• होमपेज
  • पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह
कुश्मा नगरपालिका

पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह

भदौ ३० गते । कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय तहले पर्यटन पूर्वाधारका कामलाई अगाडि बढाउन थालेका हुन् ।
इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परियोजना प्रस्ताव पठाउन लागेको छ । सात करोड रुपियाँको परियोजना प्रस्ताव तयार गरिएको इलाम नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अरनिको सांस्कृतिक सङ्ग्रहालय, पाटेनागी पर्यटकीय क्षेत्रमा पनि विभिन्न काम गरिरहेको नगरपालिकाका सूचना अधिकारी रामकुमार साहले जानकारी दिनुभयो । सङ्ग्रहालयमा पुर्खाले प्रयोग गरेका विभिन्न सामग्री राखिएको छ । पाटेनागीमा भने जैविक विविधता संरक्षण, हाब्रे (रेड पान्डा) संरक्षण, पद मार्ग निर्माणका काम हुने साहले जानकारी दिनुभयो ।
साहका अनुसार सदरमुकाम रहेको इलाम नगरपालिकाले इलाम चिया बगान, भालुढुङ्गा र माईपोखरीमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
इलाम बजार नजिक रहेको भालुढुङ्गा सामुदायिक वन क्षेत्रमा सदरमुकाम आइपुगेका पर्यटकलाई घुमाउने गरी विभिन्न काम गरिएको भालुढुङ्गा पर्यटन प्रर्वद्धन समितिले जनाएको छ ।
यस क्षेत्रका लागि प्रदेश सरकारले १५ लाख रुपियाँ, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत १५ लाख रुपियाँ र भालुढुङ्गासम्म जाने कालेपत्रे सडक र लिम्बू जातिको सांस्कृतिक मूर्तिका लागि इलाम नगरपालिकाले ३० लाख रुपियाँ खर्च गरेको छ । भालुढुङ्गामा पद मार्ग, भगवान गौतम बुद्ध र शिवको मूर्ति स्थापना लगायतका काम गरिएको समितिका प्रवक्ता हेमराज ढकालले बताउनुभयो ।
यता सन्दकपुर गाउँपालिकामा रहेको रामसार सूचीमा सूचीकृत माईपोखरीको संरक्षण र पर्यटकीय विकासका लागि पनि गुरुयोजना निर्माणसँगै सौन्दर्यीकरणका काम सुरु भएका छन् । गाउँपालिकाले पनि पर्यटन मन्त्रालयमा नौ करोड ३२ लाख पाँच हजार रुपियाँको विस्तृत परियोजना प्रस्ताव पठाउन लागेको जनाइएको छ ।
उक्त माईपोखरी÷जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापन परियोजनाअन्तर्गत माईपोखरी नजिक दुईवटा पोखरी निर्माण, आकाशे पुल, सेल्फी जोन, शिव मन्दिर निर्माण, रेडपान्डा मिनी जु, साइक्लिङ वे, पिकनिक स्पटलगायतका काम हुने छन् । माईपोखरी नजिकका पोखरीमा बोटिङ र माईपोखरीमा पानी संरक्षणको काम भइरहेको उपभोक्ता समिति सचिव दिनेश ढकालले जानकारी दिनुभयो ।
प्रदेश १ सरकारले पर्यटकीय नगर घोषण गरेको सूर्योदय नगरपालिकामा भने कन्याम–फिक्कल–अन्तु सर्किटको गुरुयोजनाको काम सुरु भएको छ । गत वर्ष नेपाल सरकारले देशका विकास गर्नुपर्ने सय गन्तव्यको सूचीमा राखेको कन्याम–फिक्कल–अन्तु सर्किटको गुरुयोजना बनाउने काम सुरु भए पनि यहाँ पर्यटनसम्बन्धी अन्य काम पनि भइरहेको नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले बताउनुभयो ।
उहाँका अनुसार अन्तुमा निर्माणाधीन भ्युटावर र त्यस आसपासको ब्युटिफिकेसनको काम सकिएको र अहिले कन्याम चिया बगान बीचको हाइवे विस्तारपछिको व्यवस्थापन, सरसफाइ, पशुपतिनगर, करफोकमा पर्यटकीय पार्क निर्माणका काम हुँदै छन् । कोरोनाका कारण पर्यटक आउन बन्द भए पनि अवस्था सामान्य भएपछिलाई हेरेर पूर्वाधार निर्माणमा जोड दिइएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई बताउनुहुन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook