• होमपेज
  • पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा
पर्वत बिशेष

पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा

पर्वत। नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै पर्वतका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले मानिसको बढी भीडभाड हुने क्षेत्र कुश्माको शिवालय चोक, डिमुवा, वारीबेनी, हुवासमा यात्रु सहायताकक्ष स्थापना गरेको हो ।

चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दशैँ तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौँ, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौँ”, उहाँले जिल्ला प्रहरी कार्यालय पर्वतको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताउनुभयो ।

विज्ञापन

सहायता कक्षको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले औनपचारिकरूपमा उद्घाटन गर्नुभयो । उहाँले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने बताउनुभयो ।

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्नेजस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने उहाँले बताउनुभयो । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् ।

सदरमुकाम कुस्मा बजारमा सञ्चालनमा ल्याइएको सहायता कक्ष शुभारम्भ कार्यक्रममा डिएसपी विश्वराज अधिकारी, कुस्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष रुद्र गिरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिव सुवेदी, ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर भट्टराई, यातायात व्यवसायी सुवर्ण अर्याल, प्रहरी नायव निरीक्षक पूर्णिमा थापा, गण्डकी धौलागिरी यातायात प्रा.लि. का अध्यक्ष बाबुराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यात्रु सहायता कक्षबाट यातायात व्यवसायीले असुल गर्ने भाडाको निगरानी तथा उजुरीको सुनुवाइ, सवारी सञ्चालकहरूबाट यात्रुसँग गरिने व्यवहार, हराएका वा छुटेका सामानको खोजी, क्षमताभन्दा बढी यात्रु राखिएको अवस्थामा आवश्यक कारबाही सहित यात्राको क्रममा सवारी छनोटमा अलमलमा परेकाहरूलाई सघाउने काम पनि सहायता कक्षबाट गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook