्।

पार्टी ‘विभाजनको प्रसङ्ग’ चल्दा पनि नेकपाभित्रको यो मौनता र सन्नाटाले भित्र-भित्रै केही भइरहेको निक्र्योल गर्न सकिने विश्लेषकहरू बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook